तमु ल्होसार : सामाजिक उत्तरदायित्व र पहिचानसम्म

गल गुरुङ (दिपु)

नेपाल बहुजाति, बहुभाषा र बहुसांस्कृतिक पहिचान भएको मुलुक हो। फरक–फरक समुदायका मौलिक संस्कृति, परम्परा र चाडपर्वहरूले राष्ट्रिय पहिचानलाई गहिराइ र उचाइ दुवै दिएका छन् । यसै सांस्कृतिक बहुलताभित्र गुरुङ (तमु) समुदायको महान पर्व तमु ल्होसार अटेको छ । प्रत्येक वर्ष पुस १५ गते नयाँ वर्षको रुपमा मनाइने तमु ल्होसार केवल एउटा पर्व मात्र होइन, गुरुङ समुदायको ऐतिहासिक चेतना, पहिचान, आत्मसम्मान र सामूहिक एकताको जीवन्त परिचय हो । पुस्तौंदेखि हस्तान्तरण हुँदै आएको यो पर्वले समुदायलाई आफ्नो जरा, इतिहास र अस्तित्वसँग जोड्दै आएको छ ।

परम्परागत रूपमा तमु ल्होसार नाचगान, सांस्कृतिक प्रस्तुति, परम्परागत खानपान, आफन्तजनसँगको भेटघाट र शुभकामना आदान–प्रदानमार्फत मनाइँदै आएको छ । यसले समुदायभित्र आपसी सद्भाव, सामाजिक एकता र भावनात्मक सम्बन्धलाई मजबुत बनाएको छ । ल्होसारका अवसरमा गुरुङ भाषा, भेषभूषा, गीत–संगीत र संस्कार पुनर्जीवित हुने भएकाले यस पर्वले सांस्कृतिक निरन्तरतामा महत्वपूर्ण योगदान पुर्याएको छ ।

समय सधैँ एउटै रहँदैन । समाज परिवर्तनशिल छ । आजको विश्व ज्ञान, प्रविधि र प्रतिस्पर्धाले निर्देशित छ । यस्तो अवस्थामा ल्होसारलाई केवल रमाइलो, भोजभतेर र औपचारिक सांस्कृतिक प्रदर्शनीमै सीमित राख्न हुदैन । आज गुरुङ समुदायले मात्र होइन, समग्र आदिवासी जनजाति समुदायले राज्यसत्तामा आफ्नो अस्तित्व सुरक्षित गर्ने समय आएको छ । अब नाराबाजी, अधिकारको माग गर्दै विरोध गर्ने संस्कृति वा वर्षको एक–दुई दिन हुने सांस्कृतिक कार्यक्रमले मात्र दिगो परिवर्तन सम्भव हुँदैन । सांस्कृतिक प्रदर्शनले पहिचान देखाउन मद्दत गर्छ, तर अधिकार स्वतः प्राप्त हुँदैन । वास्तविक अधिकार त्यहीँबाट प्राप्त हुन्छ जहाँ नीति निर्माण, नियम तर्जुमा र राज्य सञ्चालनका महत्वपूर्ण निर्णयहरू गरिन्छन् । त्यसैले गतिशिल समयले आदिवासी जनजातिहरुको राज्य सत्तामा उपस्थिति खोजिरहेको छ ।

राज्यका नीतिगत तथा कार्यकारी तहसम्म समुदायको अर्थपूर्ण पहुँच नहुँदासम्म अधिकारको कुरा भाषण र कागजमै सीमित हुन्छ । ल्होसार लगायतका संस्कृतिहरु पनि राज्य सत्तामा पहुच नभएसम्म टुँडिखेलमै सिमित रहन्छ । त्यसका लागि समुदायको प्रशासन, शिक्षा, न्याय, राजनीति, योजना निर्माण र निर्णय प्रक्रियामा प्रभावकारी उपस्थिति आवश्यक छ । यस्तो पहुँच आकस्मिक रूपमा प्राप्त हुँदैन। यसको लागि समुदायले शिक्षा, संस्कृति, राजनीति लगायत समाजका अनेकन आयमहरुभित्र मसिनोगरी वहस र काम गर्नै पर्छ । अहिले तमु ल्होसार लगायत जनजातिहरुको मौलिक पर्वहरु टुडिँखेलबाट माथि उठेर राज्य सत्ताको हुन नसक्नुनै वहस/मुद्धको कमिले हो । त्यसैले, एजेण्डामा वहस नहुने ल्होसार टुडिँखेलमै सिमित हुने कुरा पक्का छ ।

हिजोको समाजमा शारीरिक साहस, प्रतिकात्मक शक्ति वा वंशका आधारमा स्थान बनाइन्थ्यो । कुनै बेला दौड जिते पनि राजा बन्न सकिने समय थियो । तर त्यो समय अब इतिहास बनिसकेको छ । आजको युग ज्ञान, दक्षता, सीप, योग्यता र निरन्तर प्रतिस्पर्धाको युग हो । अधिकार अब शारीरिक प्रदर्शनबाट होइन, बौद्धिक क्षमता, संस्थागत पहुँच र नीतिगत सहभागिताबाट प्राप्त हुन्छ ।

यही सन्दर्भमा नयाँ पुस्ताको भूमिका झनै महत्वपूर्ण बन्छ । आजका युवा केवल सांस्कृतिक कार्यक्रममा सहभागी भएर वा सामाजिक सञ्जालमा फोटो पोस्ट गरेर सन्तुष्ट हुने पुस्ता बन्नु हुँदैन । उनीहरू नीति बुझ्ने, प्रश्न गर्ने, नेतृत्व लिन सक्ने र संस्थागत रूपमा अगाडि बढ्ने क्षमता आवश्यक छ । आफनो संस्कृति गर्वका साथ पहिचानको रुपमा बोकेर आधुनिक ज्ञान, प्रविधि र प्रतिस्पर्धामा अघि बढ्नु नै आजको पुस्ताको वास्तविक जिम्मेवारी हो ।

यसै दृष्टिकोणबाट तमु ल्होसारलाई अझ सिर्जनशील, उद्देश्यपूर्ण र रचनात्मक बनाउनुपर्ने आवश्यकता छ । हरेक पर्वको आफ्नै संस्कृतिक पक्ष हुन्छ । त्यसको सांस्कृतिक पक्षलाई अघि बढाउनको लागि मुद्धा चाहिन्छ । यतिबेला ल्होसारले मुद्धा समाउन सकेको छैन । त्यसैले हाम्रो ल्होसार, राज्यसत्तामा कुहिरोभित्र हराएको काग जस्तै बनेको छ । ल्होसारकोे गरिमा थप उचाइमा पुर्याउनुको लागि समुदायको दीर्घकालीन रूपान्तरणको आधार तयार गर्नैपर्छ ।

ल्होसारलाई केवल विगत होइन, भविष्यको दिशा तय गर्ने पर्वको रुपमा हेरिनुपर्छ । त्यसो भयो भने मात्र पर्वहरु प्रगतिशिल वन्न सक्छ । ल्होसार जस्ता पर्वहरुले हाम्रो समाजको भविष्य समेत दिशानिर्देश गर्न सक्नुपर्दछ । ल्होसारले नयाँ पुस्तालाई पहिचान, शिक्षा, चेतना, नेतृत्व र सामाजिक उत्तरदायित्व वहन गराउन सक्यो भने मात्र यसको सार्थकता हुन्छ ।

अन्त्यमा, तमु ल्होसार गुरुङ समुदायको गौरवशाली पहिचान हो। यसलाई नाचगान, खानपिन र रमाइलोमा मात्र सीमित नराखौ पहिचान, शिक्षा, चेतना, पुस्तान्तरण र सामाजिक उत्तरदायित्वसँग जोडेर मनाउन सके मात्र यसको वास्तविक महत्व स्थापित हुन्छ । त्यसको लागि मुद्धा महत्वपूर्ण हुन्छ । पहिचानको मुद्धासँग जोडेर अघि बढे मात्र ल्होसार, ल्होसार जस्तो बन्न सक्छ । होइन भने मुद्धा विनाको ल्होसार टुँडिखेलमै सीमित बन्ने निश्चित छ । निकास नपाएपछि विकृतिको बाटोमा नहिड्ला भन्न सकिदैन । टुँडिखेलको ल्होसार दीर्घकालमा न राज्यको न समुदायको बन्ने खतरा उत्तिकै छ । त्यसैले ल्होसारको बहुआयमिक वहसको अपरिहार्यता नै आजको मुख्य आवश्यकता हो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker