ऋषि पञ्चमी अर्थात ऋषिको पूजा गरी हरितालिका तीज पर्व सम्पन्न

ऋषि पञ्चमी पर्वका अवसरमा महिलाहरुले ऋषिको पूजा आरधना गरी मनाएका छन् । ऋषि पञ्चमी पूजा, दतिवन लगायतका कार्य गरी महिलाहरुले यस वर्षो हरितालिका तीज पर्व सम्पन्न गरेका छन् ।

ब्रह्माण्ड पुराण अनुसार भाद्र शुक्ल पक्षको पञ्चमी तिथिलाई ऋषि पञ्चमी भनिन्छ । पौराणिक कथा अनुसार चतुर्थीयुक्त पञ्चमी तिथि ऋषि पञ्चमीको लागि योग्य मानिन्छ ।

हामीलाई लाग्न सक्छ महिलाहरुले मात्र किन ऋषि पञ्चमी मनाउने वा ऋषिको पूजा गर्ने । तर, पुरुषहरू पनि ऋषिको पूजा आराधना गर्ने प्रचलन छ ।

त्यो भनेको श्रावण शुक्ल पूर्णिमाका दिन ऋषिहरूलाई खुशी बनाएर उहाँहरुलाई तर्पण दिएर जनै फेर्ने अनुष्ठान । अर्थात जनै पूर्णिमा वा ऋषि तर्पणी । ऋषिहरूलाई तर्पण दिने कारण त्यस दिनलाई ऋषि तर्पणी भनिएको हो ।

ऋषि पञ्चमी

पुरुषहरूले ऋषि तर्पणीका अघिल्लो दिन एक छाक खाएर शुद्ध भएर भोलिपल्ट जनै फेरेर ऋषिहरूलाई तर्पण दिएर आफू शुद्ध र पवित्र भएजस्तै महिलाहरुले आफू शुद्धि हुने दिनको रुपमा लिइन्छ ऋषि पञ्चमीलाई ।

नारीहरूको पनि आफ्नो कुनै किसिमको दोष छन् त्रुटि छन्, शारीरिक असुविस्ता तथा अपवित्रता भएका छन् भने ऋषिहरूको पूजा गरेर त्यसलाई शुद्धीकरण गर्ने गरिन्छ ऋषि पञ्चमीका दिन । ​ऋषीपञ्चमीमा शारीरिक, मानसिक र आत्मिक सबै किसिमका शुद्धि हुन्छन महिलाहरुको ।

वर्ष दिनसम्म हामीले के-के गल्ती गर्छौं त्यसमा ऋषिहरूले हामीलाई माफ गरिदिनुहुन्छ भन्ने मान्यता समेत रहेको छ ।

दतिवन र यसको महत्त्व

त्यस दिन उहाँहरुको नुहाउने प्रक्रिया पनि विशेष छ । र अपामार्गले दतिवन गर्ने अर्थात दन्त धावन गर्ने गरिन्छ ।

अपामार्गलाई वेद, धर्मशास्त्र तथा आयुर्वेदले पनि यस्तो चिज मानेका छन् कि रोग नास गर्नलाई सबैभन्दा माथि, सबैभन्दा शक्तिशाली तथा क्षमता राख्ने कुनै वनस्पति छ भने त्यो अपामार्ग भनिएको छ।
शरीर कमजोर छ, मस्तिष्क कमजोर छ, दुस्वप्न छ भने अपामार्गको बियाँ जस्तो जुन भाग हुन्छ त्यसलाई भुटेर परिकारको रुपमा सेवन गर्ने गर्दा त्यसले ठीक बनाउँछ ।

प्राचीन पद्धतिमा अपामार्गले सबैभन्दा छिटो घाउ निको बनाउँछ भनेर उल्लेख गरिएको छ । संस्कृतमा यसलाई किडिहिं भनिन्छ ।

यो शब्दको उल्लेख अमर कोषमा पनि भएको होला । हुन त यसको प्रयोग अहिले हराएर गइसक्यो । तर, आयुर्वेद तथा जडीबुटीमा यसको बेग्लै महत्त्व छ । अथर्व वेदमा पनि अपामार्गको बारेमा उल्लेख गरिएको छ ।

अथर्व वेदमा अपामार्ग अर्थात दतिवन

अथर्व वेदमा अपामार्ग सूक्त नै छ । किन अथर्व वेदमा एउटा वनस्पति, बिरुवा वा झारलाई यति महत्त्व दिएको छ त उसो भए ।

अपामार्गले मनुष्यका र अरु प्राणीका जति पनि घाउ चोट, रोग, मस्तिष्क शिथिलता अर्थात सुस्त मनस्थितिलाई यसले ठीक बनाउँछ भनेर उल्लेख गरिएको छ ।

अपामार्गको यस किसिमको महत्त्व भएको हुनाले ३६५ दिन नै अपामार्गको दतिवन गर्नु पर्ने हो । तर, समय परिस्थितिले त्यसो गर्न सकिँदैन ।

त्यसकारण यसलाई प्रतिककै रुपमा भएपनि ३६५ दतिवन बनाएर दाँत माझ्ने प्रचलन छ ।

ऋषिका सन्तान

हामी ऋषिका सन्तान हौँ । उहाँहरुले हामीलाई ज्ञान दिनु भएको मानिन्छ । ऋषिहरूले दिएको ज्ञानको बाटोमा हामी हिँडिरहेका पनि छौँ । कति ठीकसँग हिँडियो कति सकिएन त्यो अर्को कुरा हो । ऋषिको आदर्श ज्ञान भनेको अकाट्य ज्ञान हो ।

चाहे पीपलको पूजा गर्ने भन्ने होस, चाहे गाईको सम्पूर्ण अङ्गमा देउता छन् भन्ने होस, चाहे गौमूत्रको कुरा होस वा पञ्चगव्यको कुरा होस वा हाम्रा सूर्य चन्द्रका कुरा हुन् वा अग्निका कुरा हुन्।

यी सबै हामीलाई ऋषिले दिएको ज्ञान हो । त्यसकारण पनि हामी ऋषिप्रति अनुग्रहित भएर ऋषिको पूजा गर्ने प्रचलन भएको हो ।

तीन किसिमको शुद्धि

हामीले आफूलाई तीन किसिमले शुद्ध बनाउनु पर्ने हुन्छ । पहिलो भनेको शारीरिक शुद्धि, दोस्रो मानसिक शुद्धि र अर्को भनेको आत्मिक शुद्धि हो । शारीरिक शुद्धिका लागि स्नान गर्ने परम्परा चलेको हो । मानसिक शुद्धिका लागि धर्म, कर्म जप तथा आत्मिक शुद्धिका लागि तपस्या साधना अनि आराधना ।

यी तीन किसिमका शुद्धि अपनाएर हामी पनि आफ्ना पिता पुर्खा ऋषिको बाटोमा हिँडनु पर्छ भन्नका लागि पनि ऋषि पञ्चमी मनाइन्छ ।

हाम्रा तीन किसिमका ऋण छन् । पितृ ऋण, देव ऋण र ऋषि ऋण । यी सबै ऋणबाट उऋण हुने विधि छन् । त्यसमा ऋषि ऋणबाट उऋण हुनका लागि ऋषिको पूजा, आराधना तथा व्रत गर्ने । ऋषि पञ्चमी यसै मध्येको एक हो ।

ज्ञानको स्रोत ऋषि

केही वेदको अध्ययन गर्दा देखियो, हामीले आयु बढाउन पर्यो भने के गर्ने ? कुनै औषधि खाएर मात्र त आयु बढ्दैन । शक्ति बढाउन के गर्ने ? संसारको सबैभन्दा पहिलो शब्द भनेको अग्नि हो । ऋग्वेदको पहिलो शब्द नै अग्नि हो । अग्नि विणे पुरोहितम ।

अग्निले नै आयु बढ्ने, तेज बढ्ने, मेधा बढ्ने, ज्ञान बढ्ने रहेछ । तर, अग्निको महत्त्व अहिले हराउँदै गएको छ । यी सम्पूर्ण ज्ञान दिने भनेको नै ऋषिहरू हो । त्यसकारण हामीले ऋषिहरूलाई पूजा गरेका हौँ । ऋषिहरूलाई पूजा गर्ने परम्परा प्रचलन भएको हो ।

ऋषि पञ्चमीमा ऋषिहरूको पूजा तथा आराधना उहाँहरुलाई सन्तुष्ट बनाउने एउटा माध्यम हो । जसले आफू स्वयं तथा आफ्नो आत्मालाई सन्तुष्टि मिल्छ भन्ने पनि हो । ऋषिहरूको विशेष आराधना तथा पूजा हुने भएकोले पनि यसको नाम ऋषि पञ्चमी रहन गएको हो ।

कृतज्ञता प्रकट गर्ने

यसदिन सक्नेले मध्याह्नमा पूजा गने, ऋषिहरूलाई कृतज्ञता व्यक्त गर्ने, उहाँहरुले देखाएको बाटोमा सत्मार्गमा हिँड्न सकौँ भनेर प्रेरणा लिने दिन हो । नारीहरूको लागि त अझ यो खास विशेष दिन मानिन्छ ।

यो भनेको तीजदेखि पञ्चमीसम्म जुन हाम्रा समाजलाई जोड्ने पावन पर्व छन् जसले विभिन्न ठाउँमा पुगेका मानिसलाई एक ठाउँमा ल्याउने अनि प्रेम सद्भावना बाँड्ने एउटा अवसर पनि हो ।जसरी अहिले सांस्कृतिक रुपमा तीजको महत्त्वलाई हेरिन्छ त्यस भन्दा केही कम महत्त्व ऋषि पञ्चमीको छैन । एक प्रकारले भन्नुपर्दा त अझ बढी छ ।

ऋषि पञ्चमीले हामीलाई जीवन कसरी शुद्ध, पवित्र बनाएर असल मार्गमा लाग्ने भन्ने प्रेरणा दिन्छ । विभिन्न धार्मिक ग्रन्थमा दान धर्मका बारेमा पनि लेखिएको छ । तर ती कुरा भनेको आफ्नो हैसियत अनुसार गर्ने हो । सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको कुनै पनि पर्व, चाड तिथि त्यसमा भित्रैदेखि श्रद्धासँग सहज ढंगबाट मनाउने गर्नुपर्छ ।

विकृति र विसङ्गति हाम्रो जीवनमा आउन दिनु हुँदैन । त्यसमा हामी जहिले पनि सतर्क नै रहनु पर्छ । यसरी हामीले ऋषि पञ्चमीको धार्मिक, वैज्ञानिक तथा आध्यात्मिक पक्षको महत्त्व बुझेर मनाएका खण्डमा यसले जीवनलाई सही मार्गमा हिँड्न सधैँ प्रेरित गरिरहनेछ ।

साथै यसले हाम्रा चाडपर्व, धर्म, संस्कार, संस्कृति, मूल्य मान्यताका बारेमा बुझेर मनाउँदा यसको महत्त्व स्वयं वृद्धि हुन जानेछ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker