तनहुँको शुक्लागण्डकी -५ स्थित मिलन टोलको अकला मार्ग कालोपत्रे
भञ्ज्याङ समाचारदाता/दुलेगौंडा

तनहुँको शुक्लागण्डकी नगरपालिका-५ बेलचौतारास्थित मिलन टोलमा रहेको अकला मार्ग कालेपत्रे गरिएको छ । गण्डकी प्रदेश सरकार अन्तर्गत पूर्वाधार विकास कार्यालयको १७ लाख ५६ हजार ८ सय रुपैयाँ लागतमा सडक कालोपत्रे गरिएको हो । उपभोक्ताबाट ११ लाख ५४ हजार ४ सय रुपैयाँ र शुक्लागण्डकी नगरपालिकाको १० लाख ६ हजार ३२८ रुपैयाँ गरी २१ लाख ६० हजार ७२८ रुपैयाँबाट पक्की नाला समेत निर्माण गरिएको छ ।
नविन बस्तिसम्म जोड्ने ३८० मिटर रहेको हालै कालेपत्र गरिएको अकला मार्ग तथा पक्की नालाको शनिबार गण्डकी प्रदेश सभा सदस्य आशा कोईरालाले उद्घाटन गरिन् । सो अवसरमा कोइरालाले व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर समाज र राष्ट्रको आवश्यकतालाई ध्यानमा राखी काम गर्दै आएको बताइन् ।
उनले विकास निर्माणको क्रममा केही विवाद आए पनि त्यसलाई समझदारीबाटै समाधान गरी सबैले हातेमालो गरेर टोललाई विकसित गराउनुपर्नेमा जोड दिइन् । नाला निर्माण समितिका अध्यक्ष ढाकाराम गिरीको अध्यक्षतामा भएको कार्यक्रममा ५ नं वडाका वडाध्यक्ष दीर्घबहादुर थापा, वडा सदस्य पदमप्रसाद तिमिल्सेना, अकला टोल विकास समितिका अध्यक्ष रेशमबहादुर मल्ल, स्थानीय हिमकुमार श्रेष्ठ, दिनेश गौतम लगायतले बोलेका थिए ।