तनहुँको शुक्लागण्डकी-१० मा सहकारीद्वारा दुग्ध प्रशोधन केन्द्र सञ्चालन
भञ्ज्याङ समाचारदाता/दुलेगौंडा

तनहुँको शुक्लागण्डकी नगरपालिका-१० साँखेमा प्रधान कार्यालय रहेको शुक्ला कृषि पर्यटन सहकारी संस्थाले दुग्ध प्रशोधन केन्द्र सञ्चालन गर्ने भएको छ । कृषकले उत्पादन गरेको दूधलाई बजारीकरणमा सहयोग पुर्याउन सहकारी संस्थाले शुक्लागण्डकी-२ गाछेपानीमा प्रशोधन केन्द्र सञ्चालन गर्न लागेको हो । दुग्ध प्रशोधन केन्द्र सञ्चालन गर्न कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अर्न्तर्गतको नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना विकेन्द्रीकृत आयोजना सहयोग इकाई पोखरासँग सहकारीले सम्झौता गरेको छ ।
सहकारीले गाछेपानीमा प्रशोधन केन्द्र निर्माण गर्ने र आगामी साउनसम्म सम्पन्न गरी सञ्चालनमा ल्याउने सहकारीका अध्यक्ष मुक्ति सिग्देलले बताए । उनका अनुसार ९९ लाख २९ हजार तीन सय रुपैयाँको लगानीमा प्रशोधन केन्द्र सञ्चालन हुनेछ । त्यसका लागि सहकारीले १९ लाख ४० हजार ६४७ रुपैयाँ लगानी गर्नेर्छ भने राष्ट्रिय सहकारी बैंक दमौली शाखाले ३० लाख २४ हजार तीन रुपैयाँ ऋण लगानी गर्ने भएको छ ।
नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना विकेन्द्रिकृत आयोजना सहयोग इकाईले ४९ लाख ६४ हजार ६५० रुपैयाँ अनुदान उपलब्ध गराउने सहमति भएको छ । गुणस्तरीय दूध, दही, घ्यु, पनिर, आईसक्रिम बनाउने र प्याकेजिङ गर्नलाई आवश्यक यन्त्र उपकरण प्रशोधन केन्द्रमा जडान हुनेछ । कच्चा पदार्थ खरिद, ढुवानी, बजार प्रबर्द्धन र बीमामा परियोजनाको सहयोग रहने सहकारीले जनाएको छ ।
यस्तै, शुक्लागण्डकी-१० साँखेमा प्रधान कार्यालय रहेको शुक्ला कृषि पर्यटन सहकारीले दुलेगौडाबाट सेवा कार्यालय सञ्चालन गरेको छ । विसं २०७४ मा स्थापित सहकारीमा दुइ हजार चार सय ७५ शेयर सदस्य छन् । सहकारीले खैरेनीटार बजारमा पनि सेवा कार्यालय सञ्चालन गर्ने तयारी गरेको छ ।
किसानले गरेको उत्पादनलाई गुणस्तरीय र ब्राण्ड बनाएर बजारीकरणमा सहयोग पुर्याउन परियोजना सञ्चालन गर्न लागिएको हो । सहकारीले पशुपालनका निम्ति कृषकलाई बिनाधितोमा कर्जा लगानी गर्दै आइरहेको छ । सहकारीमार्फत् ऋण लिएकाहरूले गाईभैसी फार्म सञ्चालन गरिरहेका छन् । सहकारीले शुक्लागण्डकी नगरक्षेत्रका किसानले उत्पादन गरेको एक हजार दुइ सय लिटर दूध दैनिक रूपमा बजारमा विक्रीवितरण गरिरहेको छ ।










