तनहुँ जलविद्युत् आयोजनाको मुख्य बाँध निर्माण तीव्र

तनहुँ जलविद्युत् आयोजनाको १४० मिटर अग्लो कंक्रिट ग्राभिटी बाँधको निर्माण कार्यलाई तीव्रता दिइदै । हाल आयोजनाको साइटमा बाँधको फाउन्डेसनमाथि औसत १० मिटर उचाइसम्म कंक्रिट ब्लकहरू उठाइसकिएको छ । बाँध निर्माणको यो चरणलाई “म्यास कन्क्रिटिङ” भनिन्छ, जसमा तापमान नियन्त्रण एकदमै संवेदनशील पक्ष रहने बताइएको छ ।
उच्च बाँधहरूको निर्माणमा कंक्रिट भर्ने क्रममा अत्यधिक तापमानले क्र्याक आउने सम्भावना रहने भएकाले पानीको ताप, वातावरणीय अवस्था र सामग्रीको गुणस्तरमा विशेष ध्यान दिने गरिन्छ । आयोजनाको पावरहाउस क्षेत्रमा संरचनात्मक कामहरू लगभग सम्पन्न भइसकेका छन् ।
अब यहाँ उपकरणहरूको जडान कार्य सुरु गरिएको आयोजनाले जनाएको छ । पावरहाउसमा टर्बाइन, जेनेरेटर, गभर्नर लगायतका विद्युतीय र यान्त्रिक उपकरणहरू जडान गरी परीक्षणपछि उत्पादन चरणमा प्रवेश गरिनेछ । तस्विर : भञ्ज्याङ