भूमिहीनले कहिले पाउँछन् पुर्जा ?

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँका दशवटै पालिकामा भूमिको समस्या छ । वर्षौंदेखि हजारौँ सर्वसाधारण भूमिहीन भएर बस्न बाध्य छन् । वर्षौदेखि बस्दै आएको आफ्नै जग्गाको पुर्जा छैन उनीहरुसँग । सरकारले पटकपटक भूमि आयोग बनायो, भूमिहीनको समस्या ज्यूँकात्यूँ छ ।

तैपनि लालपुर्जा पाउने आश सर्वसाधारणमा मरिसकेको छैन । जिल्लाका १० पालिकामा भूमिहीन दलित एक हजार एक सय आठ, भूमिहीन सुकुम्बासी एक हजार आठ सय ७२ र अव्यवस्थित बसोबासी २३ हजार एक सय ३७ गरी २६ हजार एक सय १७ जनाको निवेदन दर्ता भएको छ ।

जिल्लाका विभिन्न पालिकाले भूमिहीनलाई निवेदन दर्ताको निस्सा बाँडिरहेका छन् । निस्सा पाउँदा मात्रै पनि खुसी भएका भूमिहीन पुर्जा कहिले पाइन्छ भन्ने आशमा छन् । भानु नगरपालिका-१ नयाँबस्तीका रामबहादुर परियारले निस्सा पाएको अब पुर्जाको आशमा रहेको बताउनुभयो । निस्सा पाएपछि अब लालपुर्जा पाउने आश पनि जागेको उहाँ बताउनुहुन्छ । “अब त पुर्जा पाउँछु कि भन्ने आश जागेको छ, धेरै खुसी लागेको छ, पुर्जा पनि छिट्टै पाए हुन्थ्यो”, परियारले भन्नुभयो ।

बुबा, हजुरबुबा र जिजुहजुरबुबाको पालादेखि नै आफूहरुको जग्गाको पुर्जा नभएको उहाँले गुनासो गर्नुभयो । “चार पुस्ता भइसक्यो अझै पुर्जा छैन, अब त पाउँछौँ कि जस्तो लागेको छ”, उहाँले भन्नुभयो । सुकुम्बासीलाई लालपुर्जा वितरणका लागि पटकपटक आयोग बने पनि पुर्जा नपाएको विगत सम्झीदै उहाँ भन्नुहुन्छ, “यो आयोग पहिलाको जस्तै नहोस्, जग्गा मिल्ने आशामा कैयौँ पटक आन्दोलनमा गयौँ तर पुर्जा पाएनौँ ।” सोही ठाउँकी ८० वर्षीया डिलकुमारी रानाले पुर्जा पाउने आशमा बसेको वर्षौं बितिसकेको बताउनुभयो ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले गठन गरेको राष्ट्रिय भूमि आयोगले तनहुँमा जग्गा नापजाँचको प्रक्रिया अगाडि बढाएको छ । राष्ट्रिय भूमि आयोग तनहुँको सहकार्यमा जिल्लाका केही स्थानीय तहले भूमिहनि दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा दिने प्रक्रियास्वरुप जग्गाको नापजाँचको काम सुरु गरेका छन् ।

आँबुखैरेनी गाउँपालिका, शुक्लागण्डकी नगरपालिका र देवघाट गाउँपालिकाले जग्गा नापजाँचको कामलाई अगाडि बढाएका छन् । आँबुखैरेनी गाउँपालिकाले वडा नं २ गाउँबेंसी टोलबाट जग्गा नापीको काम सुरु गरेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताउनुभयो । लामो समयदेखि भूमिहीन र अव्यवस्थित बसोबासीका रुपमा रहेका सर्वसाधारणलाई लालपुर्जा प्रदान गर्नका लागि समयमै नापजाँच कार्य सम्पन्न गराउने उहाँले बताउनुभयो । “चुनाव आउँदैछ, चुनावका लागि भोटका लागि यो काम गरेको नभन्नुहोला, भूमिहीनलाई लालपुर्जा दिने कुरामा प्रतिबद्ध छौँ”, उहाँले भन्नुभयो ।

शुक्लागण्डकी नगरपालिका-७ र २ मा जग्गा नापीको काम सुरु गरेको नगरप्रमुख कृष्णराज पण्डितले बताउनुभयो । विसं २०७७ मा प्रकाशित सूचनाअनुसार दर्ता हुन आएका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको निवेदन बमोजिम जग्गाधनी प्रमाणपुर्जा वितरण गर्ने प्रक्रिया अन्तर्गत जग्गाको नापजाँच सुरु गरिएको पण्डितले बताउनुभयो । जग्गा नापजाँच सुरु गर्नु अगाडि नगरपालिकाले स्थानीयवासीलाई निवेदन दर्ताको निस्सा वितरण गरेको थियो ।

शुक्लागण्डकीमा करिब पाँच हजार पाँच सय भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी छन् । विगत लामो समयदेखि आफूले भोगचलन गर्दै आएको भूमिको पुर्जा सिरानीमा राखेर निदाउने तनहुँको शुक्लागण्डकी नगरपालिकाको चाहना अझै पूरा हुन सकेको छैन। पटकपटक लालपुर्जा पाउने आश्वासन पाए पनि त्यो सपना अधुरै छ । निर्वाचनका बेला भोट तान्न आश्वासन पाए पनि स्थानीयवासीले लालपुर्जा पाउन सकेका छैनन् ।

शुक्लागण्डकी नगरपालिका-२, ५, ६, ७ र ८ मा अव्यवस्थित, सुकुम्बासीको बसोबास अधिक छ । बस्तीमा सडक, बिजुली, खानेपानी, विद्यालय जस्ता आधारभूत विकास भए पनि पुर्जाविहीन हुनुको पीडाले स्थानीयवासी चिन्तित छन् । देवघाट गाउँपालिका-५ को देउपुर टोलमा पनि जग्गाको नापजाँच भइरहेको वडाध्यक्ष पूर्णबहादुर कुँवरले बताउनुभयो । सबैभन्दा बाक्लो बस्ती भएकाले यो टोलबाट जग्गा नापजाँचको काम सुरु गरिएको हो । यो टोलमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यस्थित बसोबासी गरी तीन सय ५५ लाई निवेदन दर्ताको निस्सा वितरण गरिएको थियो ।

राष्ट्रिय भूमि आयोग तनहुँका अध्यक्ष रामचन्द्र अधिकारीले स्थानीय तहको समन्वयमा भूमिहीनलाई लालपुर्जा र अव्यवस्थित बसोबासीलाई व्यवस्थित बनाउने प्रक्रिया सुरु गरिएको जानकारी दिनुभयो । राष्ट्रिय भूमि आयोगका अनुसार हालसम्म शुक्लागण्डकी नगरपालिका-७, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका-१ र २, देवघाट गाउँपालिका-५ र व्यास नगरपालिका-१ र २ मा भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीको निवेदनको निस्सा वितरण गरिएको छ । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker