माघ १६ गते सातौं खुल्ला व्यास नगर अल्ट्रा म्याराथन गरिने
भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको व्यास नगरपालिकाले आगामि माघ १६ गते सातौं खुल्ला व्यास नगर अल्ट्रा म्याराथन-२०८० प्रतियोगिता गर्ने भएको छ । खेलकुदको माध्यमबाट पर्यटकीय क्षेत्रको प्रचारप्रसार तथा प्रवर्द्धन गर्ने उद्देश्यका साथ नगरपालिकाले अल्ट्रा म्याराथन प्रतियोगिता गर्दै आएको छ ।
नगरपालिकाले मंगलबार पत्रकार सम्मेलन गरी व्यास-५ मानहुँकोट र व्यास-८ शहीद गाउँ पुलिमराङको प्राकृतिक, संस्कृतिक र पर्यटनलाई खेलकुदसंग जोड्दै प्रवर्द्धन गर्ने गरी शहिद दिवसका दिन म्याराथन प्रतियोगिता सञ्चालन गर्ने जानकारी गराएको छ ।
शहीदहरुको सम्झनाका साथै मगरको गाउँ मानुङ र गुरुङको गाउँ पुलिमराङलाई जोड्नका लागि अल्ट्रा म्याराथनले सहयोग पुर्याएको नगरप्रमुख बैकुण्ठ न्यौपानेले बताए । उनले भने, ‘खेलकुदको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित गरिएको म्याराथन प्रभावकारी भएको छ । म्याराथनको माध्यमबाट मानहुँकोट र पुलिमराङमा पर्यटन प्रवर्द्धनका साथै विकासका बजेट समेत विनियोजन हुने गरेका छन् ।’
करिव ४४ किमी दूरीको म्याराथन मानहुँकोट सिद्ध मार्ग हुँदै अलैंचे-चापाघाट पृथ्वीराजमार्ग हुँदै दुर्गा मन्दिर-अनसन चौतारी-सफासडक-भोर्लेटार चोक व्यास मार्ग हुँदै बैरेनी कुमालटारी-दुम्सी खहरे-कलेस्ती-बोटेटार-पाथ्रा-सत्रसय-कालिकामार्ग हुँदै बानिया हिडी-बर्लाची-सोतीबेसी-बगुवा रिस्ती-बाहुन पोखरा गाडापानी हुँदै पुलिमराङमा पुगेर सकिने छ ।
प्रतियोगितामा देशभरिबाट करिव ५० जना धावकको सहभागिता रहने अनुमान गरिएको छ । प्रतियोगितामा प्रथमलाई ८५ हजार ८० रुपैयाँ, द्धितीयलाई ६५ हजार ८० रुपैयाँ र तेश्रो हुनेलाई ५५ हजार ८० रुपैयाँ पुरस्कार प्रदान गरिने नगर खेलकुद विकास समितिका अध्यक्ष एवं व्यास-८ का वडाध्यक्ष सुरेश थापाले बताए ।
यस्तै, प्रतियोगितमा सान्त्वना हुने ५ जनालाई जनही १६ हजार ८० रुपैयाँ नगद पुरस्कार प्रदान गरिने भएको छ । उनले भने, ‘देशव्यापी रुपमै व्यासको प्रचारप्रचार होस भनि यो वर्ष पनि खुल्ला प्रतियोगिता आयोजना गरिएको छ । प्रतियोगितामा देशैभरबाट प्रतियोगी आउने अपेक्षा गरिएको छ ।’
म्याराथनका लागि ८ वटा चेक पोइन्ट बनाइएको छ । व्यास-४ व्यास रेन्ज पोष्ट, व्यास-१०, पिजन हिल खहरे, व्यास-७ पाथ्रा मन्दिर, व्यास-७ पाताल सत्रसय, व्यास-८ रिस्ति सोतिवेशी, व्यास-८ वडा कार्यालय, व्यास-८ गाडापानी र व्यास-८ पुलिमराङ गरी ८ वटा चेक पोइन्ट बनाइएको नगरपालिकाले जनाएको छ ।










