व्यासलाई पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरिने, विद्यालय व्यवस्थापन समितिका लागि सहजिकरण समिति गठन
भञ्ज्याङ न्यूज

तनहुँको व्यास नगरपालिकालाई पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरिने भएको छ । नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा सोमबार बसेको नगर कार्यपालिकाको नियमित बैठकले उक्त निर्णय गरेको हो । व्यास नगरपालिका क्षेत्रभित्रका खोप लगाउनु पर्ने सम्पूर्ण बालबालिकाहरुलाई नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मापदण्ड अनुसारका सम्पूर्ण खोप लगाईएको हुँदा यस नगरपालिकालाई पुर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गर्ने निर्णय गरिएको नगरप्रवक्ता एवं वडाअध्यक्ष मोहनकुमार श्रेष्ठले जानकारी गराएका छन् ।
बैठकले नगरपालिका भित्रका सम्पूर्ण विद्यालयहरुको व्यवस्थापन समिति र शिक्षक अभिभावक संघहरुको कार्यकाल २०७८ जेष्ठ मसान्तमा समाप्त भएको र २०७८ असार १ गतेदेखि नयाँ विद्यार्थी भर्ना अभियान सञ्चालन भएकाले विद्यालय व्यवस्थापनको विद्यमान संक्रमणकालिन क्षणमा सहजिकरणका लागि समिति गठन गर्ने निर्णय गरेको छ ।
बैठकले नियमानुसार व्यवस्थापन समिति गठन नहुँदासम्म व्यवस्थापन समितिका रुपमा आवश्यक निर्णय लिन तथा नयाँ विद्यार्थी भर्नाका आधारमा कायम हुने अभिभावकहरुको विवरणलाई आधार मानि २०७८ श्रावण मसान्त भित्र नियमानुसार विद्यालय व्यवस्थापन समिति गठन गर्ने कार्यका लागि चार सदस्य समिति गठन गरिएको छ ।
बैठकले सम्बन्धित वडाको अध्यक्ष वा निजले तोकेको सदस्य संयोजक र सदस्यहरुमा सम्बन्धित विद्यालयका शिक्षक प्रतिनिधि, समितिले मनोनयन गरेको एक जना महिला सहित २ जना अभिभावक सम्बन्धित विद्यालयका प्रधानाध्यापक सदस्य सचिव रहने गरी समिति गठन गरिएको छ ।
यस्तै, नगर कार्यपालिकाको बैठकले यही असार १० गते हुने नगरपालिकाको ३५औं नगर सभामा प्रस्तुत गरिने नीति तथा कार्यक्रमको प्रस्ताव सम्बन्धमा बृहत रुपमा छलफल भई कार्यपालिका सदस्यहरुबाट प्राप्त सुझाबहरुलाई समावेश गरी नगर सभामा पेश गर्ने निर्णय गरेको छ ।
३५औं नगरसभामा प्रस्तुत गरिने आ.ब ०७८/७९ को बजेट कार्यक्रम, सम्बन्धित समितिबाट पेश भएको प्रस्ताव उपर बृहत रुपमा छलफल गरी संशोधन सहित नगर सभामा पेश गर्ने, नगर सभामा प्रस्तुत गरिने विधायन समितिबाट प्रस्तावित विधेयकहरु वैठकबाट अनुमोदन गर्ने निर्णय गरिएको प्रवक्ता श्रेष्ठले जानकारी गराए ।
नगरसभामा व्यास नगरपालिकाको भाषा, संस्कृति, साहित्य संरक्षणका लागि ‘व्यास नगर प्रज्ञा प्रतिष्ठान विधेयक, २०७८’, व्यास नगर ऐतिहासिक एवं महत्वपूर्ण पर्यटकीय क्षेत्रको संरक्षण सम्बन्धी विधेयक, २०७८, व्यास नगरपालिकामा कार्यरत स्थानीय तहका स्थायी कर्मचारी समायोजन सम्बन्धी विधेयक, २०७८, आर्थिक विधेयक, २०७८, विनियोजन विधेयक, २०७८ विधेयकहरु अनुमोदन गरिने भएको छ ।
यस्तै, बैठकमा नगरपालिका भित्र भएका विपद्का घटनाहरुको समिक्षा गरिएको छ । २०७७ असार र श्रावण महिनामा आएको बाढी र पहिरोबाट भत्किएका विभिन्न बाढि पीडित व्यक्तिहरुको घर निर्माणका लागि नेपाल सरकारबाट तयार भएको कार्य विधि अनुसार प्रति घरपरिवार ४ लाख पाउने र लाभग्राहिले पाउने रकमको १५% रकम नगरपालिकाले व्यहोर्ने गरी कार्यविधिमा भएको व्यवस्था बमोजिम आवश्यक रकम पठाउनका लागि जिल्ला विपद् समितिद्वारा पत्राचार भए अनुसार जम्मा ७७ घरपरिवारको घर निर्माणका लागि यस नगरपालिकाले व्यहोर्नु पर्ने रकम मध्ये पहिलो किस्ता रकम १५ लाख ५० हजार रुपैयाँ ३ किस्तामा जिल्ला विपद् कोषमा जम्मा गर्ने निर्णय गरिएको छ ।