भानुको सार्वजनिक सुनुवाई : शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई प्राथमिकता दिन सहभागिको जोड

भञ्ज्याङ न्यूज

तनहुँको भानु नगरपालिकाले २०७९/०८० को कार्य प्रगति तथा विविध गतिविधिका सम्बन्धमा सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ । आदिकवि भानुभक्त जन्मस्थल विकास समिति चुँदी रम्घाको सभाहलमा गरिएको उक्त कार्यक्रमका सहभागिहरुले शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राखी लगानी बढाउनु पर्नेमा जोड दिएका छन् ।

सहभागिहरुले नगरका दुबै अस्पताल (पुरनडिही र कालीमाटी) बाट २४ सै घण्टा सेवा प्रदान गर्नुपर्ने, समयमा काम नगर्ने ठेकेदारलाई कारवाही गर्नुपर्ने, भौगोलिक विकटता र दुरीका आधारमा लागत फरकफरक कायम गर्नुपर्ने, जनप्रतिनिधि स्वयंले निर्माण कार्यको ठेक्का लिन वा उपभोक्ता समितिमा बस्न नहुने, अघिल्लो कार्यकालमा शुरू भएका कार्यक्रमले यसपाली पनि निरन्तरता पाउनुपर्ने विषयमा जोड दिएका छन् ।

यस्तै, बजेट बनाउँदा चालू खर्चमा न्युनीकरण गर्दै पुँजीगत खर्च क्रमशः वृद्धि गर्दै लैजानु पर्ने, सुरक्षा खतरामा रहेका भानुका ४ वटा झोलुङ्गे पुलको यथाशीघ्र मर्मत र जीर्णोद्वार गरिनुपर्ने, सार्वजनिक सुनुवाइ कार्यक्रम वर्षा कम्तिमा ३ पटक -चौमासिक रूपमा) गरिनुपर्ने, उपभोक्ता समितिका पदाधिकारीलाई तालिम दिइनुपर्ने, हरेक कार्यालय तथा विद्यालयहरूमा विद्युतीय हाजिरी प्रयोगमा ल्याई शिक्षकर्/कर्मचारीको उपस्थितिलाई समयवद्ध र अद्यावधिक गरिनुपर्ने सहभागिहरुले सुझाएका छन् ।

सार्वजनिक सुनवाईमा सहभागिहरुले हरेक कार्यक्रममा भएको खर्च कार्यक्रम सकिने बित्तिकै सार्वजनिक गर्ने प्रणालीको विकास गरिनु पर्ने, कृषि, पशुपंक्षी, मल, विऊ, उपकरण जस्ता नगद तथा बस्तुगत अनुदान पहुँचवाला वर्गले नभई वास्तविक किसान र लक्षीत वर्गले पाउने सुनिश्चितता गरिनुपर्ने, आव २०७४/०७५ देखि हालसम्म बितरण गरिएका सबै अनुदानको विवरण र्सार्वजनिक गरिनुपर्ने, वडा कार्यालयहरूमा जाने प्रशासनिक खर्च घटाउनु पर्ने, सडक जग्गाको लगत कट्टा गरी पिडितलाई राहत दिनुपर्ने माग गरेका छन् ।

यस्तै, नगरपालिकाको प्रशासनिक केन्द्रको तत्काल टुङ्गो लगाउनुपर्ने, जग्गा बर्गीकरण, सुकुम्बासी र अव्यवस्थित बसोवासीको समस्या समाधान गर्ने प्रक्रिया अघि बढेको, फोहरमैला व्यवस्थापन, विपद व्यवस्थापन, जेसिवी खरिद जस्ता भएका राम्रा कामको निरन्तरता दिनुपर्ने, भाषा, साहित्य र पर्यटनमा पर्याप्त बजेट विनियोजन गरिनुपर्ने, नपाका किसानले उत्पादन गरेको कृषि उपज नगरपालिकाले नै खरिद गरिदिने परिपाटीको विकास गरिनुपर्नेमा सहभागिले जोड दिएका छन् ।

योजना निर्माण, आवेदन तथा फरकफरक गर्दा अनलाइनबाटै गर्ने परिपाटी विकास गरिनुपर्ने, नपाले आफ्नो आन्तरिक खरीद नियमावली निर्माण गरिनुपर्ने, नपाको डोजर कार्यविधि बनाएर व्यवस्थित र पारदर्शी रूपमा प्रयोग गरिनुपर्ने, नगरपालिकाले आफ्नो घर बनाउने, राम्रो नीति र कार्यक्रम बनाउने र सुशासन कायम गराउने काम गर्नुपर्ने सहभागिहरुले सुझाएका छन् ।

यस्तै, सूचनाको हक सम्बन्धी ऐन २०६४ को पूर्ण कार्यान्वयन गरिनुपर्ने, अस्पताल र स्वास्थ्य केन्द्रहरूमा नेपाल सरकारले तोके बमोजिमका सबै औषधिहरू उपलब्ध गराउनुपर्ने, दुबै अस्पतालबाट सबै वडाहरूमा घुम्ती स्वास्थ्य सेवा प्रदान गरिनुपर्ने, सबै वडामा कम्तिमा एक-एक नगर गौरवका योजना सञ्चालन गरिनुपर्ने, नगरले निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्नुपर्ने, बजार अनुगमनको कार्यलाई सघन बनाइनुपर्ने र प्रत्येक पसलमा अनिवार्य मूल्यसूची राख्नुपर्ने, बजार सरसफाइको मिति र समय सहितको तालिका जनतालाई जानकारी गराउनु पर्ने, नगरका विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य वीमा गरिदिनु पर्ने लगायतका माग सहभागिहरुले गरेका छन् ।

भानु नगरपालिकाका क्रियाशिल राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि, जनप्रतिनिधि, सर्वसाधारण नागरिक तथा कर्मचारीहरुको सहभागिता रहेको कार्यक्रममा सहभागिहरुले उठाएका प्रश्न र जिज्ञासाका विषयमा नगर प्रमुख आनन्दराज त्रिपाठी, प्रमुख प्रशासकीय अधिकृत दिबाकर पौडेल, विषयगत शाखाका शाखा प्रमुखले सहजिकरण गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker