पशुपालनलाई प्रोत्साहन गर्न तनहुँमा डाँलेघाँस उत्पादन

तनहुँ : पशुपालन व्यवसायलाई प्रोत्साहन गर्न जिल्लास्थित डिभिजन वन कार्यालयले डाँलेघाँसका बिरुवा उत्पादनमा प्राथमिकता दिएको छ । व्यावसायिक किसानलाई पशुपालनमा सहज बनाउन कार्यालयले बर्सेनि डाँलेघाँसका बिरुवा निःशुल्क रुपमा वितरण गर्दै आएको हो ।
किसानको मागअनुसार राइखनियो, डुम्री, बडहर, बकाइनो, टाँकीलगायत डाँलेघाँसका साथै अन्य विभिन्न प्रजातिका बिरुवा उत्पादन गरिएको वन अधिकृत राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । यस वर्ष उत्पादन गरिएका ८५ हजारमध्ये ३० हजार बढी डाँलेघाँसका बिरुवा उत्पादन गरिएको छ ।
श्रेष्ठका अनुसार विभिन्न प्रजातिका करिब पैतिस हजार बिरुवा वितरण गरिसकिएको छ । उहाँले भन्नुभयो, “नर्सरीमा बिरुवा लिन अहिले दैनिक किसानको घुइँचो लाग्ने गरेको छ ।” उत्पादित तयारी बिरुवा यही असार १५ गतेदेखि वितरण गर्न थालिएको हो ।
गण्डकी प्रदेश सरकारबाट वार्षिक कार्यक्रमका लागि कम बजेट विनियोजन भएकाले बर्सेनि बिरुवा उत्पादन घट्दै गएको भन्दै यस वर्ष पनि गत वर्षको तुलनामा कम उत्पादन गरिएको वन अधिकृत श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “घाँसका बिरुवा रोपेर गोठमै बाँधेर पशुपालन व्यवसाय गर्न सहज होस् भनेर बिरुवा उत्पादनलाई प्राथमिकता दिइएको हो ।”
वनजङ्गलमा पशु चौपायका लागि चरन क्षेत्र ह्रास हुँदै गएकाले पशुपालक किसानलाई आहार व्यवस्थापनमा सहजता गराउने उद्देश्यले व्यावसायिक कृषि फार्मलाई घाँसका बिरुवा सहयोग गरिएको श्रेष्ठले बताउनुभयो । नर्सरीमा हुर्काइएका बिरुवामध्ये जडीबुटीतर्फ शितल चिनी, हर्रो, बर्रो, तेजपात, बेल, अमला, श्रीखण्ड रहेका छन् भने सौन्दर्यमूलकमा कपूर, अशोका, धूपीलगायत छन् ।
“पछिल्ला समय पशुपालनतर्फ किसानको आकर्षण बढ्दै गएकाले बर्सेनि डाँलेघाँसका बिरुवा उत्पादन गरी वितरण गर्दै आएका छौँ”, अधिकृत श्रेष्ठले भन्नुभयो, “प्रदेश सरकारबाट बजेट कम विनियोजन भएकाले यस वर्ष थोरै बिरुवा उत्पादन गरिएको हो ।”
चार वर्षअघि दश लाख, तीन वर्ष अघि आठ लाख, दुई वर्षअघि छ लाख २५ हजार र गत वर्ष एक लाख बढी बिरुवा उत्पादन गरी निःशुल्क वितरण गरिएको थियो ।
जिल्लामा पछिल्लो समय व्यावसायिक पशुपालनतर्फ किसानको आकर्षण बढ्दै गएपछि घाँसका बिरुवा उत्पादनमा जोड दिन थालिएको डिभिजन प्रमुख अशोककुमार श्रेष्ठले जानकारी दिनुभयो । किसानको मागका आधारमा कार्यालयले प्रत्येक वर्ष डाँलेघाँसका बिरुवा उत्पादन गरेर वितरण गर्ने योजना बनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker