भानुको योजना : गुन्द्रुकलाई ब्राण्डिङ गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने

तनहुँ : तनहुँको भानु नगरपालिकाले स्थानीय स्तरमा उत्पादन हुने सागलाई गुन्द्रुकमा रूपान्तरण गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउने योजना अगाडि ल्याएको छ ।

नगरपालिकाले ‘भानु गुन्द्रुक’ नामक ब्राण्ड निर्माण गरी बजार विस्तार गर्ने दीर्घकालीन योजना अघि सारेको हो। कृषिमा रूपान्तरण, आर्थिक विकास र सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोग परियोजना अन्तर्गत अघि बढाइएको यस कार्यक्रमको नेतृत्व नगर प्रमुख आनन्द राज त्रिपाठीले गर्ने भएका छन् ।

इलामको रोङ गाउँपालिकामा सम्पन्न अध्ययन भ्रमणबाट प्रेरणा लिएर भानुले स्थानीय उत्पादनलाई नयाँ ढंगले बजारीकरण गर्ने नीति बनाएको नगरप्रमुख त्रिपाठीले बताए । नगरपालिकाका अनुसार, गुन्द्रुक उत्पादन, प्रशोधन र बजारीकरणका लागि नविनतम प्रविधि तथा व्यवस्थापन प्रणालीको प्रयोग गर्ने भएको छ । जस अन्तर्गत स्थानीय कृषक समूहको क्षमता अभिवृद्धि गर्ने, उत्पादनमा गुणस्तरको एकरूपता सुनिश्चित गर्ने, प्याकेजिङ र लेबलिङमा सुधार गर्ने, ‘भानु गुन्द्रुक’ नामक राष्ट्रियस्तरको ब्राण्ड निर्माण गर्ने कार्यक्रम अगाडि ल्याउने भएको छ ।

यस्तै, उत्पादन ट्र्याकिङ, अनलाइन बिक्री प्रवद्र्धन, डिजिटल मार्केटिङ, क्यूआर कोडमार्फत स्रोत पहिचानजस्ता उपाय पनि समावेश गरिने नगरपालिकाले जनाएको छ ।

कार्यक्रमको उद्देश्य केवल उत्पादनसम्म सीमित नरही, किसानको आम्दानी वृद्धि गर्दै भानुलाई गुन्द्रुक उत्पादनको केन्द्र बनाउने रहेको नगरप्रमुख त्रिपाठीले जनाए । यो पहलले कृषकलाई आर्थिक रूपमा सशक्त बनाउने र स्थानीय उत्पादनलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने उनले विश्वास व्यक्त गरेका छन् ।

हाटबजार संचालनलाई व्यवस्थित बनाइने

यस्तै, गत आर्थिक वर्षबाट सञ्चालनमा ल्याइएका दुई नयाँ हाटबजारलाई दीर्घकालीन र सफल बनाउइने भएको छ । यसका लागि नगरप्रमुख आनन्दराज त्रिपाठीको नेतृत्वको एक टोलीले पूर्वी नेपालको पाँचथर जिल्ला, तुम्वेवा गाउँपालिका पुगेर त्यहाँको सफल हाटबजार व्यवस्थापनबारे अध्ययन अवलोकन गरेको छ ।

तुम्बेवाको हाटबजारमा देखिएको दृश्य केवल किनमेलको सीमित परिधिभित्र मात्र नभई टाढाटाढाबाट आएका साना किसानहरूले आफ्नै घरमा उत्पादन गरेका ताजा तरकारी, फलफूल र स्थानीय वस्तुहरू बिक्रीका लागि ल्याएका थिए ।

हाटबजारलाई व्यापारी र उपभोक्ताबीचको लेनदेन मात्र नभई गाउँलेहरूका लागि भेटघाट, सुख–दुःख साटासाट गर्ने र आपसी सम्बन्ध मजबुत बनाउने चौतारीको रूपमा विकास गर्न सकिने सम्भावना रहेको नगरप्रमुख त्रिपाठीले बताए । उनले भने, ‘गाउँको जीवनशैली, संस्कृति र आपसी आत्मीयता हाटबजारमै प्रतिबिम्बित हुने रहेछ, जसले वातावरणलाई अझ रमाइलो र जीवंत बनाएको देखियो ।’

नगरप्रमुख त्रिपाठीका अनुसार, ‘हामीले स्थानीय उत्पादनलाई प्राथमिकता दिने, किसान र उपभोक्ताबीचको सम्बन्धलाई बलियो बनाउने र समुदायलाई हाटबजारको केन्द्रमा राख्ने मोडेललाई अंगाल्नेछौँ ।’ तुम्बेवाको अनुभवले भानु नगरपालिकालाई नयाँ ज्ञान र प्रेरणा दुबै दिएको छ ।

नगरपालिकाले अध्ययनबाट सिकेका अभ्यासहरूलाई आफ्ना हाटबजारमा लागू गर्दै तीलाई सफल र दीर्घकालीन विकासको उदाहरण बनाउन तयारी थालेको जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker