भञ्ज्याङ दैनिकको ११ वर्षसम्म प्रकाशित पत्रिकाको ठेली पुस्तकालयलाई हस्तान्तरण एवं स्रष्टा सम्मान
भञ्ज्याङन्यूज

भञ्ज्याङ पब्लिकेशन प्रा.लि.द्वारा प्रकाशित भञ्ज्याङ दैनिक पत्रिकाको ११ वर्षभित्र प्रकाशित अंकको ठेली पुस्तकालयलाई हस्तान्तरण गरिएको छ । दमौली स्थित आदिकवि भानुभक्त क्याम्पसको पुस्तकालयलाई १६औं राष्ट्रिय पुस्तकालय दिवस २०८० का अवसरमा पत्रिकाको ठेली हस्तान्तरण गरिएको हो ।
वि.सं. २०३९ सालमा कास्कीको पोखराबाट साप्ताहिक रुपमा प्रकाशन सुरु भएको भञ्ज्याङ वि.सं. २०५९ साल असार २४ गतेदेखि तनहुँको दमौलीबाट दैनिक रुपमा प्रकाशित हुँदै आएको छ ।
पत्रिकाका प्रकाशक/सम्पादक नारायण खड्काले पुस्तकालय दिवसका अवसरमा आयोजित एक कार्यक्रमका बीच आर्थिक वर्ष २०६९/०७० देखि आर्थिक वर्ष २०७९/०८० सम्मा प्रकाशित अंकको वार्षिक रुपमा तयार गरिएको ११ वटा पत्रिकाको ठेली क्याम्पसको पुस्तकालयका लागि हस्तान्तरण गरेका हुन् ।
गण्डकी प्रदेश सभा सदस्य अशोक कुमार श्रेष्ठ, व्यास ऋषिका अध्ययता एवं कृष्ण द्वैपायन सत् संघका प्रमुख संरक्षक काशीनाथ न्यौपाने, क्याम्पस सञ्चालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठ, क्याम्पस प्रमुख महाप्रसाद हड्खले, क्याम्पसको पुस्ताकालय सल्लाहकार समितिका संयोजक लक्ष्मीभक्त खनाल मार्फ सम्पादक खड्काले पत्रिकाको ठेली र एक दर्जन अन्य किताबहरु हस्तान्तरण गरेका थिए ।
पत्रिकाको ठेली तथा पुस्तक हस्तान्तरण गर्दै सम्पादक खड्काले पछिल्ला समयमा पठन संस्कृति हराउँदै गइरहेका अवस्थामा क्याम्पसले अबका नयाँ पुस्तालाई प्रविधिसंगै पुस्तकहरु समेत पढ्ने बानीको विकास गर्न प्रेरित गर्नुपर्ने बताए ।
‘पत्रिकाको ठेलीमा रहेका सामाग्रिले क्याम्पसका प्राध्यापक तथा विद्यार्थीहरुलाई विगत र वर्तमानको समाज बुझ्न र खोज अनुसन्धान गर्न सहयोग पुग्ने विश्वास गरेको छु’, उनले भने, ‘पछिल्लो समय पत्रपत्रिका, पुस्तक पढ्ने संस्कृति हराउँदै गएपनि पुस्तकको महत्व नासिन नसक्ने हुँदा क्याम्पसको पुस्तकालयलाई दैनिक रुपमा प्रकाशित पत्रिकाका अंकहरु संकलन गरी ठेली (पुस्तक) तयार गरी उपलब्ध गराइएको हो ।’
यस्तै, पत्रिकाका ठेली र पुस्तक ग्रहण गर्दै क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले परम्परागत आधारमा हेर्दा पुस्तकालय ज्ञान प्राप्तिको एक साझा घर भएको र जहाँ कुनै भेद्भाव नभई सबै पाठक बराबर हुने चर्चा गरे । उनले भने, ‘इतिहासलाई संरक्षण र सम्बर्द्धन गर्ने संगमस्थल तथा जनताका विश्वविद्यालयका रुपमा पनि पुस्तकालयलाई लिन सकिन्छ । सूचना र प्रविधिको व्यापकतासँगै परम्परागत पुस्तकालयसँगै विद्युतीय (डिजिटल) पुस्तकालयको प्रयोग र आवश्यकता पनि बढ्दो छ ।’
स्रष्टा सम्मान
यस्तै, आदिकवि भानुभक्त क्याम्पसको पुस्तकालय सल्लाहकार समिति र क्याम्पसको नेपाली विभागले पुस्तकालय दिवसका अवसरमा स्रष्टा सम्मान एवं पुस्तक हस्तान्तरण कार्यक्रम गरेको छ ।
क्याम्पसमा शुक्रबार बिहान आयोजित स्रष्टा सम्मान कार्यक्रममा क्याम्पसका सह-प्राध्यापक एवं साहित्यकार नारायण प्रसाद गौतमलाई दोसल्ला ओढाइ सम्मानपत्रद्वारा सम्मान गरिएको थियो ।
गण्डकी प्रदेश सभा सदस्य अशोक कुमार श्रेष्ठ, व्यास ऋषिका अध्ययता एवं कृष्ण द्वैपायन सत् संघका प्रमुख संरक्षक काशीनाथ न्यौपाने, क्याम्पस सञ्चालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठ, क्याम्पस प्रमुख महाप्रसाद हड्खले, क्याम्पसको पुस्ताकालय सल्लाहकार समितिका संयोजक लक्ष्मीभक्त खनाल, क्याम्पसको नेपाली विभाग तथा विद्यार्थीहरुले सह-प्राध्यापक गौतमलाई सम्मान गर्दै शुभकामना व्यक्त गरेका थिए ।
यस्तै, १६औं राष्ट्रिय पुस्तकालय दिवसका अवसरमा क्याम्पसको पुस्तकालय सल्लाहकार समितिले पुस्तक संकलन अभियान समेत सञ्चालन गरेको थियो । पाठकहरुद्वारा आफूलाई मन परेको, पढेर प्रभावित भएको वा उत्कृष्ट विचार वा ज्ञान प्रस्तुत भएको भन्ने सुनेको मानव जीवन, जगत, भाषा, साहित्य, संस्कृति, दर्शन, धर्म, विचार जस्ता कुनै पनि विषयमा लेखिएका कम्तिमा एउटा पुस्तक आफ्नो सौजन्यमा प्रदान गरी “ज्ञान विस्तारमा योगदान गर्न र पुण्य कमाउँन” आव्हान गरी पुस्तक संकलन गरिएको समितिका संयोजक लक्ष्मीभक्त खनाले बताए ।