भानुको तुरतुरे क्षेत्रका व्यापार व्यवसायको अनुगमन
भञ्ज्याङ समाचारदाता/भानु

तनहुँको भानु नगरपालिकाले बजार क्षेत्रका व्यापार व्यवसायको अनुगमन कार्यलाई निरन्तरता दिएको छ । नगरपालिकाले सोमबार वडा नं. ३ को तुरतुरे र चाम्बास क्षेत्रमा अनुगमन गरेको छ ।
बजारमा हुन सक्ने कालोबजारी, अखाद्य वस्तुको बिक्री वितरण, मापदण्ड विपरित दर्ता बिनाका ब्यवसाय, सरसफाईको अवस्था लगायतका विषयमा अनुगमन गरिएको भानु नगरपालिकाका उपप्रमुख एवं अनुगमन समिति संयोजक उमा गोतामेले बताइन ।
नियम विपरीत व्यवसाय गर्ने, कालोबजारीलाई नियन्त्रण गर्ने कार्य अन्तर्गत बजार क्षेत्रमा अनुगमन कार्यलाई निरन्तरता दिइएको प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेलले बताए । भानु नगरपालिका अन्तर्गतका मुख्य बजारहरु भन्सार, तुरतुरे, बाइसजंगार, चन्द्रावती लगायतका बजार क्षेत्रमा चाडबाडमा मात्र नभई अन्य कुनै पनि समयमा अनुगमनलाई निरन्तरता दिइने उनले बताए ।

अनुगमनका क्रममा किराना पसल, होटल, खाजाघर, माछामासु पसल लगायतको पसलहरुको अनुगमन गरिएको थियो । म्याद सकिएको अखाद्यबस्तु, ब्यवसाय दर्ता नगरि संचालन गरेको, मूल्यसुची टाँस नगरिएको, सरसफाईको कमि लगायतको कैफियत देखिएको उपभोक्ता हित संरक्षण समिति भानुका संयोजक एवं योजना शाखाका अधिकृत युवराज ज्ञवलीले बताए ।
अनुगमनका क्रममा व्यवसाय दर्ता नगर्नेका लागि तत्काल व्यवसाय दर्ता गरी संचालन गर्न, मूल्यसूची उपभोक्ताले देखिने गरी राख्न, सरसफाईमा ध्यान दिन निर्देशन दिइएको उनले बताए ।










