दमौली–चितवन वैकल्पिक मार्ग निर्माण गरिने

पूर्ण विके

तनहुँको दमौलीबाट चितवनको नारायणघाट निस्कने वैकल्पिक मार्गको सुरुआती ट्र्याक खालिएको करिब ३१ वर्ष भयो । तर अझै पनि यस बुद्धसिं मार्ग स्तरोन्नतिको कार्य प्राथमिकतामा नपर्दा ओझेलमा परेको छ । ३४ किलोमिटर दूरी रहेको उक्त मार्गमा खाल्डाखुल्डी र खोलानालाका कारण यात्रुले सास्ती खेप्दै आएका छन् ।

यस मार्गबाट नारायणघाट हुँदै दमौली पुग्न पृथ्वीराजमार्गको यात्राभन्दा २२ किलोमिटर दूरी छोटो पर्छ । तर आँबुखैरेनी–५ र भरतपुर महानगरपालिका–२९ जोड्ने त्रिशूली नदीमाथि मोटरेबल पुल नबन्दा यात्रु दमौलीदेखि आँबुखैरेनी–५ घुमाउने घाटसम्म यात्रा गर्न बाध्य छन् । वर्खायाममा सवारीसाधन चलाउन कठिन भएको ग१ख ५८४९ नं को मिनी बसका चालक चन्द्रबहादुर भुजेलले बताउनुभयो ।

“खाल्डाखुल्डीले सवारीसाधन हाँक्न सास्ती हुन्छ”, उहाँले भन्नुभयो, “वर्षायाममा खोलामा पानी बहाव बढेर समेत समस्या हुने गरेको छ ।” धेरै मोड र खाल्डाखुल्डी भएकाले न्यून सङ्ख्यामा जिप चल्ने गरेका भुजेल बताउनुहुन्छ । “घुम्तीका कारण बस गुडाउन सकिँदैन”, उहााले भन्नुभयो, “गुडाए पनि नियमित मर्मत गरिरहनुपर्छ ।”

नारायणघाटबाट मुग्लिन, आँबुखैरेनी र डुम्रे हुँदै दमौलीसम्मको दूरी ७४ किलोमिटर छ । तर सेती नदीको तिर हुँदै दमौली निस्कन यस मार्गबाट जम्मा ५२ किलोमिटरको यात्रा तय गरे पुग्छ । त्रिशूलीमाथि पुल नबन्दा घुमाउनेघाटमै पुगेर सवारीसाधन रोकिनुपर्ने अवस्था छ । झापा, धरान, बुटवल, भैरहवालगायत तराईदेखि पोखरा, पर्वत, बागलुङ, स्याङ्जा, म्याग्दीलगायत जिल्ला पुग्न २२ किलोमिटर छोटो दूरी पर्ने यस वैकल्पिक मार्ग प्राथमिकतामा नपर्दा आफूहरुले सास्ती खेप्दै आउनु परेको बुद्धसिं मार्ग उपभोक्ता समितिका अध्यक्ष चन्द्रबहादुर गुरुङले बताउनुभयो ।

“यो सडक अहिलेसम्म कालोपत्र भइसक्नुपर्ने हो”, उहाँले भन्नुभयो, “त्रिशूलीमा पुल नबन्दा यस क्षेत्रका बासिन्दाले सास्ती खेप्नु परेको छ ।”

भरतपुर महानगरपालिका–२९ र आँबुखैरेनी गाउँपालिका–५ जोड्न त्रिशूलीमाथि पक्की पुल नबन्दा यो मार्ग ओझेलमा परेको स्थानीयवासीको भनाइ छ । त्रिशूलीमा पक्की पुल नबन्दा आफूहरुले झोलुङ्गे पुलबाट बोकेरै सामान लैजानुपर्ने बाध्यता रहेको आँबुखैरेनी–५ का हरिप्रसाद ढकालले बताउनुभयो । “हामीले कष्टकर तवरले झोलुङ्गे पुलबाटै सामान वारपार गर्नुपर्ने अवस्था छ”, उहाँले भन्नुभयो, “यो क्षेत्रमा पक्की पुल निर्माण गर्ने कुरा थियो, अहिलेसम्म बन्ने सुरसार छैन ।”

घुमाउनेघाटका केही पसलमा झोलुङ्गेपुलबाट खाद्यान्न ओसारेको स्थानीय मजदुरले २५ किलोग्राम चामलको प्रतिबोरा रु ३० देखि रु ५० सम्म तिर्नुपर्ने आँबुखैरेनी–५ घुमाउनेघाटकी व्यापारी चन्द्रकला गुरुङले बताउनुभयो । “पक्की पुल नबन्दा झोलुङ्गेपुलबाट सामान बोकाएरै पसलमा ल्याउनुपर्ने अवस्था छ”, उहाँले भन्नुभयो ।

उक्त मार्गमा पहिलो प्राथमिकता पुल निर्माणमा हुनुपर्ने स्थानीयको माग छ । पुल निर्माण सम्पन्न भए दैनिक यातायात सञ्चालन हुने र स्थानीय उत्पादनलाई सजिलै बजारसम्म पु¥याउन सकिने छ । पुल निर्माणसहित उक्त मार्गमा दैनिक यातायात सञ्चालन हुन सके उक्त क्षेत्रको विकट बस्ती धरमपानी, छिम्केश्वरी, देउराली, देवघाटको उत्तरी क्षेत्र, छिपछिपे र वैदीका हजारौँ बासिन्दालाई प्रत्यक्ष फाइदा पुग्ने बुद्धसिं मार्ग उपभोक्ता समितिका पूर्वअध्यक्ष विश्व वास्तोलाले बताउनुभयो।

“यो मार्ग राज्यको प्राथमिकतामा परेको भए यहाँका नागरिकको जीवनस्तर उहिल्यै उकासिने थियो”, उहाँले भन्नुभयो, “मार्गको स्तरोन्नति नहुँदा घण्टौँ हिँडेर चितवन र दमौली आउजाउ गर्नु परेको छ ।”

व्यास–१ दमौली बसपार्कदेखि आँबुखैरेनी–५ घुमाउनेघाटसम्म यस मार्गको कूल लम्बाइ ३४ किलोमिटरमध्ये १० किलोमिटर पक्की सडक निर्माणका लागि ठेक्का सम्झौता भइसकेको पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ । चालू आर्थिक वर्षमै सक्ने गरी २०७९ भदौ २७ गते सफल मैनाचुली जेभीले बसपार्कदेखि १० किलोमिटर सुँडेको पुलसम्म सात मिटर चौडा हुने गरी पक्की गर्ने कार्य गरिरहेको इन्जिनियर धनमाया मिश्रले जानकारी दिनुभयो । उक्त मार्गमा रहेका खहरे खोलाले वर्षायाममा यातायात सञ्चालनमा कठिनाइ हुने गरेकाले पक्की पुल बनाउन प्रक्रिया अघि बढाएको उहाँले बताउनुभयो ।

“बुद्धसिंमार्गको १० किलोमिटर पक्की सडक यसै आर्थिक वर्षमा सम्पन्न गर्ने गरी निर्माण भइरहेको छ”, उहाँले भन्नुभयो, “त्रिशूलीमा मोटरेबल पुल निर्माण हाम्रो जिम्मेवारीभित्र पर्दैन ।” उक्त मार्गको कूल ३४ किलोमिटर सडक खण्डमध्ये आठ किलोमिटर तनहुँ हाइड्रो पावरको जिम्मेवारीमा पर्ने र बाँकी १६ किलोमिटर पक्की सडक निर्माणका लागि समपूरक योजनामा पार्नका लागि प्रक्रिया अघि बढाएको पूर्वाधार विकास कार्यालयले जनाएको छ । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker