भानुको नीति : उत्पादन र उत्पादकत्व वृद्धि गरी आत्मनिर्भरता तर्फ उन्मुख हुने

वन्यजन्तु संरक्षण एवं वनका बाँदर वनैमा रोक्ने वातावरण सृजना गर्न वनजंगलमा फलफूलका बोटविरुवा लगाइने

भानु । तनहुँको भानु नगरपालिकाले कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गरी पालिकालाई कृषि उपजमा आत्मनिर्भरता उन्मुख बनाउने नीति लिएको छ । शुक्रबार आयोजित पालिकाको १४औं नगरसभामा आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नगरप्रमुख आनन्दराज त्रिपाठीले कृषि, पशुपालन तथा पर्यटन क्षेत्रबाट पालिकालाई समृद्ध बनाउने गरी नीति तथा कार्यक्रम ल्याइएको बताएका छन् ।

कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गरी क्रमशः आत्मनिर्भरता हासिल गर्नका लागि तीनै तहका सरकार बिच समन्वयमा सामुहिक तथा करार खेतीलाई प्रोत्साहित गर्दै उत्पादित वस्तुको बजारिकरण गर्ने नीति लिइएको बताउँदै नगरप्रमुख त्रिपाठीले भने, ‘एकिकृत राष्ट्रिय अनुदान सम्बन्धी कानुन एवं कृषि अनुसन्धान नीति तर्जुमा गरिने छ ।’

‘गुणस्तरी बीउ विजनमा यस नगरपालिकालाई आत्मनिर्भर बनाउनका लागि रैथाने वाली, बिउ विजन, डाले तथा भुइ घाँस उत्पादन स्रोत केन्द्रको स्थापना गरी नगरलाई विउविजन र घाँसको विरुवामा आत्मनिर्भर बनाई अन्यत्र निकासीको वातावरण सृजना गर्र्छौ’, उनले भने, ‘कृषि जैविक विविधता संरक्षणमा सामुदायलाई प्रोत्साहन गर्ने, रैथाने वालीको संरक्षण र प्रवर्द्धन गर्दै कृषकहरुको माग बमोजिम हाईब्रिड तथा उन्नत जातको बीउ उपलब्ध गराउने र प्राङ्गारिक तथा जैविक मलको उत्पादन र उपयोगलाई प्रोत्साहित गर्ने नीति लिएका छौ ।’

नगरसभामा उपयोगमा नआएका तथा बाँझो जमिनमा कृषि खेती प्रवर्द्धन गर्न युवा लक्षित सहकारी तथा सामुहिक खेती प्रणालिलाई प्रोत्साहन, कृषि उत्पादन वृद्धि गर्न भुमिको चक्लाबन्दीलाई प्रोत्सहान गर्ने, अर्गानिक कृषि उत्पादनलाई प्रोत्साहन गर्ने, अदुवा, बेसार लगायत कृषि वस्तुको निर्यात प्रवर्द्धनका कार्यक्रम संचालन गर्ने नीति तथा कार्यक्रम ल्याइएको नगरप्रमुख त्रिपाठीले जानकारी गराएका थिए ।

यस्तै, जलवायु परिवर्तनका असरलाई न्यूनिकरण एवं अनुकुलका उपायहरु अबलम्बनलाई प्राथमिकताका साथ अगाडी बढाउन जलवायुमैत्री कृषि प्रविधिहरुको प्रयोगलाई प्रोत्सहान गर्ने नीति नगरपालिकाले लिइएको जानकारी गराउँदै नगरप्रमुख त्रिपाठीले भने, ‘नगरक्षेत्रको कृषि विकासका लागि तयार भएका रणनीति, आवधिक योजनालाई समेट्ने गरी कार्यक्रम संचालनका लागि योजना तयार गर्ने, माटो परीक्षणका आधारमा पकेट क्षेत्र निर्धारण गरी कृषिलाई विविधिकण र व्यवसायिकरण गर्ने कार्यलाई प्रभावकारी बनाइने, खाद्यान्न वाली, अदुवा, वेसार सनुतला, एभोकार्र्डो, कागती, लिची, गोलभेडा, आलु उत्पादनको विशेष क्षेत्र तोकि कार्यक्रम संचालन गरिनेछ ।’

कृषि जन्य उत्पादित वस्तुहरुको बजारिकरणको लागि कृषि एम्बुलेन्सको व्यवस्थापन गर्ने नीति लिएको पालिकाले व्यवसायिक कृषिजन्य वस्तुको उत्पादनलाई प्रोत्साहन गरी आत्मनिर्भरता तर्फ उन्मुख गराउने नीति ल्याएको छ । ‘माध्यामिक विद्यालय सञ्चालन भएका कुनै एउटा विद्यालय छनोट गरी पढ्दै कमाउँदै कार्यक्रम लागु गर्ने नीति ल्याएका छौ’, नगरप्रमुख त्रिपाठीले भने, ‘बांदर आतंक एवं बांदरबाट कृषिजन्य उपजको क्षतिलाई न्यूनीकरण गर्नको लागि वन्यजन्तु संरक्षण एवं वनको बाँदर वनैमा रहने वातावरण सृजना हेतु वनजंगलमा फलफुलका बोटविरुवाहरु लगाइने कार्यक्रम अघि बर्ढाईनेछ ।’ चिया, अलैंची र अदुवा आदि कृषि उपजको उत्पादनको लागि विशेष कार्यक्रम सञ्चालन गरी कृषिलाई पर्यटनसंग जोड्ने वातावरणको सृजना गरी कृषक तथा युवालाई प्रोत्साहन गर्ने कार्यक्रम सञ्चालन गर्ने नीति नगरपालिकाले ल्याएको छ ।

यस्तै, नगरपालिकाले पशुपंक्षी तथा मत्स्य विकास कार्यक्रम अन्तर्गत पालिकालाई दुध, अण्डा, मासु र माछामा आत्मनिर्भर बनाउन व्यवसायिक पशुपालक कृषकलाई प्रोत्साहान गर्ने नीति अवलम्वन गर्ने भएको छ । पशुबाट मानिसमा र्सर्ने रोगहरु फैलिन नदिनका लागि सचेतनामुलक कार्यक्रम संचालन गरिने भएको छ । घाँस खेतीमा आधारित पशुपालन गरी उत्पादन लागत कम गर्न घाँस विकास कार्यक्रमलाई जोड दिने लिएको नगरपालिकाले कृषकहरुले पालन गर्दै आएका सबै पशुहरुमा खोप कार्यक्रम संचालन गरी पूर्ण पशु खोपयुक्त नगरपालिका बनाउन कार्यक्रम संचालन गर्ने भएको छ ।

‘एक वडा एक पशु उत्पादन कार्यक्रमलाई जोड दिने, पशु स्वास्थ्य र बाझोपन न्यूनिकरण कार्यक्रम संचालन गर्ने, पशु नश्ल सुधार कार्यक्रमलाई प्रभावकारी रुपमा संचालन गर्ने, मासु तथा दुग्ध पसल संचालन तथा सुधारमा प्रोत्साहान गरिनेछ’, नगरप्रमुख त्रिपाठीले भने, ‘पशुपालन क्षेत्रमा लगानी वृद्धि गर्न सरल कर्जा नीति अवलम्वन गर्ने, कृषि तथा पशु पालन गर्न युवा कृषकलाई प्रोत्साहान नीति ल्याउने, उत्पादनमा आधारित अनुदान कार्यक्रमलाई क्रमशः लागु गर्दै जाने, पशु उत्पादनको बजार व्यवस्था मिलाउने कार्यक्रम संचालन गरी पशुपंक्षी पालन कार्यक्रमलाई व्यवस्थित बनाउन अनुदानको कार्यक्रम प्रभावकारी रुपमा अगाडि बढाइने छ ।’

रेबिज रोग नियन्त्रण गर्न सामुदायिक छाडा कुकुरलाई बन्ध्याकरण तथा खोप संचालन कार्यक्रमलाई निरन्तरता दिने, कृषि तथा पशु वीमा पूर्ण रुपमा लागु गर्ने, ‘पशु स्वास्थ्यमा नगरपालिका को टेवा खोर गोठमा प्राविधिक सेवा” भन्ने नाराका साथ विभिन्न रोग नियन्त्रणका लागि निःशुल्क पशु खोप, स्वास्थ्य शिविर, पशुपंक्षी तथा मत्स्यको उपचार, परजीवी नियन्त्रण सेवा जस्ता कार्यक्रम संचालन गर्ने नगरपालिकाले सार्वजनिक गरेको छ ।

यस्तै, स्थानीय स्तरमा रहेका स्थानीय जातका पशुपंक्षीको स्रोत संरक्षण गर्न विशेष कार्यक्रम संचालन गर्ने, पशुपालनका क्षेत्रमा प्रयोग हुने यन्त्र तथा उपकरणको प्रयोग गरी उत्पादन तथा उत्पादकत्व वृछि गर्न कृषि यान्त्रीकरण कार्यक्रम संचालन गर्ने, स्वस्थ्य र स्वच्छ पशुपंक्षी उत्पादन तथा उपभोगका लागि रासायनिक र एन्टीबायोटिकको व्यवस्थित प्रयोग बारे सचेतना फैलाउने कार्यक्रम संचालन गरिने भएको छ ।

‘गोठदेखि ओठसम्म’ भन्ने नाराका साथ पशुपंक्षी जन्य उत्पादनलाई सुरक्षीत भण्डारण तथा बजारीकरणमा जोड दिने, पशुपालन सम्बन्धी नयाँ प्रविधिको प्रचार प्रसारको लागि तालिम भ्रमण लगायतका कार्यक्रम संचालन गर्ने, पशु सेवा तथा स्वास्थ्य क्षेत्रका प्राविधिक कर्मचारीलाई क्षमता अभिवृद्धि गर्नका लागि कार्यक्रम संचालन गर्ने, विपद तथा महामारी रोगबाट क्षति भएका पशुपंक्षीको राहतका उपलब्ध गराउने कार्यक्रम सञ्चालन गरिने भएको छ ।

यस्तै, कृषक सम्मान कार्यक्रमलाई निरन्तरता दिने, कृषि प्रदर्शनीको माध्यमबाट पशुजन्य उत्पादनलाई प्रवर्द्धन गर्ने खालका कार्यक्रम सञ्चालन गरिनुका साथै पालिका भित्र संचालनमा रहेका पशुपंक्षी तथा मत्स्य फर्म, एग्रोभेट, हृयाचरी, डेरी, मासु तथा माछा पसल, बधशालाको नियमित अनुगमन गर्न भेटेरिनरी निरिक्षण कार्यक्रम संचालन गर्ने नीति नगरपालिकाले ल्याएको छ ।

भानु जन्मस्थल जाऊँ भानुलाई चिनाऔं भन्ने नाराका साथ नेपाल, नेपाली र भानुवासीको पहिचानको उद्देश्य राखि भानु जन्मस्थलको विकासको सुरुवात गरिएको प्रारम्भिक गुरुयोजना अन्तर्गत आदिकवि भानुभक्तको विशाल प्रतिमा, सप्तधाम निर्माण, जग्गा अधिकरण, साहित्यिक पार्क, पूर्वाधार निर्माणको लागि संघीय सरकार, दात्री निकाय एवं देश विदेशमा आवश्यक समन्वय गरिने भएको छ । भानुको पहिचान विर्के टोपी नगर भित्रका सरकारी कार्यालय, सामुदायिक विद्यालय, टोल आदि स्थलमा लगाऊन प्रोत्साहित गरिने नीति नगलपालिकाले अवलम्बन गरेको छ ।

आगामी ५ वर्षभित्र अधिक घरधुरीलाई आधारभूत मापदण्डको सफा एवं स्वच्छ खानेपानी उपलब्ध गराइने, खानेपानीको वितरण प्रणालीलाई थप प्रभावकारी एवं व्यवस्थित बनाइने, परम्परागत पानी पोखरी, दुङ्गेधारा र मुलको संरक्षण गरी समग्र विकासको समुन्नत भानु नगरको लक्ष्य हाँसिल गर्न सार्वजनिक, निजी क्षेत्र र समुदायको साझेदारी एवं सहभागीतामा विकास गर्ने नीति नगरपालिकाले ल्याएको छ ।

यूवा जनशक्तिलाई स्थानीय स्तरमै टिकाई आय, उत्पादन र रोजगारीका कार्यलाई प्रवर्द्धन गर्ने, सेवा प्रवाहलाई थप प्रभावकारी बनाई सुशासनको प्रत्याभूत गराउन नगरपालिकाको क्षमता विकास गर्ने अपरिहार्यताको लागि विद्युतीय सुशासन प्रणालीलाई सेवा प्रवाह व्यापक र प्रभावकारी बनाउने, प्राथमिकताका क्षेत्रहरुमा सर्वशुलभ एवं स्वस्थ्यमा सहज पहुँच, गुणस्तरप्य शिक्षा, कृषि तथा पशुपालन तथा रैथाने वाली संरक्षण, प्रवर्द्धन तथा बजारीकरण, सुशासन अभिवृद्धि, दिगो लक्ष्य प्राप्तिका भौतिक पूर्वाधार संरचना निर्माण, वातावरण संरक्षण, विपद तथा आपतकालिन व्यबस्थापन, सामाजिक सुरक्षा, उद्यमशिलता, रोजगारी सिर्जना तथा नवप्रवर्तन, सार्वजनिक जग्गाको संरक्षण तथा नीजि-सहकारी साझेदारी/पर्यटन विकासमा जोड दिईने नीति तथा कार्यक्रममा सार्वजनिक गरिएको छ ।

‘साहित्य, पर्यटन र कृषि क्षेत्र हाम्रो, पारौ समृद्ध र समुन्नकत भानु राम्रो’ भन्ने नारा राखी नगरस्तरीय अस्पताल कालिमाटिको नयाँ भवन निर्माण कार्यलाई तीब्रता दिई आगामी २ वर्ष भित्र सम्पन्न गरी नयाँ भवनबाट सेवा सञ्चालन गर्ने, पुरनडिही नगर अस्पतालको अत्याधुनिक भवन निर्माण कार्यलाई आगामी वर्ष भित्रमा सम्पन्न गरी नयाँ भवनबाट सेवा सुरुवात गर्ने, नविनतम प्रबिधि अपनाई प्रयोगशाला तथा एक्स-रे सेवा पूर्ण रुपमा डिजिटल गर्राईने भएको छ ।

भूमिहिन, सुकुम्बासी र अब्यवस्थितहरुलाई भूमी आयोग मार्फत निश्चित मापदण्डको आधारमा बसोबासको व्यवस्थासहितको लालपूर्जा उपलब्ध गराइने, नगरपालिका भित्र रहेका सार्वजनिक जग्गा, सामुदायिक वन क्षेत्रमा रहेका खाली जग्गाहरु एवं अन्य खालीठाउँ तथा निजी जग्गाहरुमा फलफूल, जडिबुटी एवं अन्य जंगली फलहरु लाग्ने विरुवा लगाइने, निर्माण तथा चौतारी संरक्षण संवर्द्धन गर्ने तथा यसवर्ष १ वडा १ चौतारी र १ पोखरी निर्माण गरिने नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker