ग्रामीण पर्यटन प्रवर्द्धन गर्न मिछुर्लुङमा दृश्यावलोकन स्तम्भ

ग्रामीण पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित तनहुँको भिमाद नगरपालिका–५ स्थित मिछुर्लुङमा दृश्यावलोकन स्तम्भ (भ्युटावर) निर्माण गरिएको छ ।
देश तथा विदेशमा रहेका नेपालीबाट सङ्कलन गरिएको रकमबाट दृश्यावलोकन स्तम्भ निर्माण सम्पन्न भएको हो । गत मङ्सिर २१ गते दृश्यावलोकन स्तम्भको शिलान्यास गरिएको थियो ।
मिछुर्लङमा जन्मेर हाल बेलायतमा रहनुभएका महेन्द्र आलेको परिकल्पनामा दृश्यावलोकन स्तम्भ निर्माण गरिएको हो । यसका लागि उहाँकै सक्रियतामा रु ३० लाख सङ्कलन भएको थियो ।
“गाउँको विकासका लागि केही गरौं भन्ने भावनासहित विदेशमा रकम सङ्कलन अभियान चलाएको थिएँ, गाउँमा आन्तरिक पर्यटक भित्र्याउने मुख्य लक्ष्य हो”, उहाँले भन्नुभयो, “ग्रामीण पर्यटनको माध्यमबाट स्थानीयवासीको आयआर्जन वृद्धिका लागि पनि स्तम्भ सहयोगी हुनेछ ।”
कूल रु ३८ लाख चार हजार ९०० को लागतमा दृश्यावलोकन स्तम्भ निर्माण गरिएको मिछुर्लुङ क्षेत्र विकास तथा भ्युटावर निर्माण समितिका अध्यक्ष नरेन्द्र थापाले जानकारी दिनुभयो । मिर्छुलुङ गाउँमा सञ्चालित घरवासको प्रवद्र्धनका लागि स्तम्भले सहयोग पुग्ने विश्वास लिइएको छ । “विगत केही वर्षदेखि यहाँ घरवास सञ्चालनमा छ, तर घरवासको प्रचारप्रसार हुन नसक्दा पर्यटकको चहलपहल हुन सकिरहेको छैन”, उहाँले भन्नुभयो, “स्तम्भ निर्माणपछि घरवासको पनि प्रवद्र्धन हुनेमा विश्वस्त छौँ ।”
मगर समुदायको कौरा, झ्याउरे, अर्गानिक परिकार मिर्छुलुङ घरवासको विशेषता हो । प्राकृतिक सौन्दर्यताले भरिपूर्ण मिर्छुलुङमा झरना पनि छ । उक्त झरनामा एकपटक क्यानोनिङसमेत सञ्चालन गरिसकिएको छ । कोभिड–१९ को सङ्क्रमणका कारण दुई वर्ष घरवास प्रभावित बनेको थियो । अब कोभिडको जोखिम नरहेकाले घरवासमा पर्यटकको चहलपहल हुने अध्यक्ष थापाले बताउनुभयो ।
दृश्यावलोकन स्तम्भको उद्घाटन गर्दै भिमाद नगरपालिकाका प्रमुख दधिराज सुवेदीले यसले मिर्छुलुङको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताउनुभयो । “गाउँमा होमस्टे सञ्चालन छ, होमस्टेमा आउने पर्यटकलाई भ्युटावरबाट प्राकृतिक दृश्यावलोकन गराउन सके यहाँको थप प्रवद्र्धन हुन्छ”, उहाँले भन्नुभयो । पर्यटन प्रवद्र्धन गरी स्थानीयको आयआर्जनमा वृद्धि हुन सके मात्र भ्युटावर निर्माणको औचित्य रहेको उहाँले बताउनुभयो ।










