व्यासले १३० मेट्रिकटन क्षमतको चिस्यान केन्द्र बनायो
भञ्ज्याङ न्यूज
गण्डकी प्रदेश सरकार र व्यास नगरपालिकाको संयुक्त लगानीमा १३० मेट्रिक टन क्षमताको चिस्यान केन्द्र निर्माण सम्पन्न भएको छ । व्यास-११ स्थित गैह्रबारीमा तीन रोपनी सार्वजनिक जग्गामा एक करोड ६२ लाख ३२ हजार २६४ रुपैयाँको लागतमा चिस्यान केन्द्र निर्माण गरिएको हो ।
वर्षौदेखि व्यक्तिले कब्जा गरी भोगचलान गर्दै आएको उक्त सार्वजनिक जग्गा नगरपालिकाले संरक्षण गरी हाल चिस्यान केन्द्र निर्माण गरेको व्यास नगरपालिकाका अधिकृत भेषराज तिवारीले बताए।
केन्द्रको देवचुली कन्ट्रक्सन कम्पनी प्रालिले २०७८ भदौ १३ गते सम्झौता गरी निर्माण थालेको थियो। गण्डकी प्रदेश सरकारको ७० प्रतिशत र व्यास नगरपालिकाको ३० प्रतिशत लगानीमा केन्द्र बनाइएको हो । नगरपालिकामा चिस्यान केन्द्र निर्माण भएपछि वार्षिक चार/पाँच करोड रुपैयाँ बाहिरिनबाट रोकिने नगरपालिकाले जनाएको छ ।
यसअघि आलु, फलफूल, तरकारी लगायतका बस्तु कोल्डस्टोरमा राख्नुपर्ने भएकाले पोखरा र चितवन लैजाने गरिन्थ्यो। चिस्यान केन्द्र निर्माण सम्पन्न भएपनि थ्रीफेस लाइन जडान बाँकी रहेकाले जडान प्रक्रिया अघि बढाइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले बताए ।
जेनेटर चलाउनको लागि विद्युत् ट्रान्सफर जडान गर्नुपर्ने भएकाले विद्युत् प्राधिकरणसँग सम्ान्वय भइरहेको उनले बताए । चिस्यान केन्द्र चालु आर्थिक वर्षबाट सञ्चालन गर्ने तयारी गरिएको छ ।