बेंसीसहर-चामे सडक २७ वर्षपछि कालोपत्र गरिंदै
रासस/लमजुङ

ट्रयाक खोलेको २७ वर्षपछि बेँसीसहर-चामे सडक कालोपत्र गरिँदै छ । स्थानीयवासीको श्रमदान र सरकारको सहयोगमा सडक कालोपत्र गर्न थालिएको हो । विसं २०५१ मा यस खण्डअन्तर्गत बेँसीसहरबाट खुदीसम्म मोटरबाटोको ट्रयाक खोल्ने काम भएको थियो ।
बेँसीशहर-चामे सडक अन्तर्गत बेँसीसहरबाट खुदीसम्मको करिब सात दशमलव आठ किलोमिटर सडक कालोपत्र गर्न पहिलो चरणको काम भइरहेको डुम्रे-बेँसीसहर-चामे सडक योजना कार्यालयका सूचना अधिकारी पुरुपोत्तम अधिकारीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “सडक चौडाइ गर्ने, पर्खाल निर्माण, कल्भर्ट हाल्ने लगायत काम भइरहेको छ ।” पाँच दशमलव पाँच मिटर सडक, एक दशमलव एक मिटरको नाली तथा एक मिटर चौडाइको पैदल बाटो निर्माण भइरहेको छ । सो काम सकिएपछि अस्फाल्ट प्रविधिको कालोपत्र गरिनेछ । पहिलो चरणको काम आगामी असारसम्म सकिने छ ।
आशिष अनेस्ट जेभी चितवनले २०८० असार मसान्तसम्म कालोपत्र सक्ने गर्ने गरी गत असारमा सम्झौता गरेको हो । सो कार्यका लागि कूल रु ५२ करोड ९६ लाख खर्च हुने अधिकारीले जानकारी दिनुभयो । वर्खाका कारण असोजदेखि मात्र काम सुरु भएको आयोजनाले जनाएको छ ।
बेँसीसहरदेखि खुदीसम्मको करिब साढे सात किलोमिटर सडक खण्डभित्र पर्ने बेँसीसहर नगरपालिका-६ स्थित ३०० मिटर लामो खरखरेभिरका लागि चाँडै बोलपत्र आहृवान गरिने भएको छ । खुदीबाट मनाङसम्म सडकको ट्रयाक नेपाली सेनाले २०६९ सालमा खोलेर डिभिजन सडक कार्यालय दमौलीलाई हस्तान्तरण गरेको हो । उक्त ६५ किलोमिटर लामो सडकले लमजुङ र मनाङलाई जोडेको छ । लमजुङतर्फ ३५ किलोमिटर तथा मनाङतर्फ ३० किलोमिटर सडक पर्छ ।










