नस्ल सुधारका लागि तनहुँमा नौ हजार ५०० भन्दा बढी पशुको कृत्रिम गर्भाधान

दमौली : तनहुँमा एक वर्षमा नौ हजार ५०० भन्दा बढी पशुको कृत्रिम गर्भाधान गरिएको छ । जिल्लामा रहेका १० वटा कृत्रिम गर्भाधान केन्द्रबाट आर्थिक वर्ष २०८१/८२ मा नौ हजार ५५२ पशुको कृत्रिम गर्भाधान गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले जनाएको छ ।

पछिल्लो केही वर्षयता जिल्लामा कृत्रिम गर्भाधानप्रति कृषकको आकर्षण बढ्दो छ । आर्थिक वर्ष २०८०/८१ मा आठ हजार ११३ र आर्थिक वर्ष २०७९÷८० मा सात हजार ९१६ पशुमा कृत्रिम गर्भाधान गरिएको थियो ।

केन्द्र प्रमुख रविनसन अधिकारीले नेपालमा पालिएका दुधालु गाईको नस्ल सुधारका लागि सरकारले कृत्रिम गर्भाधानमा प्राथमिकता दिँदै आएको बताउनुभयो । पशुहरूमा कृत्रिम गर्भाधान गराएमा कम उत्पादनशील स्थानीय पशुको उत्पादकत्व वृद्धि हुने, प्रजननका लागि भाले जनावर पाल्नु नपर्ने, हाडनाता प्रजननबाट उत्पादकत्वमा हुने ह्रास नहुने र प्रजननको माध्यमबाट सर्ने विभिन्न रोगबाट पशुको बचावट गर्न सकिने अधिकारीको भनाइ छ ।

कृत्रिम गर्भाधान गरेको तीन वर्षभित्रै पशुहरूले आफ्नो उत्पादकत्व दिन सक्ने छन्भने जिल्लामा उत्पादन हुने दूधलगायत दुग्धजन्य वस्तुको उत्पादनमा वृद्धि भई बाहिरी जिल्लाबाट उन्नत पशुहरु आयात गर्न नपर्ने उहाँले उल्लेख गर्नुभयो ।

जिल्लामा गाईमा बढी कृत्रिम गर्भाधान गरिएको छ । एक वर्षमा पाँच हजार ३७ गाई, चार हजार ४१७ भैँसी, ७६ बाख्रा, २२ बङ्गुरमा कृत्रिम गर्भाधान गरिएको केन्द्रले जनाएको छ ।

अधिकारीका अनुसार भेटेरिनरी अस्पताल गर्भाधान केन्द्रबाट दुई हजार ८५, व्यास नगरपालिकाबाट ३४५, भानु नगरपालिकाबाट ६८८, भिमाद नगरपालिकाबाट ६०६, शुक्लागण्डकी नगरपालिकाबाट एक हजार ९६१, बन्दीपुर गाउँपालिकाबाट एक हजार २२२, आँबुखैरेनी गाउँपालिकाबाट एक हजार ३४९, म्याग्दे गाउँपालिकाबाट ६१९, देवघाट गाउँपालिकाबाट ६६५ र ऋषिङ गाउँपालिकाबाट १२ पशुको कृत्रिम गर्भाधान गरिएको छ । घिरिङ गाउँपालिकामा भने कृत्रिम गर्भाधान केन्द्र छैन ।

तीन हजारभन्दा बढी पशुको उपचार

केन्द्रले एक वर्षमा तनहुँसहित छिमेकी जिल्लाबाट समेत गरी तीन हजार ६९० पशुको उपचार गरेको छ । केन्द्रमा तनहुँका अतिरिक्त गोरखा, लमजुङ, कास्कीबाट समेत कृषकले बिरामी पशुको उपचारका लागि ल्याएका थिए ।

आँबुखैरेनीका एक, बन्दीपुरका ७५, भानुका ६२, देवघाटका पाँच, भिमादका सात, व्यासका तीन हजार ९९, म्याग्देका २४९, ऋषिङका १३५, शुक्लागण्डकीका आठ, कास्कीका एक, गोरखाका तीन, लमजुङका ४४ र गोरखाका एक पशुको उपचार गरिएको छ ।

जिल्लामा गाई र भैँसीपालनको सङ्ख्या घटेको र बाख्रापालनको सङ्ख्या बढेको छ । एक वर्षमा गाईपालन दुई हजार ४८२, भैँसीपालन दुई हजार ८८३ ले घटेको केन्द्रले जनाएको छ । त्यस्तै, बाख्रापालन ४०३ ले बढेको छ । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker