आदिकवि भानुभक्त क्याम्पसमा “गुरुङ भाषा, साहित्य, कला र संस्कृति संवर्धन वर्ष” कार्यक्रम

दमौली : तनहुँको दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पसले सन् २०२६ लाई गुरुङ जातिको भाषा, साहित्य, कला र संस्कृति संवर्धन तथा विकास वर्षका रूपमा मनाउने निर्णय गरेको छ। स्थानीय आदिवासी जनजातिहरूको भाषा, संस्कृति, कला र साहित्यको संरक्षण, संवर्धन र विकासमा निरन्तर क्रियाशील रहँदै आएको क्याम्पसले यसअघि सन् २०२५ मा मगर भाषा, साहित्य, कला र संस्कृतिसम्बन्धी विविध कार्यक्रमहरू सञ्चालन गरेको क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले जानकारी गराए ।
सन् २०२६ लाई गुरुङ भाषा, संस्कृति, साहित्य र कला संवर्धन तथा विकासको वर्षका रूपमा मनाउने निर्णय मङ्गलबार बिहान क्याम्पस सभा हलमा आयोजित भेलाले गरेको हो । उक्त भेला क्याम्पसको आदिवासी जनजाति भाषा तथा संस्कृति संवर्धन एवं विकास समितिको आयोजनामा सम्पन्न भएको थियो ।
समितिका संयोजक ठाकुर दरैको अध्यक्षतामा बसेको भेलाले ‘गुरुङ भाषा, संस्कृति तथा कला संरक्षण कार्ययोजना–२०२६’ सर्वसम्मत रूपमा पारित गरेको छ। कार्ययोजना क्याम्पस प्रमुख हडखलेले प्रस्तुत गरेका थिए ।
पारित कार्ययोजनामा गुरुङ जातिको भाषा, संस्कृति, साहित्य र कला सम्बन्धी प्रशिक्षण, सम्मेलन, प्रदर्शनी, गुरुङ मितेरी गाउँ पहिचान कार्यक्रमलगायत विविध गतिविधिहरू समेटिएका छन् ।
भेलामा गुरुङ समुदायका शिक्षा, संस्कृति, कला तथा साहित्य क्षेत्रका अगुवा, क्याम्पसका विद्यार्थी, प्राध्यापक तथा कर्मचारीहरूको उल्लेख्य सहभागिता रहेको थियो। भेलाले हरिसिंह गुरुङको संयोजकत्वमा विज्ञ समूह, सु. देवबहादुर गुरुङको संयोजकत्वमा सल्लाहकार समूह र विद्यार्थी रोहन गुरुङको संयोजकत्वमा सहयोगी समूह गठन गरेको छ । सल्लाहकार समूहको सदस्य–सचिवमा क्याम्पसका प्राध्यापक वीरबहादुर गुरुङ र विज्ञ समूहको सदस्य–सचिवमा क्याम्पसका पूर्व स्ववियू सदस्य गलबहादुर गुरुङ चयन भएका छन् ।










