चोरीका मोटरसाइकल सहित तनहुँको बन्दीपुरमा पाँच जना पक्राउ

दमौली : तनहुँको बन्दीपुर गाउँपालिका–२ पौवामा चोरीका मोटरसाइकल सहित पाँच जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालयबाट प्रहरी नायव निरीक्षक उदयश्वर अधिकारीको नेतृत्वमा खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा नम्बर प्लेट नभई चलाई ल्याएको तीन वटा मोटरसाइकल सहित पाँच जना पक्राउ परेका हुन् ।
चालकहरुसँग शंका लागि सवारी अनुमति पत्र लगायत अन्य कागजातहरु माग गरी सोधपुछ गर्ने क्रममा निजहरुले चलाई ल्याएका मोटरसाईकलहरु चोरी गरी प्रयोग गरेको भन्ने खुलेको प्रहरीको भनाई छ ।
पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका–५ कल्याणपुर बस्ने २१ वर्षीय विनायक विश्वकर्मा, सोही ठाउँ बस्ने १८ वर्षीय विश्व पुन मगर, १९ वर्षीय अनिश श्रेष्ठ, भरतपुर महानगरपालिका–१५ फूलबारी बस्ने १८ वर्षीय आयुष बयलकोटी, भरतपुर महानगरपालिका–५ कल्याणपुर बस्ने २० वर्षीय अर्जुन श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।









