पोखराको दिगो पर्यटन विकासमा एडीबीको ७ अर्ब अनुदान

पोखरा । एसियाली विकास बैंक (एडीबी) ले पोखराको पर्यटन विकासमा ७ अर्ब रुपैयाँ भन्दा बढी लगानी गर्दैछ । दिगो पर्यटन विकास परियोजना अन्तर्गत विभिन्न १५ वटा योजना कार्यान्वयनका लागि एडीबीले पोखरा महानगरपालिकालाई ७ अर्ब रुपैयाँ अनुदान दिएको हो ।

१५ परियोजनामध्ये ७ वटा कार्यान्वयन प्रक्रियामा गएका छन् भने अन्य योजना टुंगो लाग्न बाँकी छ । यिनै परियोजनाका विषयमा एडीबीका कार्यकारी निर्देशक वान फरिसन बिन वान सुलेमान नेतृत्वको टोली र पोखरा महानगरका मेयर धनराज आचार्यबीच शनिबार भेटवार्ता भएको छ ।

एडीबीले चलाएको परियोजनामा एडीबीको ७५ प्रतिशत लगानी रहनेछ भने २५ प्रतिशत नगर विकास कोष (टीडीएफ) र पोखरा महानगरपालिकाले सयुंक्त रूपमा लगानी गर्नेछन् ।

तालदेखि ताल जोड्न साइकल ट्रयाक

एडीबीकै सहयोगमा लेक टु लेक (तालदेखि तालसम्म) साइकल ट्र्याक र फेवाताल सुधार परियोजना समेत सञ्चालनको क्रममा छ । परियोजना अनुसार ९ वटा ताल र १८ वटा वडाहरूलाई जोड्ने गरी ८५ किलोमिटर लामो साइकल ट्र्याक निर्माण हुनेछ ।

फेवाताल सुधार परियोजना अन्तर्गत बसाइँ व्यवस्थापन, शौचालय, वाटर फाउन्टेन, वाटर स्प्रिङ प्रोटेक्सन, इन्फरमेसन बोर्ड, डाइरेक्सन बोर्ड, साइकल पार्किङ, सर्भिस पोइन्ट र साइकल स्ट्यान्डहरूको निर्माण गरिने महानगरको भनाइ छ । यसमा ३० लाख ५० हजार (३.०५ मिलियन) अमेरिकी डलर खर्च हुनेछ ।

महानगरका अनुसार एडीबीकै लगानीमा रानीवन इको ट्रेल र फेवाताल सुधार परियोजना अन्तर्गत ड्यामसाइडबाट रानीवनलाई सीसाको पुलले जोड्ने, शान्ति स्तूप र फेवातालको परिधिलाई एकीकृत रूपमा जोड्दै रानीवनबाट इको ट्रेल विकास गरिनेछ ।

एडीबीको टोलीलाई मायाको चिनो प्रदान गर्दै पोखराका मेयर धनराज आचार्य ।

‘इको रुटमा विश्राम स्थल, शौचालय, धारा, मन्दिर जीर्णोद्वार, सूचना बोर्ड लगायत सार्वजनिक सुविधाहरू समावेश हुनेछन्’, मेयर धनराज आचार्यले भने, ‘यसमा ५६ लाख ३० हजार (५.६३ मिलियन) अमेरिकी डलर खर्च हुनेछन् ।’

त्यस्तै परियोजनाअन्तर्गत नै शान्ति वन वाटिका बोटानिकल गार्डेन निर्माण हुनेछ । उक्त योजनाअनुसार पार्कमा जडीबुटी बगैंचा, पैदल मार्ग, टिकट काउन्टर, विश्रामस्थल, पिकनिक सेड, ध्यान केन्द्र, कम्पाउन्ड वाल, फेन्सिङ, एप्रोच रोड लगायत निर्माण हुनेछ ।

सम्पदा संरक्षणमा पनि एडीबीको सहयोग

त्यस्तै एडीबीकै अर्को परियोजनाले पोखराका पुराना सम्पदाको संरक्षणलाई जोड दिएको छ । हाल पोखरा वडा नम्बर २, ३, ४ मा रहेका पुराना शैलीका कलात्मक भवन तथा मन्दिरहरूको संरक्षणका लागि यो परियोजना लागू गरिने महानगरले जनाएको छ ।

रामकृष्ण टोललाई पोखरा हेरिटेज साइटका रूपमा विकास गर्दै एक प्रमुख पर्यटकीय गन्तव्य स्थलका रूपमा विकास गरिने उक्त परियोजनाको योजना छ । ‘यसले पुरानो पोखराको सहरी पुनरुत्थान सहित सिद्धार्थचोकदेखि विन्ध्यवासिनीसम्म १.५ किलोमिटर सडकको स्तरोन्नति र फुटपाथ निर्माण गर्नेछ’, महानगरले भनेको छ । यसका लागि एडिबीले १९ लाख ८० हजार (१.९८ मिलियन) अमेरिकी डलर खर्च गर्नेछ ।

एडीबीले शहीद चोक–तीनकुने–राधाकृष्ण मार्ग–एसओएस–घले चोक–हरियो खर्क–पीआईए ८.८ किलोमिटर सडक सुधार योजनालाई अन्तिम रूप दिइएको छ । यसका लागि ५३ लाख ४० हजार (५.३४ मिलियन) अमेरिकी डलर खर्च हुनेछ ।

पञ्चासे पारिस्थितिक विकास र पहुँच परियोजना अन्तर्गत दमदमेदेखि भञ्ज्याङसम्मको १३ किलोमिटर सडक कालोपत्रे, भञ्ज्याङदेखि पञ्चासेसम्म बाटोको स्तरोन्नति, सुविधासहितका सर्भिस प्वाइन्टहरू स्थापना, विद्यमान होमस्टेको एकीकृत प्रवर्द्धन योजना र गुरुङ संग्रहालयको संरक्षणका लागि ३० लाख ५० हजार (३.०५ मिलियन) अमेरिकी डलर खर्च हुनेछ । पञ्चासे सय भन्दा बढी प्रजातिका अर्किड र पोखरीहरू रहेको एक प्रसिद्ध तीर्थस्थल र संरक्षित वन क्षेत्र हो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि लेकसाइडसम्मको सडक स्तरोन्नतिका लागि २ मिलियन अमेरिकी डलर खर्च गर्नेछ । उक्त योजनाको प्राविधिक, वातावरणीय र आर्थिक सम्भाव्यता प्रतिवेदन तयार भइसकेको मेयर धनराज आचार्यले जानकारी दिए ।

साथै एडीबीले साबिक लेखनाथ नगरपालिकाको कार्यालय रहेको स्थानमा महानगरस्तरीय विपद् व्यवस्थापन केन्द्र स्थापना गर्न १ मिलियन अमेरिकी डलर, पोखरा–३२ मा पोखरा प्रवेश पार्क बनाउन ५० लाख (५ मिलियन) अमेरिकी डलर खर्च गर्नेछ । ‘एडीबीका परियोजनाहरू तोकिएकै समयमा सम्पन्न गर्न महानगर प्रतिवद्ध छ’, एडीबी प्रतिनिधिसँग भेटका क्रममा मेयर आचार्यले भने ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker