बलराम बानियाँ स्मृति कोषलाई दिदीबहिनीको सहयोग
भञ्ज्याङ समाचारदाता/दमौली

स्व पत्रकार बलराम बानियाँ स्मृति पत्रकारिता अक्षयकोषका लागि तीन जना दिदीबहिनीले आर्थिक सहयोग गरेका छन् । प्रेस युनियन तनहुँले स्थापना गरेको कोषका लागि काठमाडौँ निवासी रञ्जु केसीले रु १० हजार, उनकी दिदी चितवन निवासी बेन्जु केसीले रु पाँच हजार र बहिनी काठमाडौँ बानियाँटार निवासी अन्जु केसीले रु पाँच हजार सहयोग गरेका हुन् ।
तीन दिदीबहिनीका तर्फबाट रन्जुले युनियनका जिल्ला अध्यक्ष अमरराज नहर्कीलाई कूल रु २० हजार हस्तान्तरण गरेकी छन् । रकम हस्तान्तरण गर्दै रन्जुले बानियाँले पत्रकारितामा क्षेत्रमा पुर्याएको योगदानलाई चीरस्थायी बनाउन सहयोग गरेको बताइन् । तीन दिदीबहिनीको स्व पत्रकार बानियाँ भिनाजु नाता पर्छन् । युनियनले पत्रकार बानियाँका परिवारजन, आफन्तजनका साथसाथै स्वदेश तथा विदेशमा रहेका शुभेच्छुकबाट रकम संकलन गरी अक्षयकोषको रकम वृद्धि गर्दै लैजाने कार्य गरिरहेको छ ।
पत्रकार बानियाँका दाजु भानु-१३ का वडाध्यक्ष रामबहादुर बानियाँले गत चैत ३ गते युनियनलाई रु २० हजार नगद हस्तान्तरण गरेका थिए । त्यस्तै बानियाँको वाषिर्क पुण्यतिथिमा भदौ १४ गते नेपाली कांग्रेस तनहुँका क्षेत्र नं १ का सभापति श्याम मौरातीले रु १० हजार १५० सहयोग गरेका थिए ।
अक्षयकोषमा हालसम्म रु ५३ हजार रकम संकलन भइसकेको छ भने उक्त अक्षकोषका लागि कम्तिमा रु दुइ लाख संकलन गर्ने लक्ष्य राखिएको जनाइएको छ । अक्षयकोषबाट प्राप्त ब्याजले वर्षेनी पत्रकारिताको माध्यमबाट समाजमा योगदान पुर्याउने उत्कृष्टमध्ये एक पत्रकारलाई पुरस्कृत गरिने युनियनले जनाएको छ ।










