तिहारमा तनहुँका विभिन्न स्थानमा ८ सवारी दुर्घटनामा दुई दर्जनभन्दा बढी घाइते

तनहुँ जिल्लाका विभिन्न स्थानमा विहीवार दिनभर सवारी दुर्घटनाका श्रृंखलाबद्ध घटनाहरू भएका छन् । दिनभरका यी दुर्घटनामा दुई दर्जनभन्दा बढी व्यक्ति घाइते भएका छन् । केहीको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

डुम्रेमा मोटरसाइकल दुर्घटना

बिहान करिब ६:४५ बजेको समयमा व्यास नगरपालिका–१२ छिर्कनस्थित पृथ्वीराजमार्गमा डुम्रेबाट दमौलीतर्फ जाँदै गरेको ग ५ प ७९०७ नम्बरको मोटरसाइकल सडकको डिभाइडरमा ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा आँबुखैरेनी गाउँपालिका–४ का ३३ वर्षीय आशिष गुरुङ घाइते भएका छन् । उनको बाँया खुट्टामा चोट लागेको छ र अवस्थामध्यम रहेको प्रहरीले जनाएको छ ।

बेलचौतारामा दुई मोटरसाइकल ठोक्किँदा दुई घाइते
बिहान करिब १०:३० बजे शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित पृथ्वीराजमार्गमा बा.प्र.०२–०५७ प २६९२ र ग ९ प ७९१८ नम्बरका दुई मोटरसाइकल ठोक्किँदा चालक सुनिल श्रेष्ठ र पछाडि सवार कमल श्रेष्ठ घाइते भएका छन् । दुवैको हातमा चोट लागेको र अवस्था मध्यम रहेको बताइएको छ ।

थर्पुमा बस दुर्घटना, १२ जना घाइते

म्याग्दे गाउँपालिका–१ गुणादीमा बिहान १०:५० बजे थर्पुबाट दमौलीतर्फ जाँदै गरेको ग १ ख ९३०१ नम्बरको यात्रुबाहक बस सडकको डिभाइडरमा ठोक्किँदा १२ जना घाइते भएका छन् ।

घाइतेमध्ये रमेश आचार्य, रनबहादुर थापा, पशुपतीनाथ घिमिरे, नरबहादुर माकिमलगायतका यात्रुहरूको अवस्था मध्यम रहेको छ । उनीहरूलाई प्रदेश अस्पताल दमौलीमा उपचारका लागि पठाइएको छ ।

आँबुखैरेनीमा दुई छुट्टाछुट्टै स्कुटर दुर्घटना

आँबुखैरेनी गाउँपालिका–१ बरादीमा साँझ ५ बजे स्कुटर (ग.२१ प.३०७६) पोलमा ठोक्किँदा चालक राजकुमार दराई र सुकमाया दराई घाइते भएका छन् । दुबैको अवस्था मध्यम रहेको र थप उपचारका लागि भरतपुर रिफर गरिएको प्रहरीले जनाएको छ ।

त्यस्तै साँझ ६:३० बजे आँबुखैरेनी गाउँपालिका–१ एक्लेफाँटमा मोटरसाइकलले पैदलयात्री प्रेम परियारलाई ठक्कर दिँदा घाइते भएका छन् । उनलाई पनि थप उपचारका लागि भरतपुरस्थित सीएमसी अस्पताल लगिएको हो ।

दुलेगौंडामा कारले पैदलयात्री ठक्कर

साँझ ६:५० बजे शुक्लागण्डकी नगरपालिका–४ दुलेगौंडास्थित पृथ्वीराजमार्गमा पोखरातर्फ जाँदै गरेको ग २ च ७९७१ नम्बरको कारले बाटो क्रस गर्ने क्रममा पैदलयात्री अप्सरा श्रेष्ठ (३०) र उनका छोरा समिर श्रेष्ठ (११) लाई ठक्कर दिएको छ । दुबैको टाउको र खुट्टामा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

भिमाद र बन्दीपुरमा पनि दुर्घटना

भिमाद नगरपालिका–५ ऋषिङपाटनमा साँझ ७ बजे मो.सा. दुर्घटनामा २५ वर्षीय अमृत परियार घाइते भएका छन् ।
त्यस्तै साँझ ७:४५ बजे बन्दीपुर गाउँपालिका–१ टिप्लेमा स्कुटर दुर्घटनामा सुरेशकुमार राई र सोनम थापा घाइते भएका छन् । दुबैलाई डुम्रे मोती अस्पतालबाट भरतपुर रिफर गरिएको छ ।

भानुमा कौडा खेल्दै गरेको पाँचजनालाई नियन्त्रणमा

यता भानु नगरपालिका–४ सेपाबगैचास्थित विष्णुमान श्रेष्ठको घरमा राति ११ बजे हारजित हुने गरी कौडा खेलिरहेका पाँचजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरूसँगबाट १ सेट (१६ वटा) कौडा र नगद रु.२५ हजार १४५ रुपैयाँ बरामद भएको प्रहरीको भनाइ छ । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय भानुले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker