जिल्लामै पीसीआर प्रयोगशाला सञ्चालन गर्न तनहुँका स्थानीय पालिका जुटे, सहयोगका लागि आव्हान
भञ्ज्याङ न्यूज

कोरोना संक्रमण भए नभएको पुष्टिका लागि पीसीआर परीक्षण गर्नुपर्ने र तनहुँमा पीसीआर परीक्षण गर्ने ल्याब नहुँदा नागरिकले सास्ति खेप्दै आएका छन् । स्वाब नमुना संकलन गरी परीक्षणका लागि पोखरा पठाउनु पर्ने र रिपोर्ट आउन हप्तदिनसम्म कुर्नुपर्ने अवस्था आएपछि अहिले तनहुँका स्थानीय पालिकाहरु जिल्लामै पीसीआर परीक्षण प्रयोगशाला सञ्चालन गर्ने तयारीमा जुटेका छन् ।
जिल्लामा प्रयोगशाला नहुँदा र नमुना पठाएको हप्तादिनसम्म पनि रिपोर्ट नपाउँदा केही संक्रमितहरुको रिपोर्ट नआउँदै मृत्यु समेत हुने गरेको छ । यो अवस्थालाई ख्याल गर्दै तनहुँका दश वटै स्थानीय तहहरु जिल्लामा नै पिसिआर परिक्षण प्रयोगशाला स्थापनाका लागि सहमत भएका छन् ।
जिल्लाभर कोभिड-१९ को संक्रमण बढी रहेको र पिसिआर परिक्षणको नतिजा ढिलो गरी प्राप्त हुने अवस्थालाई मध्यनजर गरी तनहुँमै प्रयोगशला स्थापना गर्न सबै पालिकाहरु तयार भएका छन् । विद्यमान कोभिड-१९ को संक्रमणलाई जिल्लाभर कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने सम्बन्धमा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा बुधवार दमौलीमा बसेको अन्तरपालिका समन्वय वैठकले उक्त निर्णय गरेको हो ।
पसिआर परिक्षणको प्रतिवेदन आउन न्यूनतम ७ दिन लाग्ने, उक्त अवधिमा संक्रमितको पहिचान नभएसम्म उपचार प्रक्रियामा ल्याउन कठिन अबस्थालाई ध्यानमा राखी तनहुँका पालिकाहरुको सहभागितामा व्यास नगरपालिका-१०, दुम्सीबजार स्थित आधारभुत स्वास्थ्य कार्यालयको भवनमा पिसिआर परिक्षण प्रयोगशाला स्थापना गर्ने तयारी भएको व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिए ।
प्रयोगशाला स्थापनाका लागि सम्बन्धित निकायसँग अनुमति माग गर्ने र आवश्यक व्यवस्थापनको नेतृत्व लिन व्यास नगरपालिकालाई जिम्मा दिने निर्णय बैठकले गरेको छ । प्रयोगशालामा रोटरी क्लब अन्तर्राष्ट्रिय डिस्टि्रक ३२९२ बाट प्राप्त मेसीन समेतको प्रयोग गर्ने निर्णय भएको न्यौपानेले बताए ।
दमौली अस्पताल र जि.पि. कोइराला राष्ट्रिय स्वासप्रश्वास उपचार केन्द्रमा अक्सिजन प्लान्ट स्थापना गर्ने प्रक्रियामा समेत स्थानीय पालिकाहरुले पनि सहयोग गर्ने र हरेक पालिकाले आ-आफ्नो क्षमता, सामाजिक संघ संस्था, निजी क्षेत्र समेतको सहभागितामा आ-आफ्नो स्वास्थ्य संस्थाहरुमा अक्सिजन प्लान्ट राख्न पहल गर्ने निर्णय भएको व्यास नगरपालिकाले जनाएको छ।
तनहुँ जिल्ला अन्तरगतका १० वटै पालिकाहरुको सहभागिता स्थापना गरिने पिसिआर परिक्षण प्रयोगशालामा सहयोग गर्न इच्छुक निजी क्षेत्र, वैदेशिक रोजगारमा रहेका दाजुभाइ दिदीवहिनी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थालाई पनि सहभागिताका लागि अनुरोध गरिएको छ ।

गतवर्ष नै सबै पालिकाहरुको सहभागितामा जिल्लामा नै प्रयोगशाला स्थापना गर्ने निर्णय भएको भएपनि पोखराबाट २/३ दिनमा रिपोर्ट आउन थालेपछि तत्काल उक्त प्रक्रियालाई स्थगन गरिएको थियो । त्यसपछि पालिकाहरुको सहभागितामा जि.पि कोइराला स्वासप्रश्वास उपचार केन्द्रमा कोभिड-१९ कक्ष रहने भवन निर्माण गरी हस्तान्तरण गरिएको थियो ।
अन्तरपालिका समन्वय बैठकमा भानुका नगरप्रमुख उदयराज गौली, शुक्लागण्की नगरप्रमुख किसान गुरुङ, ऋषिङ गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ, आँबुखैरेनी गाउँपालिका अध्यक्ष गिर बहादुर थापा, व्यास नगर उप-प्रमुख मीरा जोशी, म्याग्दे गाउँपालिका उपाध्यक्ष बालकृष्ण घिमिरे, भिमाद नगरपालिकाका प्रतिनिधि ऋषिभक्त वाग्ले, जि.पि स्वासप्रश्वास उपचार केन्द्रका निर्देशक डा. राम कुमार श्रेष्ठ, व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देल, व्यास-१, २, ३, ४, ५, १३ का वडा अध्यक्ष एवं कार्यकारीणी सदस्य चन्द्रमाया परियार, उद्योग वाणीज्य संघ तनहुँका अध्यक्ष पविन्द्र कुमार श्रेष्ठ, दमौली बजार इकाईका सभापति भुपाल आले लगायतको उपस्थिति रहेको थियो ।










