पोखराको गतिविधि हेर्न आउने पर्यटकको आकर्षण बन्दै तालबाराही सन्ध्याआरती

प्रकृति एवं संस्कृतिले भरिपूर्ण पोखराको गतिविधि हेर्न आउने पर्यटकको घुइँचो लाग्ने गरेको छ ।

सराङकोटबाट सूर्योदयको झुल्को अन्नपूर्ण, माछापुच्छ्रेलगायतका हिमशृङ्खलामा परेको मनोरम दृश्यावलोकनबाट भ्रमणको शुभारम्भ गरेका पर्यटक मठमन्दिर, तालतलैया, गुफा, झरना, खोच तथा सङ्ग्रहालय अवलोकनपश्चात साँझ भने सन्ध्याआरतीमा सहभागी हुने गरेका छन् ।

फेवातालको बीच भागमा अवस्थित तालबाराही मन्दिरको समिप बाराही घाटमा प्रत्येक दिन साँझ तीन जना युवा पण्डितबाट सङ्गीतमय धुनमा हुने सन्ध्याआरती सबै धर्मावलम्बी र विभिन्न उमेर समूहको रोजाइमा पर्ने गरेको छ ।

पछिल्लो समय पोखरामा आरतीलाई अर्को पर्यटकीय गन्तव्यकारूपमा लिन थालिएको तालबाराही महाआरती व्यवस्थापन समितिका अध्यक्ष मङ्गलबहादुर नेपालीले बताउनुभयो ।

उहाँका अनुसार आरतीमा धुप, घिउ, ल्वाङदानी, कपुर, मयुरपङ्ख, सेतोचमर, अलैँचीदाना, लाछीधागो, फूलपातीलगायतका विभिन्न सुगन्धित वस्तुको प्रयोग गरिन्छ । शङ्ख ध्वनिबाट शुभारम्भ गरी सहभागी भक्तजनले पण्डितबाट टीका र प्रसाद ग्रहण गर्दै आरती लिएपछि समापन हुन्छ ।

भारतको काशीबाट तीन जना पण्डितसहितका सामग्री ल्याएर विसं २०७५ असोज २४ गते घटस्थापनाको दिनदेखि सुरु गरिएको आरती निरन्तर सञ्चालन हुँदै आएको उहाँको भनाइ छ । हाल पोखराका पण्डितद्वारा आरती सञ्चालन हुँदै आएको छ ।

“धार्मिकको माध्यमबाट फेवातालमा बारम्वार हुने दुर्घटना न्यूनीकरण गर्ने आरतीको प्रमुख लक्ष्य हो”, अध्यक्ष नेपालीले भन्नुभयो, “आरती सञ्चालन गर्न मासिक रु दुई लाख खर्च हुन्छ, भक्तजनबाट सहयोग प्राप्त भएको हुँदा ‘त आँट म पुर्याउँछु’ भन्ने युक्ति चरितार्थ भएको छ ।”

पशुपतिनाथ महाआरतीको झल्को दिने तालबाराहीबाट सञ्चालन गरिएको आरती पछिल्लो समय पोखराको प्रसिद्ध धार्मिक क्षेत्र विन्ध्यवासिनी मन्दिर, सदाशिव हरिहर मन्दिर महतगौडा, गुप्तेश्वर गुफा, नर्वदेश्वर मन्दिर, रामघाट, बेगनासतालमा समेत सम्पन्न भइसकेको समितिका उपाध्यक्ष ढाकाबहादुर थापाले जानकारी दिनुभयो ।

आर्थिक अवस्थाका कारण आरती सञ्चालन गर्दा चुनौती नै थियो, भक्तजनको साथ र सहयोगले नै आज पाँच वर्षसम्म निरन्तरता पाएको छ । ‘जहाँ धर्म त्यही धन’ भन्ने युक्तिलाई आरतीले पुनः चरितार्थ गरेको उहाँले भन्नुभयो ।

पर्यटक तथा स्थानीय बासिन्दाका लागि दिनभरिको व्यस्तता एवं तनाव व्यवस्थापनका लागि साँझमा हुने आरती एक साधन बन्ने अर्का उपाध्यक्ष जुना अधिकारी बताउनुहुन्छ । आरतीलाई निरन्तरताका लागि स्थापना भएको अध्यक्षकोषमा रु १२ लाख सङ्कलन भएको बताउँदै उहाँले यस पुण्यकार्यमा सक्दो आर्थिक सहयोग गरिदिनुहुन सम्पूर्णमा अनुरोध गर्नुभयो ।

पोखरा–१५ गलेश्वरमा खानेपानी व्यवसाय सञ्चालक सन्नि केसीले आरतीस्थल बाराहीघाटमा ट्रष्टको छाना निर्माण गर्ने प्रतिबद्धता जनाउनुभएको छ । साउन १२ गते शुक्रबार आरतीमा सहभागी बन्नुभएका उहाँले पानी पर्ने मौसममा आरतीमा सहभागी पण्डित तथा भक्तजनका लागि सुविधा पुर्याउने उद्देश्यका साथ आफ्नो निजी खर्चमा ट्रष्ट निर्माण गरिदिने इच्छा भएको रासससँग बताउनुभयो ।

फेवातालको सौन्दर्यकरणलाई नबिगार्ने गरी पानी पर्दा आरतीमा सहभागीलाई सुविधा पुग्ने विश्वास व्यक्त गर्दै उहाँले भन्नुभयो, “त्यसका लागि आवश्यक सहयोग गरिदिनुहुन सरोकारवाला सबैसँग विनम्र अनुरोध गर्दछु ।”

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker