उठ्दै, जाग्दै र बढ्दै कविता गाउँ

बासुदेव पौडेल (गण्डकी)

नेपालकै सबैभन्दा बढी पानी पर्ने ठाउँका रूपमा कास्कीको अन्नपूर्ण गाउँपालिका-६ स्थित लुम्ले गाउँको चासो र चर्चा यत्रतत्र छ । नेपालको चेरापुञ्जी उपमा पाएको प्रकृतिको वरदान लुम्ले साहित्य सर्जकका लागि पनि उर्वर भूमि मानिन्छ । लोकप्रिय कवि एवं गीतकार स्व विनोद गौचनको परिकल्पनामा २०६५ साल चैत १५ गते कविता गाउँका रूपमा घोषित लुम्लेमा समय समयमा साहित्यिक सर्जक पुग्ने र घुम्ने गरेका छन् ।

चिटिक्क मिलेको झण्डै ४०० घरधुरीयुक्त यो गाउँ आफैँमा सुन्दर छ । मोटरबाटोको सुविधा नहुँदा यही गाउँको बाटो हुँदै तीर्थयात्री मुक्तिनाथ जाने भएकाले पनि यहाँको धार्मिक तथा सांस्कृतिक महत्व पनि उत्तिकै छ । सुन्दर रमणीय गाउँ भएर पनि कविता गाउँ घोषणापूर्व भने यसको खासै चर्चा थिएन । कविता गाउँ घोषणाले यहाँको महिमा र गरिमालाई देश विदेशमा पुर्याएको लुम्ले कविता गाउँका संस्थापक भक्तिराम देवकोटाले बताउनुभयो ।

“कविता गाउँ घोषणासँगै यहाँ देश विदेशका साहित्यानुरागी आउने र विभिन्न कार्यक्रम गर्ने गरेका छन्”, उहाँले भन्नुभयो, “कविता गाउँमा हुने गरेका विभिन्न कार्यक्रमले यहाँका सर्वसाधारणमा पनि केही न केही सचेतना र जागरण बढाएको छ ।”

‘जति माया लाए पनि, जति कसम खाए पनि’, ‘तगारोमा रूमाल राखी बाटो छेक्यौ तिम्ले’, ‘कस्तो ठाउँमा फूल्यौ तिमी टिप्नै गाह्रो भो’ जस्ता गीत तथा ‘ढुंगेसाँघुको मेलामा’ र ‘पोखरामा फूल फूल्दैन’ कविता कृतिका रचयिता स्व विनोद गौचनको परिकल्पनामा घोषित कविता गाउँ उठ्दै र जाग्दै अघि बढिरहेको देवकोटाले बताउनुभयो । आफ्ना साहित्य सिर्जनाका क्रममा लुम्लेसहित यो आसपासका घान्द्रुक, लान्द्रुक, तोल्का आदि स्थान डुल्ने गौचनले आफूलाई सहित्य तथा संगीत सिर्जनाको प्रेणा दिएको अनुभूतिका कारण यस ठाउँलाई कविता गाउँ घोषणा गर्नुपर्ने प्रस्ताव गर्नुभएको देवकोटाले अनुभव सुनाउनुभयो ।

पर्यटकीय रूपमा समेत यस ठाउँको महत्व रहेको उल्लेख गर्दै देवकोटाले यही गाउँ हुँदै पुनहिल, मर्दी हिमाल र अन्नपूर्ण आधारशिविर जाने पदमार्ग रहेका कारण यसको उत्तिकै महत्व रहेको स्पष्ट पार्नुभयो । विभिन्न जातजातिको साझा थलो लुम्लेमा गुरुङ, थकाली, बाहुन, क्षेत्री र विश्वकर्मा आदिको बसोबास छ भने आसपासका पोथाना, चन्द्रकोट, अष्ट्रेलियन क्याम्प, लान्द्रुकलगायतका स्थानबाट देखिने मनोरम हिमाली तथा पहाडी दृश्यले जो कोहीको मन लोभ्याउने गरेको छ ।

कविता गाउँ घोषणासँगै साहित्यानुरागीको बढ्दो चहलपहलका साथै संस्थागतरूपमा पनि विभिन्न औपचारक कार्यक्रम हुन थालेपछि स्थानीयवासीमा सचेतना र जागरण बढाएको स्थानीय सिद्ध आधारभूत विद्यालयका शिक्षक शिव देवकोटाले बताउनुभयो । विभिन्न आरोह अवरोहसमेत पार गर्दै अघि बढेको यस गाउँमा २०७२ साउन १३ गते गाउँको बीच भागहुँदै गएको पहिरोले अपूर्णीय क्षति पुर्याएको उहाँले बताउनुभयो ।

देवकोटाका अनुसार उक्त पहिरोमा परी गाउँका २८ जनाको निधन भएको थियो । विनोद गौचनले कविता गाउँका रूपमा चिनाएको लुम्ले गीतकार स्व प्रवीण गुरुङको जन्मस्थान पनि हो । गीतसंगीतको क्षेत्रमा राम्रै योगदान गरेका गुरुङको २०५१ साउन २२ गते काठमाडौँमा सवारी दुर्घटनामा निधन भएको थियो ।

‘यो दाजुको मिरमिरे आँखा’, ‘सालैजो हितैको माया’, ‘फूल मायामा नभुल’, ‘माथिबाट को आयो सालको पात बजाउँदै’ लगायतका चर्चित गीत गाएका गुरुङको योगदानलाई जीवन्त राख्न अन्नपूर्ण गाउँपालिका कास्कीको पाँच लाख रुपैयाँ सहयोगमा हालै स्व प्रवीण गुरुङ स्मृतिपार्क निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले बताउनुभयो ।

पार्क रहेको स्थानमा उहाँका परिवारजनले रु एक लाख ७० हजारको लागतमा स्व गुरुङको शालिक स्थापना गरेका छन् । “कला साहित्य र संगीतको विकासलाई गाउँपालिकाले प्राथमिकतामा राखेको छ”, अध्यक्ष कुँवरले भन्नुभयो, “राष्ट्रियस्तरको एक जनासहित गाउँपालिकामा जन्मस्थान भई कला, साहित्य, संगीतका क्षेत्रमा योगदान गर्ने स्रष्टालाई प्रत्येक वर्ष सम्मान गर्ने योजना पनि छ ।” लुम्ले कविता गाउँमा स्व प्रवीण गुरुङको पार्क स्थापना हुनुले यहाँको महत्व अझै बढाएको बताउने कविता गाउँका संस्थापक अध्यक्ष देवकोटा उठ्दै र जाग्दै र बढ्दै गरेको यो स्थल गीत, सङ्गीत र साहित्यानुरागीको पुग्नैपर्ने गन्तव्यका रूपमा विकास हुने बताउनुहुन्छ । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker