दमौलीमा आजबाट पाँचौ आदिवासी जनजाती तनहुँ सांस्कृतिक एवं पर्यटन महोत्सव
भञ्ज्याङ समाचारदाता/दमौली

नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद्ले आजबाट दमौलीमा पाँचौं आदिवासी जनजाती तनहुँ सांस्कृतिक एवं पर्यटन महोत्सव सञ्चालन गर्ने भएको छ । आयोजकले महोत्सवको आवश्यक सम्पूर्ण तयारी पुरा गरेको बताएको छ ।
‘अमूल्य भाषा संस्कृतिको संरक्षण गरौँ, भाषा संस्कृतिको जगेर्ना गर्दै पर्यटनको विकास गरौँ’ भन्ने नाराका साथ आगामी माघ ३ गतेसम्म महोत्सव सञ्चालन हुने भएको छ ।
महोत्सवस्थलमा २३० कक्ष निर्माण गरिएका महोत्सवका प्रवक्ता नन्दु थापामगरले बताए । तीन लाख दर्शकले महोत्सवको अवलोकन गर्नुका साथै एक करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने लक्ष्य आयोजकले राखेको छ । विपी वनवाटिकाको खेल मैदानमा सञ्चालन गरिने महोत्सवमा दर्शकलाई मनोरञ्जन दिनका लागि राष्ट्रियस्तरका ख्यातिप्राप्त कलाकार ल्याइने परिषद्का अध्यक्ष सुजित हिराचनले बताए ।
महोत्सवका लागि स्टल निर्माण, मन्च निर्माण, तथा रमाईलो मेलाको काम लगभग पुरा भएको छ । महोत्सवको उद्घाटन अघि दमौलीमा जनजातीको सांस्कृतिक झाँकी प्रदर्शनी गरिने भएको छ । अध्यक्ष हिराचनका अनुसार महोत्सवमा २१० व्यवसायीक र २० विभिन्न प्रदर्शनीका स्टलहरु रहनेछन । महोत्सवको तनहुँका विभिन्न जातीय संघ संस्थाहरु सह आयोजक रहेका छन् । महोत्सवको माध्यमबाट आदिवासी जनजाती समुदायको कला र संस्कृतीको संरक्षण तथा आदिवासी जनजातीको संग्रहालय निर्माण गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको महासंघले जनाएको छ ।
महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांस्कृतिक प्रस्तुती, जनजातीको सांस्कृतिक झाँकी, कौराहा तथा लोकदोहोरी प्रतियोगिता, रमाइलो मेला, कृषि तथा घरेलु उत्पादनको प्रदर्शनी, लोपोन्मुक राउटे जातीको प्रदर्शनी, सांस्कृतिक नमुनाग्रामको भ्रमण, धार्मिक तथा ऐतिहाँसिक स्थलको भ्रमण लगायतका आकर्षणहरु रहेका छन् ।
महोत्सवको कारण तनहुँका आदिवासी जनजातीहरुको कला र संस्कृतिको संरक्षण र सम्बर्द्धन हुने, उनीहरुका कला र संस्कृतीको प्रचार प्रसार हुने अपेक्षा आयोजकले गरेको छ । तनहुँ नेपालमा सबैभन्दा धेरै आदिवासी जनजातीहरु बसोबास गर्ने जिल्ला हो । यस्ता मेला र महोत्सवको कारण ति जातीय समुदायको लोपोन्मुख कला र संस्कृतीको संरक्षण हुने विश्वास महासंघले गरेको छ ।
साथै हाल सुस्ताइरहेको आर्थिक गतिविधिलाई पनि यो महोत्सवले चलायामान गराउने अपेक्षा गरिएको छ । कृषि प्रदर्शनीमा स्थानीय उत्पादनलाई प्राथमिकता दिइने आयोजकले जनाएको छ । प्रदर्शनी कक्षमा घरेलु तथा हस्तकला, होटेल तथा रेस्टुरेन्ट, डेरी, आइटी इलेक्टिकल्स, बैङ्क तथा वित्तीय संस्था, आइसक्रिम स्टल, अटोमोबाइल्स, स्थानीय उत्पादन प्रदर्शन तथा बिक्री स्थललगायत रहने परिषद्का निवर्तमान अध्यक्ष बसुन्धरा घर्तीले बताइन् ।
महोत्सवमा ज्येष्ठ नागरिक र अपाङ्गता भएकाका लागि निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ । विद्यार्थीका लागि रु ५० र अन्यका लागि रु ७० टिकट शुल्क कायम गरिएको छ । स्थानीय भाषा, धर्म, कला र संस्कृतिको प्रवर्द्धनका साथै स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्ने लक्ष्य रहेको आयोजकले जनाएको छ ।
महोत्सवमा मादी र सेतीमा जलविहार, आदिवासी जनजातीको जन्मदेखि मृत्युसम्मको संस्कारको प्रदर्शनी, जीवनशैली प्रस्तुति, नमुना घर निर्माण, सांस्कृतिक कार्यक्रम, विद्यालयस्तरीय प्रतिभा प्रस्फुटन लगायत आकर्षण रहेका छन् । महोत्सवमा राष्ट्रिय कलाकारमा पशुपति शर्मा, खेम सेन्चुरी, राजु परियार, प्रीति आले, भूमिका गिरी, कला लम्साल, बद्री पङ्गेनी, सुप्रिम मल्ल, सम्झना लामिछाने मगर, आशा बिसी, सुमन परियार, सन्दिपसिं राना, अस्मिता डल्लाकोटी लगायत कलाकारले साँस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने आयोजकले बताएको छ।










