तमु ल्होसार : सामाजिक उत्तरदायित्व र पहिचानसम्म
गल गुरुङ (दिपु)

नेपाल बहुजाति, बहुभाषा र बहुसांस्कृतिक पहिचान भएको मुलुक हो। फरक–फरक समुदायका मौलिक संस्कृति, परम्परा र चाडपर्वहरूले राष्ट्रिय पहिचानलाई गहिराइ र उचाइ दुवै दिएका छन् । यसै सांस्कृतिक बहुलताभित्र गुरुङ (तमु) समुदायको महान पर्व तमु ल्होसार अटेको छ । प्रत्येक वर्ष पुस १५ गते नयाँ वर्षको रुपमा मनाइने तमु ल्होसार केवल एउटा पर्व मात्र होइन, गुरुङ समुदायको ऐतिहासिक चेतना, पहिचान, आत्मसम्मान र सामूहिक एकताको जीवन्त परिचय हो । पुस्तौंदेखि हस्तान्तरण हुँदै आएको यो पर्वले समुदायलाई आफ्नो जरा, इतिहास र अस्तित्वसँग जोड्दै आएको छ ।
परम्परागत रूपमा तमु ल्होसार नाचगान, सांस्कृतिक प्रस्तुति, परम्परागत खानपान, आफन्तजनसँगको भेटघाट र शुभकामना आदान–प्रदानमार्फत मनाइँदै आएको छ । यसले समुदायभित्र आपसी सद्भाव, सामाजिक एकता र भावनात्मक सम्बन्धलाई मजबुत बनाएको छ । ल्होसारका अवसरमा गुरुङ भाषा, भेषभूषा, गीत–संगीत र संस्कार पुनर्जीवित हुने भएकाले यस पर्वले सांस्कृतिक निरन्तरतामा महत्वपूर्ण योगदान पुर्याएको छ ।
समय सधैँ एउटै रहँदैन । समाज परिवर्तनशिल छ । आजको विश्व ज्ञान, प्रविधि र प्रतिस्पर्धाले निर्देशित छ । यस्तो अवस्थामा ल्होसारलाई केवल रमाइलो, भोजभतेर र औपचारिक सांस्कृतिक प्रदर्शनीमै सीमित राख्न हुदैन । आज गुरुङ समुदायले मात्र होइन, समग्र आदिवासी जनजाति समुदायले राज्यसत्तामा आफ्नो अस्तित्व सुरक्षित गर्ने समय आएको छ । अब नाराबाजी, अधिकारको माग गर्दै विरोध गर्ने संस्कृति वा वर्षको एक–दुई दिन हुने सांस्कृतिक कार्यक्रमले मात्र दिगो परिवर्तन सम्भव हुँदैन । सांस्कृतिक प्रदर्शनले पहिचान देखाउन मद्दत गर्छ, तर अधिकार स्वतः प्राप्त हुँदैन । वास्तविक अधिकार त्यहीँबाट प्राप्त हुन्छ जहाँ नीति निर्माण, नियम तर्जुमा र राज्य सञ्चालनका महत्वपूर्ण निर्णयहरू गरिन्छन् । त्यसैले गतिशिल समयले आदिवासी जनजातिहरुको राज्य सत्तामा उपस्थिति खोजिरहेको छ ।
राज्यका नीतिगत तथा कार्यकारी तहसम्म समुदायको अर्थपूर्ण पहुँच नहुँदासम्म अधिकारको कुरा भाषण र कागजमै सीमित हुन्छ । ल्होसार लगायतका संस्कृतिहरु पनि राज्य सत्तामा पहुच नभएसम्म टुँडिखेलमै सिमित रहन्छ । त्यसका लागि समुदायको प्रशासन, शिक्षा, न्याय, राजनीति, योजना निर्माण र निर्णय प्रक्रियामा प्रभावकारी उपस्थिति आवश्यक छ । यस्तो पहुँच आकस्मिक रूपमा प्राप्त हुँदैन। यसको लागि समुदायले शिक्षा, संस्कृति, राजनीति लगायत समाजका अनेकन आयमहरुभित्र मसिनोगरी वहस र काम गर्नै पर्छ । अहिले तमु ल्होसार लगायत जनजातिहरुको मौलिक पर्वहरु टुडिँखेलबाट माथि उठेर राज्य सत्ताको हुन नसक्नुनै वहस/मुद्धको कमिले हो । त्यसैले, एजेण्डामा वहस नहुने ल्होसार टुडिँखेलमै सिमित हुने कुरा पक्का छ ।
हिजोको समाजमा शारीरिक साहस, प्रतिकात्मक शक्ति वा वंशका आधारमा स्थान बनाइन्थ्यो । कुनै बेला दौड जिते पनि राजा बन्न सकिने समय थियो । तर त्यो समय अब इतिहास बनिसकेको छ । आजको युग ज्ञान, दक्षता, सीप, योग्यता र निरन्तर प्रतिस्पर्धाको युग हो । अधिकार अब शारीरिक प्रदर्शनबाट होइन, बौद्धिक क्षमता, संस्थागत पहुँच र नीतिगत सहभागिताबाट प्राप्त हुन्छ ।
यही सन्दर्भमा नयाँ पुस्ताको भूमिका झनै महत्वपूर्ण बन्छ । आजका युवा केवल सांस्कृतिक कार्यक्रममा सहभागी भएर वा सामाजिक सञ्जालमा फोटो पोस्ट गरेर सन्तुष्ट हुने पुस्ता बन्नु हुँदैन । उनीहरू नीति बुझ्ने, प्रश्न गर्ने, नेतृत्व लिन सक्ने र संस्थागत रूपमा अगाडि बढ्ने क्षमता आवश्यक छ । आफनो संस्कृति गर्वका साथ पहिचानको रुपमा बोकेर आधुनिक ज्ञान, प्रविधि र प्रतिस्पर्धामा अघि बढ्नु नै आजको पुस्ताको वास्तविक जिम्मेवारी हो ।
यसै दृष्टिकोणबाट तमु ल्होसारलाई अझ सिर्जनशील, उद्देश्यपूर्ण र रचनात्मक बनाउनुपर्ने आवश्यकता छ । हरेक पर्वको आफ्नै संस्कृतिक पक्ष हुन्छ । त्यसको सांस्कृतिक पक्षलाई अघि बढाउनको लागि मुद्धा चाहिन्छ । यतिबेला ल्होसारले मुद्धा समाउन सकेको छैन । त्यसैले हाम्रो ल्होसार, राज्यसत्तामा कुहिरोभित्र हराएको काग जस्तै बनेको छ । ल्होसारकोे गरिमा थप उचाइमा पुर्याउनुको लागि समुदायको दीर्घकालीन रूपान्तरणको आधार तयार गर्नैपर्छ ।
ल्होसारलाई केवल विगत होइन, भविष्यको दिशा तय गर्ने पर्वको रुपमा हेरिनुपर्छ । त्यसो भयो भने मात्र पर्वहरु प्रगतिशिल वन्न सक्छ । ल्होसार जस्ता पर्वहरुले हाम्रो समाजको भविष्य समेत दिशानिर्देश गर्न सक्नुपर्दछ । ल्होसारले नयाँ पुस्तालाई पहिचान, शिक्षा, चेतना, नेतृत्व र सामाजिक उत्तरदायित्व वहन गराउन सक्यो भने मात्र यसको सार्थकता हुन्छ ।
अन्त्यमा, तमु ल्होसार गुरुङ समुदायको गौरवशाली पहिचान हो। यसलाई नाचगान, खानपिन र रमाइलोमा मात्र सीमित नराखौ पहिचान, शिक्षा, चेतना, पुस्तान्तरण र सामाजिक उत्तरदायित्वसँग जोडेर मनाउन सके मात्र यसको वास्तविक महत्व स्थापित हुन्छ । त्यसको लागि मुद्धा महत्वपूर्ण हुन्छ । पहिचानको मुद्धासँग जोडेर अघि बढे मात्र ल्होसार, ल्होसार जस्तो बन्न सक्छ । होइन भने मुद्धा विनाको ल्होसार टुँडिखेलमै सीमित बन्ने निश्चित छ । निकास नपाएपछि विकृतिको बाटोमा नहिड्ला भन्न सकिदैन । टुँडिखेलको ल्होसार दीर्घकालमा न राज्यको न समुदायको बन्ने खतरा उत्तिकै छ । त्यसैले ल्होसारको बहुआयमिक वहसको अपरिहार्यता नै आजको मुख्य आवश्यकता हो ।










