तनहुँमा पनि गठबन्धन गर्न कार्यदल बनाइदै
भञ्ज्याङ समाचारदाता/दमौली

स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जाने तनहुँका चार दलले निर्णय गरेका छन् । केन्द्रमा रहेको गठबन्धनलाई स्थानीय तहको निर्वाचनमा पनि कार्यान्वयन गर्ने निर्णय गरिएको हो ।
नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीका नेताहरूको सोमबार बसेको बैठकले आवश्यकता परेको खण्डमा वडास्तरसम्मै गठबन्धन गरेर जाने निर्णय गरेका छन् । निर्वाचनमा गठबन्धनका लागि दसवटै पालिकामा कार्यदल गठन गर्ने सहमति भएको नेपाली कांग्रेसका सचिव लक्ष्मीभक्त खनालले बताए ।
उनका अनुसार हरेक पालिकामा दुइ/दुइजना रहने गरी कार्यदल बनाइनेछ । उक्त कार्यदलले गठबन्धनका लागि आवश्यकता अनुसार निर्णय गर्ने सहमति भएको खनालले बताए । उनले भने, ‘केन्द्रमा गरिएको निर्णयलाई स्वागत गर्दै तनहुँमा पनि त्यसको कार्यान्वयन गर्ने सहमति भएको छ, कार्यदल गठन गरेर गठबन्धनलाई कसरी लैजाने भन्ने विषयमा छलफल हुन्छ ।’
बैठकमा नेपाली कांग्रेसका सभापति जितप्रकाश आले, निवर्तमान सभापति वैकुण्ठ न्यौपाने, माओवादी केन्द्रका केन्द्रीय सदस्य हरि चुमान, जिल्ला अध्यक्ष राजेन्द्रकेशरी न्यौपाने, एकीकृत समाजवादीका जिल्ला अध्यक्ष शंकरनारायण श्रेष्ठ, केन्द्रीय सदस्य चित्रबहादुर थापा, जनता समाजवादीका केन्द्रीय सदस्य शिवलाल थापा र जिल्ला अध्यक्ष कृष्ण गुरुङ सहभागी रहेका थिए ।










