तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइन निर्माणका लागि ३२ टावर जडान

तनहुँमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणका लागि ३२ टावर जडान भएका छन् ।

आयोजनाको तेस्रो प्याकेजअन्तर्गत प्रसारण लाइन निर्माणका लागि ती टावर जडान गरिएको हो । हालसम्म ५१ टावरको जग हाल्ने काम सकिएको आयोजनाका इन्जिनियरिङ तथा प्राविधिक महाशाखा प्रमुख श्यामजी भण्डारीले जानकारी दिनुभयो । प्रसारण लाइन निर्माणका लागि ९४ टावर जडान गरिनेछ ।

त्यसमध्ये आठ टावरको जग संरक्षण सम्पन्न भएको छ । एक स्थानमा टावर जडान, दुई स्थानमा संरक्षण र छ स्थानमा जग्गा हाल्ने काम भइरहेको उहाँले बताउनुभयो । त्यस्तै शून्य दशमवलव ९८८३ किलोमिटर तार तान्ने काम सकिएको छ ।

प्याकेज–३ अन्तर्गत केइसी इन्टरनेसनल, भारतले दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको ३६ किलोमिटर डबल सर्किट प्रसारण लाइन निर्माण गरिरहेको छ । प्रसारण लाइन निर्माणका लागि कूल ५९ कित्ता (२३ रोपनी पाँच आना) जग्गा अधिग्रहण गरिनेछ । तनहुँतर्फ व्यास नगरपालिका–१३ र १४, बन्दीपुर गाउँपालिका–६, आँबुखैरेनी गाउँपालिका–६, देवघाट गाउँपालिका–४ र ५ भित्र पर्ने जग्गा अधिग्रहण गरिनेछ ।

आयोजनाको प्याकेज–१ अन्तर्गत एक सय ४० मिटर अग्लो बाँध निर्माण कार्य सोङ्गदा कर्पोरेसन, भियतनाम–कालिका कन्सट्रक्सन (प्रालि नेपाल जेभीले गरिरहेको छ । जसअन्तर्गत अहिले मुख्य बाँध निर्माणका लागि नदी फर्काउनका लागि आवश्यक दुई डाइभर्सन सुरुङ, बाँधको दायाँ तथा बायाँतर्फबाट स्लोप कटानलगायतका निर्माण कार्य भइरहेका छन् । पाँच सय ३८ दशमलव पाँच मिटर लम्बाइको डाइभर्सन सुरुङ–१ र ६२२ दशमलव पाँच मिटर लम्बाइ भएको डाइभर्सन सुरुङ–२ को वारपार गरी (ब्रेक थु्र) कङ्क्रिट लाइनिङको काम भइरहेको छ ।

प्याकेज–२ अन्तर्गत सिनो हाइड्रो कर्पोरेसन, चीनले भूमिगत विद्युत्गृह, मुख्य सुरुङ, र हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायतका कार्य गरिरहेको छ । विद्युत्गृह खन्ने कार्य सम्पन्न गरी कङ्क्रिटिङ कार्य गरिरहेको छ । टेलरेस सुरुङ निर्माण अन्तिम चरणमा छ । पेनस्टक पाइप जडान तथा सर्ज ट्याङ्क निर्माण कार्य जारी रहेको छ । एक हजार ४५६ मिटर मुख्य सुरुङमध्ये सात सय ९० मिटर खन्ने कार्य सम्पन्न भएको छ ।

आयोजनाको कूल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत) ५० करोड ५० लाख अमेरिकी डलरको लागि एडीबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले आठ करोड ५० लाख र नेपाल सरकार/नेपाल विद्युत् प्राधिकरणले आठ करोड ६० लाख डलर बेहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker