नागपञ्चमीमा नेपाल सर्प महोत्सव : ‘सर्पले टोक्दैमा आत्तिनुहुँदैन’

मध्यविन्दु (नवलपरासी) : नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोतीमा नेपालमा नै पहिलो पटक ‘नेपाल सर्प महोत्सव’ आयोजना गरिएको छ । नागपञ्चमीको अवसर पारेर मानव र सर्पबीचको द्वन्द्व न्यूनीकरण गरी सर्प संरक्षण गर्ने उद्देश्यका साथ दुई दिने नेपाल सर्प महोत्सव सञ्चालन गरिएको हो ।

नेपाल टक्सिनोलोजी सङ्घको आयोजना तथा जिल्ला डिभिजन वन कार्यालय नवलपुर, स्वास्थ्य कार्यालय नवलपुर, नेपाल रेडक्रस सोसाइटी र मध्यविन्दु बहुमुखी क्याम्पसको सहआयोजनामा नेपालमा नै पहिलोपटक सर्प महोत्सव सञ्चालन गरिएको सर्प संरक्षणकर्मी कमल देवकोटाले बताउनुभयो । “सर्पका बारेमा जनमानसमा धेरै किसिमका भ्रम रहेको र कतिपय अवस्थामा सर्प र सर्पको टोकाइबारेमा सामान्य ज्ञान पनि नहुँदा धेरैले ज्यान गुमाउनुपरेकाले यसबारे जानकारी दिन महोत्सव आयोजना गरिएको हो”, उहाँले भन्नुभयो ।

महोत्सवमा सर्प, सर्पदंश र सर्प संरक्षणका बारेमा जानकारी दिने विभिन्न स्टल राखिएको छ । नेपालमा कति प्रकारका सर्प छन्, कति विषालु हुन्छन् भनेर छुट्टाउने र सर्पले टोकिहालेमा के गर्ने, के नगर्ने भन्नेबारेमा पनि जानकारी दिइने उहाँले बताउनुभयो ।

विशेषगरी गर्मीयाममा तराई भेगमा सर्पदंशका बिरामी बढ्ने र समयमा उपचार नपाउँदा मृत्यु हुने गरेको छ । “सर्पले पनि पृथ्वीमा मानिसको जत्तिकै महत्व बोकेको हुन्छ, किन भने सर्प पनि पारिस्थितिक पद्धतिको एउटा अङ्ग हो”, उहाँले भन्नुभयो, “आफू पनि बचौँ र प्रकृतिलाई जोगाऔँ भन्ने हेतुले जनचेतना जगाउन नेपाल सर्प महोत्सवको आयोजना गरिएको हो ।”

महोत्सवमा सर्प पहिचान कसरी गर्ने, सर्पबाट कसरी बच्ने उसलाई कसरी बचाउने र टोकी हाले के गर्नै भन्नेबारेमा महोत्सवमा प्रदर्शन गरिएको छ । विभिन्न सर्पका नाम उल्लेख गरी पोस्टर र तिनका विशेषताका बारेमा स्थानीय सहभागी, विद्यार्थीलगायतका लाई जानकारी गराइएको संरक्षणकर्मी देवकोटाले जानकारी दिनुभयो ।

सर्पले मानिसलाई टोक्ने भनेको आफ्नो बचाउका लागि गर्ने प्रतिरक्षा आक्रमण मात्रै हो । नेपालका विषालु सर्प इलापिडी, भाइपिरिडी र कोलुब्रिडी परिवारअन्तर्गत पर्ने स्नेक बाइट म्यानेजमेन्टका फोकलपर्सन डा छविलाल थापाले बताउनुभयो  । “इलापिडी परिवारअन्तर्गत पनि धेरै विषालु सर्पजस्तै, गोमन, करेत र कोरल सर्प पर्छन्”, उहाँले भन्नुभयो, “२० प्रतिशत सर्पमा मात्र विष हुन्छ, ८० प्रतिशत सर्प विषरहित हुन्छन्, सर्पले टोक्दैमा आत्तिनुहुँदैन ।”

समयमा उपचार नपाएका कारण सर्पको टोकाइबाट मृत्यु हुने तथ्याङ्क पनि बढ्दो रहेको छ । सर्पका बारेमा जनमानसमा धेरै किसिमका भ्रम रहेको र कतिपय अवस्थामा सर्प र सर्पको टोकाइबारेमा सामान्य ज्ञान पनि नहुँदा धेरैले ज्यान गुमाउनुपरेकाले यसबारे जानकारी दिन महोत्सव आयोजना गरिएको डा.छविलाल थापाले बताउनुभयो ।

“नवलरपासी (बर्दघाट सुस्तापूर्व)मा यो वर्षमा मात्र विषालु सर्पले टोकेका १२ महिला र १५ पुरुष गरी २७ जना उपचारमा आएको तथ्याङ्क छ”, उहाँले भन्नुभयो, “आर्थिक वर्ष २०७९÷०८० मा जिल्लामा सामान्य सर्पले टोकेका एक सय ८५ पुरुष र एक सय ७७ महिला गरी तीन सय ७२ सङ्ख्या रहेको छ । ”

पहिला गाउँघरमा देखिने सर्प पहिचान गर्न गाह्रो हुने गरेको भए पनि सर्प महोत्सव अवलोक गरेपछि चिन्न सक्ने भएको महोत्सवमा सहभागी विद्यार्थी मुकेश रानाले बताउनुभयो । “पहिला मैले रङ हेरेर मात्रै सर्प पहिचान गर्थें, अहिले छाला हेरेर सर्प पहिचान गर्नसक्ने भएको छु”उहाँले भन्नुभयो, “सर्पले डस्दा के गर्ने, सर्पको व्यवस्थापन कसरी गर्ने भन्नेबारे पनि ज्ञान हासिल गरिसकेको छु ।” रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker