तनहुँमा चुनावी सरगर्मी : राजनीतिक दलहरु निर्वाचन केन्द्रित अभियानमा
भञ्ज्याङ समाचारदाता/तनहुँ

मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि तनहुँमा राजनीतिक दलको तयारीले चुनावी सरगर्मी बढाउँदै लगेको छ । जिल्लाका साना तथा ठूला राजनीतिक दलले निर्वाचन केन्द्रित भेला, प्रशिक्षण, बैठक आयोजना गरेसँगै चुनावी चर्चा समेत चल्दै गएको छ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तथा नेताहरु शंकर भण्डारी, गोविन्द भट्टराइ, प्रदीप पौडेल यतिखेर गृहजिल्ला तनहुँमा केन्द्रित भएका छन् । त्यस्तै नेकपा (एकीकृत समाजवादी)का नेता एवं पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ पनि अहिले जिल्लामा केन्द्रित हुन थालेका छन् ।
विभिन्न दलका नेताहरुले उम्मेदवारी घोषणा गर्नेक्रम पनि बढेको छ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपा एकीकृत समाजवादीका नेता एवं पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ, नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराइले तनहुँ क्षेत्र नं १ मा आफूहरुको दाबी रहेको बताएका छन् । क्षेत्र नं १ मा नेपाली कांग्रेसका तर्फबाट पूर्वमन्त्री शंकर भण्डारीको पनि दाबी छ । अघिल्लो पटक क्षेत्र नं २ बाट पराजित भण्डारी यसपटक भने तनहुँ क्षेत्र नं १ मै उम्मेदवार बन्ने चाहनामा छन् ।
यस्तै, नेकपा (एकीकृत समाजवादी) तनहुँले मंसिर ४ गते हुने निर्वाचनका लागि उम्मेदवार सिफारिस गरिसकेको छ । एकीकृत समाजवादी प्रतिनिधिसभा क्षेत्र कमिटीले तनहुँका दुइ संघ र चार प्रदेशसभाका लागि शुक्रबार उम्मेदवार सिफारिस गरेको हो ।प्रतिनिधिसभा क्षेत्र कमिटीले सिफारिस गरेको उम्मेदवार जिल्ला कमिटीमा पठाइएको छ । तनहुँ क्षेत्र नम्बर १ प्रतिनिधिसभाका लागि प्रतापलाल श्रेष्ठ, कृष्णकुमार श्रेष्ठ, कलिला खान, सीताराम घले परियार र विष्णुबहादुर खड्काको नाम सिफारिस गरिएको छ ।
प्रदेश (क) तर्फ विद्या ढकाल, रामकला पौडेल, लालकुमार श्रेष्ठ र कल्पना नेपाली सिफारिस भएका छन् । प्रदेश (ख) तर्फ मनुमाया श्रेष्ठ, गजेन्द्र पन्थ, श्रीप्रसाद भट्टराइ र तेजबहादुर सुनारको नाम सिफारिस गरिएको छ । तनहुँ क्षेत्र नम्बर २ प्रतिनिधिसभाका लागि चित्र थापा, शंकर पोखरेल, दुर्गा नेपाली, सानुमाया महतको नाम सिफारिस गरिएको छ भने प्रदेश (क) तर्फ रेखा थापा बस्याल, दुर्गाकुमार श्रेष्ठ, थमन आले, कमल गैरेको नाम सिफारिस गरिएको छ ।
प्रदेश (ख) तर्फ काजीमान श्रेष्ठ, भक्त रसाइली, मधुमाया ढकाल, सूर्यप्रसाद तिमिल्सिना, पूर्णबहादुर थापा र भूपाल थापाको नाम सिफारिस भएको पार्टी सचिव श्रीराम कार्कीले जानकारी गराए । क्षेत्रीय कमिटीबाट सिफारिस भइ आएका उम्मेदवारमध्ये जिल्ला कमिटीले एक महिलासहित तीनको नामावली पार्टीको केन्द्रीय कमिटीलाई सिफारिस गर्ने पार्टी सचिव कार्कीले जानकारी दिए ।
यस्तै, अन्य पार्टीहरु पनि चुनाव लक्षित गतिविधिमा केन्द्रित भएका छन् भने सम्भावित उम्मेदवारहरुको नाम पनि चर्चामा आउन थालेको छ । नेकपा (एमाले)का तर्फबाट गण्डकी प्रदेशसभा सदस्य रामबहादुर गुरुङ तनहुँ क्षेत्र नं १ मा उम्मेदवार बन्ने चर्चा छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट जिल्ला अध्यक्ष विनोद घर्तीले तनहुँ क्षेत्र नं १ मा उम्मेदवार बन्ने घोषणा गरिगरिसकेका छन् । यसैगरी तनहुँ क्षेत्र नं १ मा स्वतन्त्ररुपमा प्रविण पौडेलले पनि उम्मेदवारी घोषणा गरेका छन् ।
तनहुँ क्षेत्र नं २ मा नेपाली कांग्रेसका तर्फबाट केन्द्रीय सदस्य प्रदीप पौडेलले दाबी गर्दै आएका छन् । नेकपा (एमाले) का तर्फबाट स्थायी कमिटी सदस्य किरण गुरुङ, वर्तमान प्रतिनिधिसभा सदस्य केदार सिग्देल, पोलिटब्युरो सदस्य टुकराज सिग्देलको नाम चर्चामा छ । नेपाली कांग्रेसले निर्वाचनलाई लक्षित गरी ‘जनताको साथमा कांग्रेस’ अभियान पनि सुरु गरेको छ । यो अभियानका लागि केन्द्रीय कार्यसमितिले केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेलाई तनहुँमा प्रतिनिधिका रुपमा खटाएको छ । अभियानको पहिलो चरण भदौ १० देखि २४ गतेसम्म सञ्चालन हुने कांग्रेस जिल्ला सचिव लक्ष्मीभक्त खनालले जानकारी गराए ।
नेपाली कांग्रेसले यो अभियानका लागि जिल्लाका दशवटै पालिकामा प्रतिनिधि परिचालन गरेको छ । व्यासमा प्रा डा कृष्ण गौतम, भानुमा देवकुमार श्रेष्ठ, बन्दीपुरमा सहदेव अधिकारी, देवघाटमा सरिता गुरुङ, आँबुखैरेनीमा चिनु पोख्रेल, शुक्लागण्डकीमा मिलन आले, ऋषिङमा हरि वाग्ले, म्याग्देमा श्रीराम सुवेदी, भिमादमा किसान गुरुङ र घिरिङमा रामकृष्ण विकलाई खट्टाइएको छ । यो अभियान प्रत्येक पालिकामा भदौ १५ गते, ८५ वडामा भदौ १८ गते र १९ देखि २२ गतेसम्म वडाको टोलमा सञ्चालन गरिने भएको छ । यो अभियानले नेपाली कांग्रेसलाई पूर्णरुपमा निर्वाचन केन्द्रित अभियानमा केन्द्रित गराइसकेको छ ।
नेकपा एमाले तनहुँले जिल्लास्तरको प्रशिक्षण, पालिकास्तरको प्रशिक्षण र बैठक आयोजना गरेको छ । निर्वाचनलाई लक्षित गरी सबै पालिकामा भेला, प्रशिक्षण र बैठक सञ्चालन गरिएको एमाले तनहुँका उपाध्यक्ष हरिराज कँडेलले बताए । यस्तै, सत्तारुढ जनता समाजवादी पार्टी तनहुँले पनि उम्मेदवार सिफारिस गरिसकेको छ । जसपा तनहुँको जिल्ला कार्यसमिति बैठकले तनहुँका दुइ संघीय क्षेत्र र दुइ प्रदेशसभा क्षेत्रमा सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ ।
तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभामा जसपाका केन्द्रीय कार्यकारिणी सदस्य तथा पूर्वमन्त्री शिवलाल थापा मगरलाई सिफारिस गरिएको छ। त्यस्तै तनहुँ क्षेत्र नं १ को प्रदेश (क) मा टेकबहादुर गुरुङ र प्रदेश (ख) मा खड्क आले मगरको नाम सिफारिस गरिएको छ । तनहुँ क्षेत्र नम्बर २ को प्रतिनिधिसभामा केन्द्रीय विज्ञ परिषद् सदस्य सोमबहादुर नेपालीलाई सिफारिस गरिएको बताइएको छ ।










