उस्मान फाउण्डेशन नेपाल स्थापना, विपन्नको उपचारमा सहयोग गरिने
भञ्ज्याङ न्यूज

विश्वकै दुर्लभ रोग स्पाइनल मस्कुलर एट्रोफि (एसएमए) नामक रोगबाट ज्यान गुमाएका शुक्लागण्डकी-५ गल्छिनाका नौ महिने बालक स्व. उस्मान अलीको स्मृतिमा उस्मान बफाउण्डेशन नेपाल स्थापना गरिएको छ। आर्थिक अभावमा उपचार गर्न नसकेका विपन्न परिवारलाई सहयोग गर्ने उद्देश्यका साथ उनका परिवारले फाउण्डेशनको स्थापना गरेका हुन् ।
उस्मानको जन्मजयन्तीको अवसर पारी सोमबार दुलेगौंडामा फाउण्डेशनको उद्घाटन गरिएको छ । उस्मानको उपचारका लागि २६ करोड लाग्ने भएपछि उस्मान बचाऔ अभियान संचालन गरी रकम संकलन हुँदैगर्दा उस्मानको भाद्र २६ गते मृत्यु भएको थियो । उस्मानको उपचारका लागि देश तथा विदेशबाट ७३ लाख ५३ हजार ७६४ रुपैयाँ संकलन भएको पारिवारिक श्रोतले जनाएको छ ।
फाउण्डेशन कार्यालयको शुक्लागण्डकी नगरपालिकाका नगरप्रमुख किसान गुरुङले उद्घाटन गर्दै आर्थिक अभावमा ज्यान गुमाउनु पर्ने अवस्था आउन दिन नहुने बताए । नगरप्रमुख गुरुङले आर्थिक अभावका कारण देशमा अहिले पनि नागरिकहरुले ज्यान गुमाउनु परेको बताउँदै भने, ‘उपचार खर्च निकै महंगो हुँदै गएकाले सर्वसाधारण जनताले उपचार खर्च जुटाउन नसकेर मत्युवरण गर्नुपर्ने अवस्था रहेको हुँदा सरकारले निल्शुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्नुपर्दछ ।’
स्थानीय सरकारको तर्फाट गर्न सक्ने सबै प्रयास गर्ने बताउँदै उनले प्रदेश र केन्द्र सरकारले पनि शिक्षा र स्वास्थ्यलाई निःशुल्क गराउनतर्फकेन्द्रित हुनुपर्नेमा जोड दिए । उनले भने ‘क्यासर लागे मात्रै पनि उपचारमा लाखौ करोडौ खर्च गर्नुपर्ने अवस्था छ, गरिबलाई रोग लाग्यो भने उपचार गर्न नसकेर अकालमै मृत्युवरण गर्नुपर्ने अवस्था छ, धनीलाई रोग लाग्यो भने पनि रोडमा पुग्ने परिस्थिति सिर्जना भएको छ । अब तीनै तहको सरकार मिलेर स्वास्थ्य सेवा निःशुल्क बनाउन तर्फलाग्नुपरेछ ।’
शिक्षा र स्वास्थ्य नागरिकको नैर्सर्गिक अधिकार भएकाले नागरिकको यो अधिकारलाई सरकारले सुनिश्चिता गर्नुपर्ने फाउण्डेशनका अध्यक्ष मुबारक अलीले बताए । फाउण्डेशनका अध्यक्ष अलीको अध्यक्षतामा आयोजित कार्यक्रममा शुक्लागण्डकी-५ का वडाध्यक्ष दीर्घबहादुर थापा, अनेरास्ववियुका केन्द्रीय सचिव खेम मरासिनी, शुक्लागण्डकी नागरिक समाजका अध्यक्ष खेमराज खनाल, मुस्लिम समाज गल्छिनाका अध्यक्ष जुम्मादिन मियाँ लगायतले आर्थिक अभावका कारण उपचार गर्नबाट बञ्चित भएकाहरुलाई फाउण्डेशनले सहयोग गर्ने वातावरण बनाउन सबैले सहयोग र साथ दिनुपर्ने बताए।
उस्मानका बुबा एवं फाउण्डेशनका अध्यक्ष मुबारक अलीले आर्थिक अभावमा उपचार नपाएर कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले फाउण्डेशन स्थापना गरिएको बताए। उनले बार्षिक १० जनालाई अधिकतम एक लाखको दरले आर्थिक सहयोग उपलब्ध गराउने बताउँदै आकस्मिक रुपमा सहयोग गर्नुपर्ने अवस्था आए थप सहयोग गर्ने नीति बनाएको जानकारी गराए ।
फाउण्डेशनले विपन्न परिवारलाई स्वास्थ्य उपचारका लागि नगद सहयोगसंगै गाउँगाउँमा पुगेर स्वास्थ्य सम्बन्धी जनचेतनामुलक कार्यक्रम गर्ने, पारिवारिक अवस्था हेरेर खाद्यान्न तथा लत्ताकपडा समेत सहयोग वितरण गर्ने योजना बनाएको बताइएको छ । फाउण्डेशनको खातामा ५३ लाख ४६ हजार ९०४ रुपैयाँ रहेको बताइएको छ । संकलित कुल रकमबाट उस्मान बचाऔ अभियानमा तीन लाख एक हजार तीन सय रुपैयाँ, उस्मानको उपचारमा आठ लाख सात हजार ५६० रुपैयाँ खर्च भएको बताइएको छ ।
त्यस्तै, फाउण्डेशन स्थापना हुनुअघि नै शुक्लागण्डकी नगरपालिका भित्रका ४ जना विपन्न परिवारका सदस्यको उपचारका लागि चार लाख ३३ हजार रुपैयाँ सहयोग र फाउण्डेशनको कार्यालय व्यवस्थापनमा ४ लाख ६५ हजार खर्च भएको छ । फाउण्डेशनको उद्घाटनकै दिन सोमबार मष्तिष्क पक्षघात भएका भरतपुर महानगरपालिका-२ नारायणगढ चितवनका असिफा करिम मियाँको उपचारका लागि ५० हजार ७२९ रुपैयाँको चेक हस्तान्तरण गरिएको थियो ।










