निषेधाज्ञाका कारण तनहुँको धार्मिक स्थल देवघाटधाम सुनसान, भक्तजन नआउँदा आश्रममा आर्थिक संकट पर्दै

भञ्ज्याङ समाचारदाता/देवघाट

नयाँ भेरियन्ट सहितको कोरोना भाइरस संक्रमण समुदायमा फैलिएपछि अहिले स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । तनहुँ प्रशासनले गत वैशाख २३ गतेदेखि जारी गरेको निषेधाज्ञाका कारण धार्मिक स्थल देवघाट पनि सुनसान हुन पुगेको छ ।

तनहुँ, चितवन र नवलपरासी जिल्लाको संगमस्थलमा हिन्दु धर्मावलम्बीको पवित्र तीर्थस्थल देवघाटधाम छ । कालीगण्डकी र त्रिशूली नदीको संगम स्थल पनि भएकाले यो धाममा विभिन्न देवदेवीका मन्दिर, संस्कृत पाठशाला, पीठाधीश पनि छन् । धार्मिकमात्र होइन, पर्यटकीय दृष्टिकोणले पनि यो क्षेत्र महत्वपूर्ण भएकाले यहाँ भक्तजन र धार्मिक पर्यटकको भिडभाड हुने गर्छ। तर, कोरोना कहरका कारण अहिले सुनसान अवस्थामा छ ।

देवघाट क्षेत्रमा विभिन्न आश्रमहरु समेत सञ्चालित छन् । यहाँ सयौंको संख्यामा वृद्धवृद्धाहरु आश्रय लिइरहेका छन् । भक्तजनहरुले दिएको दान तथा सहयोगबाट आश्रममा बस्दै आएका आश्रति तथा बाहिरबाट आउने मानिसहरुलाई खाना खुवाउने गरिन्छ । तर, कोरोना संक्रमण त्रासका कारण भक्तजन नआउँदा दानको अभाव झेल्नुपर्ने अवस्था आएपनि व्यवस्थापन गर्दै आएको गलेश्वर आश्रम सञ्चालक समितिका सदस्य हरिकृष्ण पौडेल बताउँछन् ।

देवघाट गाउँपालिकाले देवघाटधाममा भक्तजन तथा पर्यटकहरुलाई आउन पूर्णरुपमा रोक लगाएको छ । विशेष गरी वृद्धवृद्धाहरु यहाँ बसोवास गर्ने र बाहिरबाट कोही मानिस आएमा संक्रमण फैलिने जोखिमलाई ख्याल गर्दै गाउँपालिकाले देवघाटधाम प्रवेश गर्ने सबै नाकामा कर्डाई गरेको गाउँपालिकाका अध्यक्ष दुर्ग बहादुर थापाले बताए ।

सधै जसो चहलपहल र भक्तजनको भिडभाड रहने देवघाट क्षेत्र कोरोना कहरका कारण सुनसान भएको ५९ वर्षीया वृद्धा मनु सुवेदी बताउँछिन् । उनले भनिन्, ‘निषेधाज्ञाका कारण स्वास्थ्यमा समस्या देखिएपनि सहज रुपमा उपचार गर्न जान नपाएको र धार्मिक क्षेत्र सुनसान हुँदा नरमाइलो लाग्ने गरेको छ ।’

कोरोना कहरका कारण निषेधाज्ञा जारी गरिएपछि तनहुँको पवित्र धार्मिक तिर्थस्थल देवघाटधाम सुनसान बनेको छ ।तस्विर : नारायण खड्का/भञ्ज्याङ

देवघाट क्षेत्रको महिमाबारे पुराणहरूमा चर्चा गरिएको पाइन्छ । वराहपुराण, पद्मपुराण, स्कन्दपुराण आदिमा देवघाटको चर्चा गरिएको बताइन्छ । भगवान् विष्णुको वामन अवतार भएको बेला बलिराजामाथि विजय प्राप्त गरेपछि त्रिविक्रम बनी भगवानले जहाँ चरण राख्नुभयो, त्यहाँ एउटा सुन्दर तलाउ बन्यो । त्यो नै देवघाट हो भन्ने पुराणहरूमा उल्लेख छ । शिव भगवानको त्रिशूलबाट बगेको नदी त्रिशूली र शालिग्राम ढुङ्गा पाइने एकमात्र नदी कालीगण्डकीको संगमस्थल रहेको यस धाममा भगवान् पनि स्नान गर्न आउने विश्वासका साथ भक्तजनहरु यहाँ पुग्ने गर्दछन् ।

यस पवित्र भूमिमा शिव भगवानले तपस्या गरेको, ऋषिमुनिले तपस्या गरेको चर्चा पनि पुुराणहरूमा छ । यहाँ स्नान गर्नाले ठूलो यज्ञ गरेको, गाइदान गरेको, चारधाम तीर्थ गरेकोभन्दा धेरै पुण्य मिल्ने विश्वास गरिन्छ ।

यो पवित्र धार्मिक स्थलमा कोरोना संक्रमण नफैलियोस भनि देवघाट गाउँपालिकाले आश्रममा बस्दै आएका वृद्धवृद्धाहरुलाई कोरोना विरुद्धको खोप समेत लगाइसकेको छ । विभिन्न सामाजिक संघ संस्थाहरुले वृद्धवृद्धाको स्वास्थ्य परीक्षणका साथै अन्य आवश्यकातालाई सहजिकरण गर्दै पनि आएको सदस्य पौडेलले बताए ।

देवघाटधाममा दामोदर कुण्डबाट बगेर आउने कालीगण्डकी र गोसाइँकुण्डबाट बगेर आउने त्रिशूलीसँगै सेती, मर्स्याङ्दी, दरौँदी, मादी लगायत नदी पनि मिसिएर आइपुग्छन् । माघेसंक्रान्ति, वैशाख संक्रान्ति, ठूली एकादशी, बालाचतुर्थी, ग्रहण लागेको समय, साउन महिना लगायत समयमा धर्मावलम्बीको भीड लाग्ने गर्दछ । यहाँ स्नान गर्नाले मोक्ष पाइने विश्वास छ ।

देवघाट क्षेत्रमा वशिष्ठ गुफा र सीता गुफा, चक्रेश्वर मन्दिर, बद्रीनाथ मन्दिर, केदारनाथ मन्दिर, वागीश्वरी मन्दिर, महेश सन्न्यास आश्रम, हरिहर सन्यास आश्रम, गलेश्वर आश्रमका साथै यस क्षेत्रमा भित्र दर्जनौँ मन्दिर, देवालय, मठ, गुम्बा, आश्रम, वृद्धवृद्धाका लागि निःशुल्क आश्रम, नयाँ बनेको पशुपति मन्दिर यहाँ आउने भक्तजनका लागि महत्वपूर्ण छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker