तनहुँका मगर समुदायले मनाए माघे सकराती पर्व

निशा थापा मगर/दमौली

आदिवासी मगर समुदायले तनहुँमा विविध कार्यक्रम गरी माघे सकराती पर्व मनाएका छन् । तनहुँका १० वटै पालिकामा बसोवास गर्ने मगर समुदायले विविध कार्यक्रमको आयोजना गरी माघे सकराती मनाएका हुन् ।

‘मगरात सभ्यताको संरक्षण-सम्वर्द्धन गर्दै पुस्तान्तरण गरौं, मगर समुदायको महान चाड माघे सकराती-२०७९ भव्यताका साथ मनाऔं’ भन्ने नाराका साथ मगर समुदायले यो पर्व मनाएका छन् । यस्तै, नेपाल मगर संघ जिल्ला समन्वय समिति तनहुँले दमौलीमा विविध कार्यक्रम सम्पन्न गरेको छ । दमौलीमा जारी पाँचौ आदिवासी जनजाती तनहुँ साँस्कृतिक तथा पर्यटन महोत्सव स्थलमा मगर समुदायले जातीय पहिचान झल्कने भेषभूषामा सजिएर विविध साँस्कृतिक कार्यक्रम गरेका छन् ।

मगर संघले दमौलीमा साँस्कृतिक र्‍याली प्रदर्शन गरेको थियो । दमौलीको अनशनचौतारीमा भेला भई मगर समुदायले आफ्नो जातीय पहिचान झल्कने भेषभुषामा सजिएर साँस्कृतिक झाँकी सहित दमौली बजारको परिक्रमा गरी महोत्सव स्थलमा प्रवेश गरेका थिए ।

महोत्सव स्थलमा मगर समुदायले परम्परागत संस्कार संस्कृति झल्कने साँस्कृतिक कार्यक्रम तथा विचारहरु व्यक्त गरेका थिए । उनिहरुले मौलिक संस्कृतिलाई थप प्रवर्द्धन गर्न माघे सकरातीलाई राष्ट्रिय सूचीमा चिनाउने गरी विश्वभर फैलाउन यस्ता कार्यक्रमले महात्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।

यसपटक मगरहरुको मौलिक सांस्कृतिक प्रदर्शनी, मौलिक भेषभूषा, मौलिक खानपिनको प्रदर्शनी, धनुषबाँण हान्ने तथा एकआपसमा शुभकामना आदान-प्रदानसमेत गरिएको छ । नेपालको प्रायः सबै जिल्लाहरुमा बसोबास रहेको प्राचीन आदिवासी ‘मगर’ समुदायभित्र पनि सांस्कृतिक, भाषिक र सामाजिक विविधता छन् ।

मौलिक संस्कृतिको रुपमा मगरहरुले माघे साकराती चाड, भूम्यापूजा, वैशाखे पूर्णिमा, साउने साकराती आदि चार्डपर्व मनाउने गर्दछन् भने भाषिक रुपले मगरहरुले बाह्रमगरात (मगर ढुट), अठारमगरात (मगर खाम/पाङ) र मगर काइके भाषा बोल्ने गर्दछन् ।

मौलिक कला-संस्कृतिका हिसाबले मगरहरुमा हुर्रा, सोरठी, कौडा, मारुनी, पैंस्यारु, टप्पा, घाँटु, यानीमाया आदि नाचगानहरु प्रचलित छन् । माघे साकरातीमा दाजुभाइ दिदिबहिनी सबैले बिहानको पहिलो प्रहरमा मूलपानी र धारालाई जमरा र पातीले सजाउने साथै नुहाई धुवाई गरेर चेलीहरुले मूलको पानी र जमरा स्वरुप जौंको पात लिएर घरको धूरी खाँबोमा पूजा गर्ने प्रचलन छ ।

यस दिन छोरी चेलीहरुलाई माइती दाजुभाइहरुले पूजा गर्ने गरिन्छ । चामलको सेतो टीका र जौं पातीको फूल लगाई दक्षिणा अनि आशीर्वाद दिने चलन छ । यस दिन छोरी चेलीहरुलाई गिठ्ठा, भ्याकुर, पिंडालु, तरुल, रोटी सहितको परिकार मिसिएको मिस्रा दिने गरिन्छ । घरमा आएका चेलीहरुलाई घरमै र आउन नसकेका छोरीचेलीलाई उनीहरुकै घर-घरमा पठाइदिने गरिन्छ । मिस्रा भन्नाले तरुल, गिठ्ठा, भ्याकुरको परिकारहरु, भुजौरी, खिचडी, घिउको परिकार हो ।

यस चाडमा मौलिक रुपले भैलो खेल्ने, पुतली नाँच्ने, सिस्नो खेल्ने, पीङ खेल्ने आदि गरिन्छ । सांस्कृतिक हिसाबले यस चाडदेखि कौडा नाचको सुरुवात गर्ने र मादल, बाजाहरु (चर्को आबाज निकाल्ने बाजागाजा) बन्द गर्ने गरिन्छ । यसै दिनदेखि बेंसीबाट लेकतिर बसाइ र्सर्ने गरिन्छ । मगर समुदायमा यस चाड सांस्कृतिक र सामाजिक हिसाबले अत्यन्तै महत्व राख्ने गर्दछ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker