बन्दीपुर गाउँपालिकामा स्वास्थ्य सेवा : विस्तार प्रयास, उपकरण र बजेट अभाव
अस्पतालदेखि घरदैलोसम्म स्वास्थ्य सेवा पुर्याउने प्रयासमा छौं : अध्यक्ष थापा

सुरेन्द्र बहादुर थापा
अध्यक्ष : बन्दीपुर गाउँपालिका
बन्दीपुर गाउँपालिकाले स्वास्थ्य सेवा पहुँच विस्तार र गुणस्तर सुधारका लागि बहुआयामिक कार्यक्रम सञ्चालन गरिरहेको छ । २४सैं घण्टा अस्पताल सेवा, निःशुल्क टिकट व्यवस्था, घरदैलो स्वास्थ्य पहुँच र स्वास्थ्य बीमा विस्तारजस्ता पहलले सकारात्मक प्रभाव देखिए पनि उपकरण अभाव, बजेट सीमितता र समन्वयको कमी प्रमुख चुनौतीका रूपमा रहेको गाउँपालिका अध्यक्ष सुरेन्द्र थापा बताउँछन्।
गाउँपालिकाका ६ वटै वडाका नागरिकलाई लक्षित गर्दै प्रत्येक महिनामा डाक्टरसहितको टोली वडा–वडामा पुग्ने व्यवस्था मिलाइएको बताउँदै अध्यक्ष थापाले भने, ‘स्वास्थ्यकर्मीलाई स्वास्थ्य संस्थामै सीमित नराखी समुदायमै पुगेर सेवा दिने नीति लिएका छौं ।’
बन्दीपुर अस्पतालमा गत वैशाख १ गतेदेखि २४सै घण्टा सेवा सञ्चालन गरिएको छ । बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म निःशुल्क टिकटको व्यवस्था गरिएको छ, जसले सर्वसाधारणको पहुँच सहज बनाएको उनले बताए । हाल अस्पतालमा ६ जना डाक्टरसहित पर्याप्त स्वास्थ्यकर्मी कार्यरत छन् । भिडियो एक्स–रे (अल्ट्रासाउन्ड) सेवा र प्रयोगशाला सेवा विस्तारले पनि स्थानीयलाई राहत पुगेको अध्यक्ष थापा बताउँछन् ।
अस्पताललाई खर्च केन्द्रका रूपमा विकास गरेपछि औषधि अभावको समस्या घटेको अध्यक्ष थापाले बताए। उनले भने, ‘औषधि सकिनासाथ तत्काल खरिद प्रक्रिया अघि बढाइने व्यवस्था गरिएको छ ।’

गाउँपालिकाले नियमित रूपमा स्वास्थ्य शिविर सञ्चालन गर्दै नसर्ने रोगको स्क्रिनिङ र जनचेतना कार्यक्रम चलाउँदै आएको छ। अध्यक्ष थापाका अनुसार जीवनशैली परिवर्तनसँगै मधुमेह, उच्च रक्तचापजस्ता नसर्ने रोग बढ्दै गएका छन् । ‘खानपान र शारीरिक क्रियाकलापमा ध्यान नदिँदा यस्ता रोग बढिरहेका छन्’, उनले भने, ‘नियमित स्वास्थ्य परीक्षण र सचेतना आवश्यकतालाई ध्यानदिंदै सोही खालका कार्यक्रमहरु पनि सञ्चालन गर्दै आइएको छ ।’
गाउँपालिकामा विपन्न नागरिकका लागि निःशुल्क स्वास्थ्य बीमा तथा अन्यलाई प्रोत्साहन गर्ने कार्यक्रम सञ्चालन गरिएको छ। तर केन्द्र सरकारबाट बीमाको रकम समयमा प्राप्त नहुँदा सञ्चालनमा कठिनाइ भएको अध्यक्ष थापाको गुनासो छ । वडा नं. ६ को माथिल्लो भेगमा पहुँच कठिन भएपछि सारङघाटमा शहरी स्वास्थ्य केन्द्र स्थापना गरिएको र त्यहाँ महिनामा एकपटक डाक्टरसहित महिला, बालबालिका र ज्येष्ठ नागरिकका लागि सेवा उपलब्ध गराइँदै आएको अध्यक्ष थापाले बताए ।
यस्तै, बन्दीपुर अस्पतालको नयाँ भवन निर्माण अन्तिम चरणमा पुगेको छ भने डुम्रेमा नयाँ अस्पताल सञ्चालनको तयारी भइरहेको अध्यक्ष थापाले बताए । उनले भने, ‘गाउँपालिकाले आगामी वर्षहरूमा मुटुको इको मेसिन, थाइराइड परीक्षण उपकरण तथा डायलाइसिस सेवा सञ्चालन गर्ने लक्ष्य लिएको छ ।’
स्वास्थ्य क्षेत्रमा उपकरण अभाव मुख्य समस्या रहेको अध्यक्ष थापा बताउँछन् । क्यान्सर परीक्षण, मुटु रोग जाँच र अन्य विशेषज्ञ सेवाका लागि आवश्यक उपकरण गाउँपालिकामा उपलब्ध नहुँदा सेवा प्रवाहमा समस्या आउने गरेको छ । एम्बुलेन्स सेवा दुई वटा भए पनि सबै ठाउँमा सहज पहुँच नपुगेको, बजेट सीमितता र संघ–प्रदेशसँग समन्वय अभाव पनि चुनौतीका रूपमा रहेका छन् ।

बन्दीपुर गाउँपालिकाले स्वास्थ्य सेवा पहुँच र गुणस्तर सुधारमा उल्लेखनीय प्रयास गरेको भएपनि दीर्घकालीन रूपमा प्रभावकारी स्वास्थ्य सेवा प्रणाली विकास गर्न उपकरण, जनशक्ति र बजेट व्यवस्थापनमा थप लगानी आवश्यक रहेको अध्यक्ष थापा बताउँछन् । उनले भने, ‘स्थानीय तहको पहललाई संघ र प्रदेश सरकारको सहयोगले साथ दिएमा बन्दीपुरमा स्वास्थ्य सेवा अझ सुदृढ र सर्वसुलभ बन्ने अपेक्षा गरिएको छ ।’
किरण श्रेष्ठ : स्वास्थ्य शाखा प्रमुख, बन्दीपुर
बन्दीपुर गाउँपालिकाले स्वास्थ्य सेवालाई प्राथमिकतामा राख्दै पछिल्ला वर्षहरूमा उल्लेखनीय प्रयास गरेको भएपनि भौगोलिक विकटता, जनशक्ति अभाव र पूर्वाधार सीमितताका कारण सेवा पहुँचमा अझै चुनौती कायमै रहेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख किरण श्रेष्ठ बताउँछन्।
१८ हजार ५३२ जनसंख्या रहेको गाउँपालिकामा हाल एक अस्पताल, एक स्वास्थ्य चौकी, चार आधारभूत स्वास्थ्य सेवा केन्द्र र एक शहरी स्वास्थ्य केन्द्र गरी जम्मा सात स्वास्थ्य संस्था सञ्चालनमा छन् । तीमध्ये बन्दीपुर अस्पताल र धरमपानी बर्थिङ सेन्टरबाट २४सैं घण्टा सेवा उपलब्ध हुँदै आएको स्वास्थ्य शाखा प्रमुख श्रेष्ठले जानकारी गराए ।
चालु आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रमा आन्तरिकतर्फ ६५ लाख रुपैयाँ र बन्दीपुर अस्पताल सञ्चालनका लागि थप बजेटसहित करिब १ करोड ६५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

गाउँपालिकाले ज्येष्ठ नागरिक घरदैलो कार्यक्रम, नसर्ने रोग नियन्त्रण अभियान तथा ‘गर्भवतीसँग उपाध्यक्ष’ कार्यक्रममार्फत निःशुल्क स्वास्थ्य परीक्षणजस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ । दीर्घकालीन रूपमा घरमै हुने प्रसूति शून्य बनाउने, पूर्ण खोप सुनिश्चित गर्ने, पोषणमैत्री स्वास्थ्य संस्था विकास गर्ने र स्वस्थ जीवनशैली प्रवद्र्धन गर्ने लक्ष्य राखि स्वास्थ्य क्षेत्रको कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख श्रेष्ठले बताए ।
पालिकाको बन्दीपुर अस्पताल र धरमपानी स्वास्थ्य चौकी गरी दुई स्थानमा प्रसूति सेवा उपलब्ध गरिएको स्वास्थ्य शाखा प्रमुख श्रेष्ठले जाकारी गराए । उनका अनुसार प्रयोगशाला, एक्स–रे तथा भिडियो एक्स–रे सेवा पनि सञ्चालनमा छन् । बन्दीपुर अस्पतालमा हप्तामा दुई पटक भिडियो एक्स–रे सेवा सञ्चालन हुने गरेको छ भने ग्रामीण क्षेत्रमा मासिक रूपमा सेवा पुर्याइँदै आएको छ ।
दुईवटा एम्बुलेन्समार्फत अधिकांश वडामा सेवा उपलब्ध गराउँदै आइएको र यद्यपि ग्रामीण क्षेत्रमा यातायात पहुँच सीमित हुँदा आकस्मिक सेवा लिन कठिनाइ हुने गरेको छ । गाउँपालिकाको स्वास्थ्य क्षेत्रमा ३६ जनाको दरबन्दी भए पनि हाल ५८ जना (स्थायी तथा अस्थायी) कार्यरत छन्। विशेषज्ञ चिकित्सक अभाव भए पनि एक मेडिकल सुपरिटेन्डेन्ट र चार मेडिकल अधिकृतमार्फत सेवा दिइँदै आएको छ । दुर्गम क्षेत्रमा जनशक्ति टिकाउन आर्थिक प्रोत्साहन, तालिम, सम्मान तथा अन्य सुविधा प्रदान गरिँदै आएको स्वास्थ्य शाखाले जनाएको छ ।

यस्तै, संस्थागत सुत्केरी दर १४.४८ प्रतिशत मात्र रहेको छ, जुन अपेक्षाकृत न्यून रहेको स्वास्थ्य शाखा प्रमुख श्रेष्ठले बताए । बर्थिङ सेन्टरको सेवा सीमितता, दक्ष जनशक्ति अभाव, जटिल प्रसूति व्यवस्थापनको कमी तथा बसाइँसराइ यसका प्रमुख कारणका रूपमा रहेका उनले बताए । उनका अनुसार खोप कार्यक्रमअन्तर्गत ८३.३३ प्रतिशत बालबालिकाले पूर्ण खोप पाएका छन् । कुपोषण नियन्त्रणका लागि पोषण कार्यक्रम, किशोरीलाई आइरन वितरण तथा ‘सुनौलो १००० दिन’ कार्यक्रम सञ्चालनमा छन् ।
गाउँपालिकाका बासिन्दामा उच्च रक्तचाप, मधुमेह, अम्लपित्त, जोर्नी दुखाइ तथा आँखा सम्बन्धी रोग बढी देखिने गरेका छन् । नसर्ने रोग नियन्त्रणका लागि समुदायस्तरमा स्क्रिनिङ, स्वास्थ्य प्रवर्द्धन कार्यक्रम तथा ज्येष्ठ नागरिक लक्षित घरदैलो सेवा सञ्चालन गरिएको छ । मानसिक स्वास्थ्य सेवाअन्तर्गत मनोसामाजिक परामर्शकर्ता मार्फत वडास्तरमै सेवा प्रदान गरिँदै आएको गाउँपालिकाले जनाएको छ ।
पछिल्ला वर्षहरूमा घरमै हुने सुत्केरीलाई शून्यमा झार्ने प्रयास, खानेपानीको गुणस्तर परीक्षण तथा जनचेतना कार्यक्रम सञ्चालनजस्ता उपलब्धि हासिल भएको स्वास्थ्य शाखा प्रमुख श्रेष्ठले बताए । तर स्वास्थ्य सेवामा पहुँच अभाव, यातायात समस्या, कर्मचारी व्यवस्थापन, सीमित लगानी तथा प्रभावकारी अनुगमनको कमी प्रमुख चुनौतीका रूपमा देखिएको उनको भनाई छ ।

गाउँपालिकाले दक्ष जनशक्ति व्यवस्थापन, नियमित तालिम, दुर्गम क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर, स्वास्थ्य बीमा विस्तार तथा निजी स्वास्थ्य संस्थाको नियमनलाई आगामी प्राथमिकतामा राखेको छ । ग्रामीण भेगका नागरिकले अझै पनि विशेषज्ञ सेवा, औषधि उपलब्धता र सहज यातायात अभावका कारण स्वास्थ्य सेवा उपयोगमा कठिनाइ भोग्दै आएका छन् ।
संघ र प्रदेश सरकारसँग पर्याप्त बजेट, औषधि आपूर्ति र जनशक्ति विकासमा सहयोगको अपेक्षा गाउँपालिकाले गरेको छ । गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा आधारभूत संरचना विस्तार र सेवा प्रवाह सुधारमा महत्वपूर्ण प्रयास गरेको देखिए पनि गुणस्तरीय र सहज पहुँचयुक्त स्वास्थ्य सेवा सुनिश्चित गर्न अझै थप लगानी, समन्वय र प्रभावकारी कार्यान्वयन आवश्यक देखिन्छ ।
‘अस्पताल टाढा थियो, डाक्टर गाउँमै आए’ : सेवाग्राही
तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानीमा बन्दीपुर अस्पतालले घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । अस्पतालले गाउँमै शिविर सञ्चालन गर्ने थाहापाएपछि स्थानीय सुशिला गुरुङ पनि उपचार सेवा लिनका लागि आइपुगेकी थिइन् । त्यतिबेला २८ वर्षीया सुशिला ३२ हप्ताको गर्भवती थिइन् । आफ्नो गर्भ र गर्भमा भएको शिशुको अवस्थाका विषयमा जानकार हुन चाहेपनि त्यसका लागि उनलाई सहज थिएन । अस्पतालले सञ्चालन गर्ने शिविरमा डा. राजेश रेग्मीबाट अल्ट्रासाउन्ड जाँच गराएर आफ्नो गर्भ र शिशुको अवस्था जानकार हुँदा उनि निकै खुशी देखिन्थिन् ।

अल्ट्रासाउन्ड गराउन बन्दीपुर, डुम्रे, दमौली वा पोखरा जानुपर्ने अवस्था थियो। खर्च, यात्रा र साथमा लैजान मान्छे खोज्नुपर्ने झन्झटले उनले जाँच गराउन सकेकी थिइनन् । गाउँकै धरमपानी स्वास्थ्य चौकीमै बन्दीपुर अस्पतालको चिकित्सकीय टोलीले दिएको उपचार सेवाले उनि खुशी हुँदै भनिन्, ‘पहिलो पटक गाउँमै यस्तो सेवा पाएँ, अस्पताल टाढा थियो, डाक्टर गाउँमै आए ।’
सुशीलाजस्तै धेरै स्थानीयका लागि गाउँपालिका र अस्पतालको सहकार्यमा सञ्चालन भएका घुम्ती स्वास्थ्य शिविर राहत मात्र होइन, आशाको आधार बन्दै गएका छन् ।
बन्दीपुर गाउँपालिका र गाउँपालिका अन्तर्गतको बन्दीपुर अस्पतालले ग्रामीण क्षेत्रका बासिन्दालाई लक्षित गर्दै ‘गाउँमै स्वास्थ्य सेवा अभियान’ सञ्चालन गर्दै आएका छन् । यसरी सञ्चालन गरिएको स्वास्थ्य सेवा प्रभावकारी बन्नुका साथै ग्रामीण क्षेत्रका बासिन्दाले सहज रुपमा स्वास्थ्य सेवा लिदै आएका छन् ।
गाउँपालिका र अस्पतालको सहकार्यमा ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा पहुँच विस्तार गर्ने उद्देश्यले सञ्चालन गरिएका घुम्ती स्वास्थ्य शिविर तथा विशेषज्ञ स्वास्थ्य कार्यक्रम प्रभावकारी बन्दै गएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापा बताउँछन् । गत माघ महिनामा सञ्चालन गरिएका विभिन्न कार्यक्रमबाट सयौंको संख्यामा स्थानीय लाभान्वित भएको उनले बताए ।

‘स्वास्थ्य सेवामा सर्वसाधारण नागरिकको पहुँच सहज बनाउन गाउँपालिकाले महिनामा एक दिन प्रत्येक स्वास्थ्य संस्थाबाट बन्दीपुर अस्पतालसम्म दुईतर्फी निःशुल्क बस सेवा सञ्चालन गर्दै आएको छ’, अध्यक्ष थापाले भने, ‘दुर्गम क्षेत्रका नागरिकलाई अस्पतालसम्म ल्याउन–लैजान उक्त सेवा प्रभावकारी बन्दै गएको छ ।’
गाउँमै स्वास्थ्य, बढ्दो विश्वास
ग्रामीण क्षेत्रमा अस्पतालसम्म पुग्न समय, पैसा र यातायात सबै चुनौतीपूर्ण हुन्छन् । त्यसमाथि महिला र ज्येष्ठ नागरिकका लागि झन् कठिन। यस्ता घुम्ती शिविरले त्यो दूरी घटाइदिएको बन्दीपुर गाउँपालिका–६ धरमपानीकी केश माया गुरुङ बताउँछिन् । उनले भनिन्, ‘यो कार्यक्रम सोचेभन्दा धेरै प्रभावकारी देखिएको छ । समुदायमा देखिएको उत्साहले आगामी दिनमा यस्ता कार्यक्रमको निरन्तरताका लागि गाउँपालिका र अस्पताललाई थप प्रेरणा समेत मिलेको देखिन्छ ।’
गाउँपालिका र अस्पतालबीचको सहकार्यले स्वास्थ्य सेवा पहुँच विस्तारमा स्थानीय तहको सक्रियता कति प्रभावकारी हुन सक्छ भन्ने उदाहरण प्रस्तुत गरेको वडा नं. १ का वडा अध्यक्ष शिवकुमार श्रेष्ठले बताए । उनले भने, ‘गाउँमै विशेषज्ञ सेवा, नसर्ने रोगको प्रारम्भिक जाँच, जनचेतनामूलक कार्यक्रम र खोप अभियान जस्ता कार्यक्रमले ग्रामीण स्वास्थ्य प्रणालीलाई सुदृढ बनाउने संकेत देखाएको छ ।’

वडाअध्यक्ष श्रेष्ठले भने, ‘ग्रामीण क्षेत्रका बासिन्दालाई त धेरै ठूलो कुरा चाहिँदैन, समयमै उपचार पाउनु पनि ठूलो कुरा हो, स्वास्थ्य सेवा गाउँमै पुग्दा परिवर्तनको सुरुआत त्यहीँबाट हुन्छ भन्ने हामीले महशुस गरेका छौ । बन्दीपुरमा त्यो सुरुआत देखिन थालेको छ ।’
गाउँपालिकाले उच्च रक्तचाप, मधुमेह, मुटुरोग र क्यान्सरजस्ता नसर्ने रोगको समयमै पहिचानका लागि समुदायस्तरमै ‘मास स्क्रिनिङ’ अभियान सञ्चालन गरिरहेको छ । सारङ्घाटमा सञ्चालित शिविरमा सेवा लिन आएका अधिकांश सेवाग्राहीले शिविरमार्फत पहिलो पटक आफ्नो रक्तचाप असामान्य रहेको थाहा पाएको बताएका थिए। अस्पतालका अनुसार, प्रारम्भिक परीक्षण र जनचेतना अभिवृद्धिले दीर्घकालीन स्वास्थ्य जोखिम न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।










