डोना हिमतालको जोखिम : मर्स्याङ्दी तटीय क्षेत्रसम्म बढ्दो चिन्ता, मनाङदेखि तनहुँसम्म असर

तनहुँ : मनाङको डोना (थुलागी) हिमतालमा देखिएको जोखिमले मर्स्याङ्दी नदीको तल्लो तटीय क्षेत्रको सुरक्षामाथि समेत प्रश्न उठाएको छ। हिमताल विस्फोट भई अचानक ठूलो बाढी आए त्यसको प्रभाव मस्र्याङ्दी नदी हुँदै मनाङ, लमजुङ, गोरखा र तनहुँसम्म पर्न सक्ने भएकाले जोखिमको पुनःमूल्याङ्कन, नियमित अनुगमन र पूर्वसूचना प्रणालीलाई प्राथमिकतामा राख्नुपर्ने देखिएको छ ।
मनाङको नासोँ गाउँपालिका–२ मा रहेको डोना हिमताललाई विगतदेखि नै सम्भावित जोखिमयुक्त हिमतालका रूपमा पहिचान गरिएको छ। विभिन्न अध्ययनअनुसार तालको क्षेत्रफल करिब ०.९ वर्गकिलोमिटर रहेको छ भने सन् २०१७ को सर्वेक्षणमा यसको अधिकतम गहिराइ ७६ मिटर मापन गरिएको थियो ।
तर ती अध्ययन केही वर्ष पुराना भइसकेकाले अहिले तालको क्षेत्रफल, पानीको मात्रा, हिमनदीको अवस्था तथा आसपासको भौगोलिक संरचनामा आएको परिवर्तनबारे पुनः स्थलगत अध्ययन आवश्यक देखिएको छ । विगतमा पहिचान गरिएको जोखिम हाल कुन अवस्थामा छ भन्ने यकिन गर्न नियमित वैज्ञानिक अनुगमन अपरिहार्य रहेको विज्ञ तथा स्थानीय अधिकारीहरूको भनाइ छ ।
नासोँ गाउँपालिका–२ का वडाध्यक्ष रवि गुरुङले डोना हिमताल जोखिमयुक्त भए पनि तत्कालै विस्फोट हुने अवस्था नरहेको बताए । उनका अनुसार तालको आकार भने विगतको तुलनामा परिवर्तन हुँदै विस्तार भइरहेको छ ।
गुरुङले भने, ‘ताल जोखिममा छ, अहिलेसम्म केही भएको छैन। आकार पहिलाको भन्दा फरक हुँदै ठूलो भइरहेको छ ।’ तालको जोखिम न्यूनीकरणका लागि गाउँपालिकाले पहल गरिरहेको भए पनि आवश्यक संरक्षण तथा व्यवस्थापनका लागि ठूलो बजेट आवश्यक पर्ने उनले बताए । प्रदेश र संघीय सरकारसँग सहयोगका लागि पहल भइरहेको तथा स्थानीयलाई जोखिमबारे जानकारी गराउने र सचेत बनाउने काम भइरहेको उनको भनाइ छ ।
मनास्लु हिमालको फेदीमा रहेको डोना ताल प्राकृतिक सौन्दर्यका कारण पर्यटकीय गन्तव्यसमेत बन्दै गएको छ। वडाध्यक्ष गुरुङका अनुसार विदेशी तथा आन्तरिक पर्यटक गरी वार्षिक करिब दुई सय जना ताल क्षेत्रमा पुग्ने गरेका छन् । मनाङका प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालले पनि डोना हिमतालको जोखिमलाई बेवास्ता गर्न नहुने बताए । उनका अनुसार तालमा बालुवा तथा माटो थुप्रिँदै जानु चिन्ताको विषय हो ।
उनले भने ‘ताल तत्काल फुट्छ भन्न सकिँदैन, तर तत्काल फुट्दैन भन्न सकिने अवस्था पनि छैन। जुनसुकै बेला जोखिम हुनसक्छ ।’ जिल्लामा सामान्य विपद् प्रतिकार्यका लागि तयारी भए पनि ठूलो आयामको हिमताल विस्फोटजन्य बाढी आए त्यसलाई तत्काल सामना गर्ने क्षमता सीमित रहेको उनले बताए । जोखिम न्यूनीकरणका लागि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा अनुरोध गरिएको र जिल्लास्तरीय बैठकबाट समेत आवश्यक पहल गर्ने निर्णय भएको उनको भनाई छ ।
हिमताल फुटेर ठूलो बाढी आए मनाङका विभिन्न बस्ती हुँदै मर्स्याङ्दी नदीको बहाव क्षेत्रका तल्लो जिल्लासम्म प्रभाव पर्न सक्ने प्रशासनको आकलन छ । बाढीबाट बस्ती, सडक, पुल, जलविद्युत् आयोजना तथा अन्य भौतिक संरचनामा क्षति पुग्न सक्ने भएकाले सम्भावित जोखिम क्षेत्रको पहिचान र समयमै सूचना प्रवाहमा जोड दिनुपर्ने अधिकारीहरूले बताएका छन् ।
यसैबीच, लालुपाते हाइड्रोपावरले डोना ताल आसपास जलविद्युत् आयोजना निर्माणको प्रक्रिया अघि बढाइरहेको छ । तालको पानी उपयोग गर्ने विषयमा समेत अध्ययन भइरहेको प्रजिअ खनालले जानकारी दिए । तालको जोखिम र त्यससँग सम्बन्धित संरचनालाई समेत ध्यानमा राखेर आयोजना तथा जोखिम व्यवस्थापनका विषयमा आवश्यक अध्ययन गर्नुपर्ने उनको भनाइ छ ।
हिमतालका जानकार सुदन विकास महर्जनले डोना हिमतालको वर्तमान अवस्था स्थलगत अध्ययनबिना यकिन गर्न नसकिने बताउनुभयो । हिमतालको जोखिम नयाँ नभएकाले नियमित अनुगमन र वैज्ञानिक मूल्याङ्कन आवश्यक रहेको उनको भनाइ छ ।
महर्जनका अनुसार जोखिमयुक्त हिमतालको अवस्था सामान्यतया दुई–तीन वर्षको अन्तरालमा स्थलगत रूपमा अनुगमन गर्नु आवश्यक हुन्छ। सरकारले जोखिमयुक्त हिमतालको निरीक्षण गरी जोखिम न्यूनीकरणका लागि आवश्यक प्राविधिक तथा संरचनागत उपाय अघि बढाउनुपर्ने उनले बताए ।
लमजुङदेखि तनहुँसम्म जोखिमको प्रश्न
मर्स्याङ्दी नदी मनाङबाट लमजुङ हुँदै गोरखा र तनहुँ पार गरेर त्रिशूली नदीमा मिसिन्छ। त्यसैले डोना हिमतालबाट उत्पन्न हुन सक्ने ठूलो बाढीको जोखिमलाई मनाङमा मात्र सीमित नराखी मस्र्याङ्दी नदीको तल्लो तटीय क्षेत्रसम्म जोडेर हेर्नुपर्ने देखिएको छ ।
लमजुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनालले डोना हिमतालका कारण मस्र्याङ्दी नदीमा ठूलो बाढी आए जिल्लाको तल्लो तटीय क्षेत्र प्रभावित हुन सक्ने बताए । उनका अनुसार सुन्दरबजार आसपासका तल्लो भूभाग, बेँसीसहरका केही तल्लो क्षेत्र तथा मर्स्याङ्दी करिडोरमा रहेका जलविद्युत् आयोजनासमेत जोखिममा पर्न सक्छन् । उनले भने, ‘मनाङ र लमजुङ बढी जोखिममा पर्न सक्ने क्षेत्र हुन् । ताल फुट्छ वा फुट्दैन भनेर अहिले नै निश्चित भन्न सकिने अवस्था छैन ।’
ठूलो आयामको विपद् आए हाल उपलब्ध स्रोतसाधनले त्यसलाई पूर्ण रूपमा सामना गर्न कठिन हुनसक्ने भएकाले पूर्वसूचना र उद्धार क्षमतालाई बलियो बनाउनुपर्ने उनले बताए । सम्भावित विपद्मा मानवीय क्षति रोक्ने विषयलाई प्राथमिकतामा राखेर तयारी भइरहेको उनको भनाइ छ ।
हिमताल विस्फोटबाट उत्पन्न हुने बाढीलाई पूर्ण रूपमा रोक्न सम्भव नहुन सक्छ । तर तालको नियमित अनुगमन, जोखिमको पुनःमूल्याङ्कन, सम्भावित बाढीको बहाव क्षेत्रको नक्साङ्कन, पूर्वसूचना प्रणालीको विकास तथा स्थानीय तह र सुरक्षा निकायबीचको समन्वयबाट क्षति न्यूनीकरण गर्न सकिने विज्ञहरूको सुझाव छ ।
मर्स्याङ्दी करिडोरमा बस्ती, सडक, पुल, जलविद्युत् आयोजना तथा अन्य महत्वपूर्ण पूर्वाधारसमेत रहेकाले डोना हिमतालको जोखिमलाई हिमाली क्षेत्रमा सीमित विषयका रूपमा मात्र नहेरी मस्र्याङ्दी नदीको तल्लो तटीय क्षेत्रको समग्र विपद् व्यवस्थापन योजनासँग जोड्नुपर्ने आवश्यकता देखिएको छ ।










