तनहुँको व्यास नगरपालिकामा खरको छाना विस्थापित कार्यक्रम
भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको व्यास नगरपालिकाले खरको छाना विस्थापित गरी विपन्नका घरमा जस्तापाता लगाउने कार्यक्रम प्रभावकारी बनेको छ । लामो समयदेखि खरको छानामुनि बसेका जस्तापाताले छाउन नसकेका परिवारलाई नगरपालिकाले जस्तापाताले घर छाउने गरेको छ ।
नगरपालिकाले गत आर्थिक वर्ष २०७९/८० मा ६८ जना अतिविपन्न परिवारको घरमा जस्तापाताले छाउने कार्यक्रम सम्पन्न गरेको नगरपालिकाको घर नक्सा शाखाका प्रमुख अमृत केसीले जानकारी दिए
५१ लाख रुपैयाँ लागतमा जस्तापाता लगाइएको उनले बताए । नगरपालिकाले प्रतिघर ७५ हजार रुपैयाँ लगानीमा जस्तापाता लगाएको थियो । धेरै वर्षदेखि खरको छानामा बसेकी व्यास-१३ की फुलमाया वि.कले जंगलको नजिक घर हुँदा खरको छानामा आगलागीको डर हुने गरेको बताइन् ।
उनको अनुसार नगरपालिकाको सहयोगमा जस्तापाता लगाएपछि अहिले डर हटेको छ । तनहुँ क्षेत्र नं १ अन्तर्गत नगरपालिकाले वडा नं ५ र ६ बाहेक अन्य वडामा खरको छाना विस्थापित गरी घरमा जस्तापाता लगाउने गरेको छ । जस अन्तर्गत व्यास-१ मा ७, व्यास ४ मा १, व्यास ७ मा ७, व्यास ८ मा ३, व्यास ९ मा ४, व्यास १० मा १७, व्यास ११ मा ३, व्यास १२ मा ६, व्यास १३ मा ३ र व्यास १४ मा ८ घरमा जस्तापाता लगाएको छ ।
सुरक्षति नागरिक आवास कार्यक्रम अन्तर्गत तनहुँ क्षेत्र नं १ मा दुइ घर धुरी परेका थिए । जसमा ६८ जनालाई पहिलो किस्तामा ४५ हजार रकम दिईएको छ ।