हल गोरु पाल्ने म्याग्देका २७५ किसानले पाए अनुदान

तनहुँ : तनहुँको म्याग्दे गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ मा हल गोरु पाल्ने २७५ कृषकलाई प्रोत्साहन रकम उपलब्ध गराएको छ । पछिल्लो समय गोरु पाल्ने प्रचलन हराउँदै जान थालेपछि प्रतिहलगोरुलाई रु चार हजारका दरले कृषकलाई प्रोत्साहन रकम उपलब्ध गराएको हो ।

कृषकलाई प्रोत्साहन गर्न अनुदान कार्यक्रम राखिएको गाउँपालिकाका पशु सेवा उपशाखाका पशु विकास अधिकृत मुक्ति राम पौडेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “गाउँपालिका मातहत रहेका सात वटा वडा कार्यालयमध्ये यस गत आवमा १ देखि ४ नम्बर वडाका उक्त सङ्ख्याका हलगोरु पाल्ने कृषकलाई अनुदान दिएका हौँ, अनुदानमा रु ११ लाख खर्च भएको छ ।” उहाँका अनुसार आव २०८२/८३ का लागि ५ देखि ७ नम्बर गरी तीन वडाका कम्तीमा ४०० हलगोरु पाल्ने कृषकलाई अनुदान दिइने योजना रहेकाले सोहीअनुरूप बजेट समेत विनियोजन गरिएको छ ।

गाउँपालिकाले सातवटै वडाका कृषकलाई प्रोत्साहनस्वरूप अनुदान दिँदै आएको छ । गोरु पाल्ने कृषकलाई बर्सेनि नदिई एक/एक वर्षको अन्तरालमा अनुदान दिइने गरिएको छ । गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले गोरु पाल्ने प्रचलन घट्दै जाँदा खेतबारी बाँझो हुन थालेपछि जग्गा बाँझो हुन नदिन यस किसिमको कार्यक्रम ल्याइएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “प्रोत्साहन रकमले हलगोरु पाल्ने कृषकको सङ्ख्या बढ्दै गएको छ, गोरु पाल्ने क्रम बढेसँगै खेतबारी बाँझो राख्ने पराम्परा पनि हट्दै गएको छ, कार्यक्रम प्रभावकारी समेत बन्दै गएको छ ।”

गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले गोरुको प्रोत्साहनका लागि उपलब्ध गराइएको रकम गोरुको पोषणका लागि खर्च गर्न कृषकलाई सुझाव दिने गरिएको बताउनुभयो । यसरी अनुदान पाउने कृषकका गोठमा स्थलगत अनुगमन गरी गोरुलाई ‘ट्यागिङ’ गर्ने गरिएको सो गाउँपालिकाले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker