तनहुँका मगर समुदायले मनाए माघे सकराती पर्व
निशा थापा मगर/दमौली

आदिवासी मगर समुदायले तनहुँमा विविध कार्यक्रम गरी माघे सकराती पर्व मनाएका छन् । तनहुँका १० वटै पालिकामा बसोवास गर्ने मगर समुदायले विविध कार्यक्रमको आयोजना गरी माघे सकराती मनाएका हुन् ।
‘मगरात सभ्यताको संरक्षण-सम्वर्द्धन गर्दै पुस्तान्तरण गरौं, मगर समुदायको महान चाड माघे सकराती-२०७९ भव्यताका साथ मनाऔं’ भन्ने नाराका साथ मगर समुदायले यो पर्व मनाएका छन् । यस्तै, नेपाल मगर संघ जिल्ला समन्वय समिति तनहुँले दमौलीमा विविध कार्यक्रम सम्पन्न गरेको छ । दमौलीमा जारी पाँचौ आदिवासी जनजाती तनहुँ साँस्कृतिक तथा पर्यटन महोत्सव स्थलमा मगर समुदायले जातीय पहिचान झल्कने भेषभूषामा सजिएर विविध साँस्कृतिक कार्यक्रम गरेका छन् ।
मगर संघले दमौलीमा साँस्कृतिक र्याली प्रदर्शन गरेको थियो । दमौलीको अनशनचौतारीमा भेला भई मगर समुदायले आफ्नो जातीय पहिचान झल्कने भेषभुषामा सजिएर साँस्कृतिक झाँकी सहित दमौली बजारको परिक्रमा गरी महोत्सव स्थलमा प्रवेश गरेका थिए ।
महोत्सव स्थलमा मगर समुदायले परम्परागत संस्कार संस्कृति झल्कने साँस्कृतिक कार्यक्रम तथा विचारहरु व्यक्त गरेका थिए । उनिहरुले मौलिक संस्कृतिलाई थप प्रवर्द्धन गर्न माघे सकरातीलाई राष्ट्रिय सूचीमा चिनाउने गरी विश्वभर फैलाउन यस्ता कार्यक्रमले महात्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।

यसपटक मगरहरुको मौलिक सांस्कृतिक प्रदर्शनी, मौलिक भेषभूषा, मौलिक खानपिनको प्रदर्शनी, धनुषबाँण हान्ने तथा एकआपसमा शुभकामना आदान-प्रदानसमेत गरिएको छ । नेपालको प्रायः सबै जिल्लाहरुमा बसोबास रहेको प्राचीन आदिवासी ‘मगर’ समुदायभित्र पनि सांस्कृतिक, भाषिक र सामाजिक विविधता छन् ।
मौलिक संस्कृतिको रुपमा मगरहरुले माघे साकराती चाड, भूम्यापूजा, वैशाखे पूर्णिमा, साउने साकराती आदि चार्डपर्व मनाउने गर्दछन् भने भाषिक रुपले मगरहरुले बाह्रमगरात (मगर ढुट), अठारमगरात (मगर खाम/पाङ) र मगर काइके भाषा बोल्ने गर्दछन् ।
मौलिक कला-संस्कृतिका हिसाबले मगरहरुमा हुर्रा, सोरठी, कौडा, मारुनी, पैंस्यारु, टप्पा, घाँटु, यानीमाया आदि नाचगानहरु प्रचलित छन् । माघे साकरातीमा दाजुभाइ दिदिबहिनी सबैले बिहानको पहिलो प्रहरमा मूलपानी र धारालाई जमरा र पातीले सजाउने साथै नुहाई धुवाई गरेर चेलीहरुले मूलको पानी र जमरा स्वरुप जौंको पात लिएर घरको धूरी खाँबोमा पूजा गर्ने प्रचलन छ ।

यस दिन छोरी चेलीहरुलाई माइती दाजुभाइहरुले पूजा गर्ने गरिन्छ । चामलको सेतो टीका र जौं पातीको फूल लगाई दक्षिणा अनि आशीर्वाद दिने चलन छ । यस दिन छोरी चेलीहरुलाई गिठ्ठा, भ्याकुर, पिंडालु, तरुल, रोटी सहितको परिकार मिसिएको मिस्रा दिने गरिन्छ । घरमा आएका चेलीहरुलाई घरमै र आउन नसकेका छोरीचेलीलाई उनीहरुकै घर-घरमा पठाइदिने गरिन्छ । मिस्रा भन्नाले तरुल, गिठ्ठा, भ्याकुरको परिकारहरु, भुजौरी, खिचडी, घिउको परिकार हो ।
यस चाडमा मौलिक रुपले भैलो खेल्ने, पुतली नाँच्ने, सिस्नो खेल्ने, पीङ खेल्ने आदि गरिन्छ । सांस्कृतिक हिसाबले यस चाडदेखि कौडा नाचको सुरुवात गर्ने र मादल, बाजाहरु (चर्को आबाज निकाल्ने बाजागाजा) बन्द गर्ने गरिन्छ । यसै दिनदेखि बेंसीबाट लेकतिर बसाइ र्सर्ने गरिन्छ । मगर समुदायमा यस चाड सांस्कृतिक र सामाजिक हिसाबले अत्यन्तै महत्व राख्ने गर्दछ ।










