“ने मुनि पार्क”मा भानुको कार्यपालिका बैठक, जन्मस्थल संरक्षणमा नगरपालिकाको प्राथमिकता

भानु : ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्व बोकेको स्थान ‘ने मुनि पार्क’मा भानु नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ को पहिलो कार्यपालिका बैठक बसेको छ । नगर कार्यपालिकाले स्थानीय इतिहासका ज्ञाता तथा सरोकारवालाहरूसँगको अवलोकन तथा छलफलपश्चात बैठक सोही ऐतिहासिक स्थलमा राखेको हो ।
नगर प्रमुख आनन्दराज त्रिपाठीले यस कार्यगत निर्णयलाई ऐतिहासिक चेतना, राष्ट्रिय पहिचान र धार्मिक महत्वको सम्मानका रुपमा लिइएको बताएका छन् । कार्यपालिका सदस्यहरू सहितको उपस्थिति रहेको बैठकमा भौतिक संरचना नभए पनि खुला चौरमा बसेर बैठक सञ्चालन गरिएको बताए ।
स्थानीय धार्मिक तथा ऐतिहासिक मान्यताअनुसार ‘ने मुनि पार्क’ वैदिक कालका ऋषिमुनिहरूले कठोर तपस्या गरेको स्थलका रुपमा चिनिन्छ । हिन्दू धर्म ग्रन्थ ‘हिमवत खण्ड’ तथा ‘श्रीमद्भागवत’मा समेत ‘ने मुनि’ को नाम उल्लेख गरिएको छ । इतिहासकार ज्ञानमणि नेपालका अनुसार, ने मुनिकै नामबाट प्राचीन नेपाल राज्यको नामकरण भएको उल्लेख धर्म ग्रन्थहरूमा पाइन्छ ।
इतिहासकार नेपाल भन्छन्, ‘ने मुनिले जुन स्थानमा तपस्या गर्नुभयो, त्यो क्षेत्र तत्कालीन राजा पारको शासनअन्तर्गतको ‘पाराकोट’ थियो, जसको नाम परिवर्तन हुँदै आजको तनहुँको पुर्कोट क्षेत्र बनेको हो ।’
अनुसन्धानकर्ताहरूको प्रमाण–आधारित दाबी
यस्तै, लमजुङको जिता सप्तधारामा जन्मिएका अनुसन्धानकर्ता शिवराज शर्मा पौडेलले लामो समयदेखि ने मुनिको सम्बन्धमा ऐतिहासिक तथा पुरातात्त्विक अनुसन्धान गर्दै आएका छन् ।
उनका अनुसार ने मुनिको जन्म पुर्कोटमै भएको र उनले मस्र्याङ्दी तथा चेपे दोभानको संगममा बसेर दीर्घ तपस्या गरेका थिए। पौडेल भन्छन्, ‘तनहुँको यो क्षेत्र वैदिक सभ्यताको महत्वपूर्ण केन्द्र हो भन्ने कुरालाई धार्मिक, भाषिक र सांस्कृतिक साक्ष्यहरूले पुष्टि गर्दछन् ।’
जन्मस्थलको संरक्षण नगरपालिकाको प्राथमिकता
भानु नगरपालिकाले यस स्थललाई ‘राष्ट्रिय महत्वको ऐतिहासिक सम्पदा’को रुपमा संरक्षण तथा प्रवर्द्धन गर्ने योजना अघि सारेको छ । नगर प्रमुख त्रिपाठीका अनुसार, ‘ने मुनि नेपाली इतिहास, धर्म र सभ्यताको आदिस्रोत हुनुहुन्छ । उहाँको स्मृति र योगदानलाई स्थापित गर्नु हाम्रो कर्तव्य हो ।’
यसै सोचका साथ कार्यपालिकाको पहिलो बैठक सोही स्थानमा राखिएको नगरप्रमुख त्रिपाठीले बताए । आगामी दिनमा ने मुनि पार्कमा पूर्वाधार विकास, अनुसन्धान प्रवद्र्धन, धार्मिक पर्यटन तथा स्मृति संग्रहालय स्थापना गर्ने दीर्घकालीन योजना रहेको उनले बताए ।
यस्तै, ने मुनि पार्कमा कार्यपालिका बैठक बसेको समाचारले स्थानीयवासीमा उत्साह छाएको छ। पुर्कोट क्षेत्रका बासिन्दाहरूले नगरपालिकाको यस्तो कदमलाई ऐतिहासिक कदमको रुपमा लिएका छन् । उनीहरू अब यो क्षेत्र धार्मिक पर्यटनको केन्द्र बन्ने विश्वास व्यक्त गर्छन् ।










