शुक्लागण्डकीको नीति : “एक व्यक्ति एक तालिम मार्फत सीप अभिवृद्धि”
आगामी आवका लागि १ अर्ब १२ करोडको बजेट प्रस्ताव

दुलेगौंडा । आर्थिक विकासको प्रमुख आधार कृषि क्षेत्र बनाएको तनहुँको शुक्लागण्डकी नगरपालिकाले ‘एक व्यक्ति एक तालिम मार्फत सीप अभिवृद्धि’ गर्ने नीति लिइएको छ। नगरपालिकाको शुक्रबार आयोजित नगरसभामा आगामि आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नगर उपप्रमुख खुमबहादुर विक
-राजु)ले कृषि क्षेत्रलाई व्यवसायिक बनाउनका लागि नगरपालिकाले अनुदान वितरण प्रणालीलाई व्यवस्थित, सरल र प्रभावकारी बनाउने नीति लिएको जानकारी गराए ।
‘अनुदान कार्यक्रमलाई प्रभावकारी बनाउका लागि कृषक सूचीकरण कार्यक्रम सम्पन्न गरी परिचयपत्र वितरण प्रक्रिया शुरु गर्ने र अनुदान वितरण कार्यलाई प्रत्यक्ष रूपमा उत्पादनसँग जोडिने छ’, उनले भने, ‘खाद्यान्नको आयातलाई प्रतिस्थापन गर्नका लागि सिंचित एवं अन्य क्षेत्रमा वाली सघनतामा जोड दिदै कृषिको विविधीकरण व्यवसायिकरणर बजारिकरणमा जोड दिइ उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रमलाई निरन्तरता दिइनेछ ।’
वातावरणमैत्री कृषि कार्यक्रममा स्थानीय श्रोत साधन तथा सीपको अधिकतम उपयोग गरी प्राङ्गारिक उत्पादनलाई विस्तार गर्न प्राङ्गारिक उत्पादन क्षेत्र कार्यक्रम सञ्चालन गर्ने, कृषि उपजहरूमा प्राकृतिक प्रकोपबाट हुने क्षति न्यूनीकरण गर्न तथा कृषकको लगानी सुनिश्चित गर्न कृषि ज्ञान केन्द्रसंग समन्वय गरी कृषि वीमा गर्ने कार्यक्रम सञ्चालन गर्ने, एक वडा एक उत्पादनलाई प्राथमिकतामा राख्दे जलवायु अनुकुलित -स्थानीय रैथाने) जातहरूको संरक्षण तथा सम्वर्द्धन गर्दै जरेबाली, कोषबाली तथा नगदे बालीहरूको उत्पादन तथा उत्पादकत्व बढाउन एकिकृत खाद्य तत्व व्यवस्थापन प्रणाली मार्फत माटो तथा मल परिक्षण प्रयोगशालासँग सहकार्यमा माटोको परीक्षण कार्यलाइ निरन्तरता दिने नीति नगरपालिकाले अवलम्बन गर्ने भएको छ ।
उत्पादित कृषि उपजको बजारीकरण गरी कृषकलाई प्रोत्साहन गर्न विभिन्न वडाहरूमा रहेका सामुदायिक भवनहरूलाई कृषि उपज संकलन केन्द्रको रुपमा प्रयोगमा ल्याउन थप व्यवस्थित गर्ने नीति लिइएको जानकारी गराउँदै नगर उपप्रमुख राजुले भने, ‘कृषि उत्पादनको सहज ढुवानी तथा बजारीकरणका लागि कृषि एम्बुलेन्स संचालनमा ल्याउने, नगरपालिकाद्वारा निर्माण गरिएको कृषि उपज संकलन केन्द्र र, चिस्यान केन्द्रलाई थप व्यवस्थित गरी संचालन गर्ने, नगरपालिका भित्र रहेका कृषक समूहहरूको दर्ता नवीकरण तथा परिचालनको कार्यलाई थप प्रभावकारी बनाइ किसान सूचिकरण पश्चात परिचयपत्र वितरण गरी त्यसको आधारमा अनुदानसंग आबद्धता गरिनेछ ।’
यस्तै, मौरी पकेट कार्यक्रमलाई थप प्रभावकारी बनाउन चरनक्षेत्रको अध्ययन/अवलोकन गरी मौरी पालन व्यवसाय विस्तारका कार्यक्रमलाई निरन्तरता दिइने, आधुनिक कृषि प्रविधि विस्तारका लागि कृषि प्रसार तथा बालीनालीमा लाग्ने रोगकीरा नियन्त्रणका गर्न बाली संरक्षणका कार्यक्रमहरूलाई निरन्तरता दिइने, गाँजा खेती, कफि खेती र अदुवा, बेसार जस्ता जरे वाली उत्पादनका कार्यक्रमलाई प्रोत्साहन गर्ने नीति नगरपालिकाले अवलम्बन गर्ने भएको छ ।
यस्तै नगरपालिकाले पशुविकास कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम सञ्चालन मार्फत दुग्ध उत्पादन वृद्धि गर्न दुग्ध उत्पादन प्रवर्द्धन कार्यक्रमलाई निरन्तरता दिने भएको छ ।
पशुजन्य उत्पादन र उत्पादकत्व अभिबृद्धिका लागि निःशुल्क कृत्रिम गर्भाधान कार्यलाई निरन्तरता दिने, ग्रामीण भेगमा उन्नत राँगो, साँढे वितरण कार्यक्रम सञ्चालन गरी उन्नत नश्लका पशुको उत्पादन, बाखा पकेट क्षेत्र स्थापना तथा कुखुरा र बंगुरपालन प्रवर्द्धन कार्यक्रम संचालन गर्ने, घाँसबाली स्रोतकेन्द्र स्थापनामा जोड दिई कृषकहरुलाई बाह्रै महिना घाँस उत्पादनको लागि आवश्यकता अनुसार घाँसका वीउ वेर्नाका लागि स्थानीय श्रोत केन्द्र स्थापना गर्ने नीति तथा कार्यक्रम ल्याएको नगरसभामा उपप्रमुख राजुले जानकारी गराएका थिए ।
नगरपालिकाको पशु विकास शाखामा आधारभुत प्रयोगशाला स्थापना भैसकेकाले शुक्लागण्डकी भेटेरिनरी अस्पतालको रुपमा स्तरोन्नतिका लागि आधार तयार गर्ने भएको छ । यसका लागि सम्बन्धित प्रादेशिक र संघीय कार्यालयहरुसँग समन्वय र सहकार्य गरी संक्रामक तथा महामारी रोग नियन्त्रण, पशु स्वास्थ्य परीक्षण तथा बाँझोपन निवारण शिविरहरु तथा सचेतना कार्यक्रम सञ्चालन गरिने भएको छ । पशुपन्छी तथा मत्स्य फार्म प्रवर्द्धनका लागि नीजि, समुह, सहकारीबाट सञ्चालित फार्महरुलाई फार्म स्थापना तथा यान्त्रिकीकरणमा सहयोग गर्ने नीति पनि नगरपालिकाले ल्याएको छ ।
त्यस्तै, नगरभित्र रहेका सहकारीहरूको अनुगमन तथा नियमनलाई प्रभावकारी बनाई सहकारी सूचना व्यवस्थापन प्रणालीमा आवद्ध हुन बाँकी रहेका सबै सहकारीहरूलाई यससम्बन्धि कार्यक्रम सञ्चालन गरी सो प्रणालीमा आवद्ध गराइने भएको छ। नगरपालिकाले सबै सहकारीले आफ्नो प्रगति विवरण हरेक त्रैमासिक रुपमा राष्ट्रिय मान्यता प्राप्त स्थानीय पत्रिकामा प्रकाशन गर्न अनिवार्य गराउने भएको छ ।
नगरपालिकाले सहकारीहरूलाई उद्देश्य अनुसार कृषि उत्पादनसँग जोड्नुका साथै शेयर सदस्यहरूले उत्पादन गरेको कृषि उपजहरूको सहकारी मार्फत बिक्री बितरण गर्ने व्यवस्था मिलाउदै समान उद्देश्य भएका सहकारीहरूलाई मर्ज गर्नको लागि प्रोत्साहन गर्ने भएको छ । शुक्लागण्डकी नगरपालिका भरको पर्यटकीय क्षेत्रलाई संघीय र प्रदेश सरकारसँगको समन्वयमा पर्यटकीय स्थल पहिचान, संरक्षण, निर्माण तथा मर्मत सम्भार गरी प्रवर्द्धन नीति अवलम्बन गरिएको नगर उपप्रमुख राजुले जानकारी गराए । शुक्लागण्डकी नगरपालिकाको मुख्य पर्यटकीय पदमार्गहरूको स्तरोन्नति गरी आन्तरिक तथा बाहृय पर्यटकलाई आकषिर्त गर्ने, नगरपालिका भित्र रहेका पर्यटकीय स्थलहरू प्रवर्द्धन गरी घरवास कार्यक्रमलाई सुदृढिकरण गर्ने कार्यक्रम नगरपालिकाले ल्याएको छ ।
रु. १ अर्ब १२ करोड ३९ लाख बजेट प्रस्ताव
यस्तै, शुक्लागण्डकी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि १ अर्ब १२ करोड ३९ लाख रुपैयाँको बजेट प्रस्ताव गरेको छ । शुक्रवार भएको १५औं अधिवेशनमा नगर प्रमुख कृष्णराज पण्डितले अनुमानित आय पेश गरेका हुन् । संघीय सरकाबाट प्राप्त समानीकरण अनुदान १४ करोड ४६ लाख, संघीय सरकारबाट राजश्व बाडाफाँडतर्फप्राप्त रकम १३ करोड १० लाख रुपैया, शर्सत अनुदान ६२ करोड ३६ लाख, विशेष अनुदान ६० लाख, समपुरक अनुदान १ करोड १० लाख प्राप्त हुने अनुमान छ ।
यसैगरी प्रदेश सरकारबाट समानीकरण अनुदान २ करोड १० लाख, राजश्व बाडाफाँड १ करोड ९६ लाख ९ हजार, समपुरक अनुदान १ करोड प्राप्त हुने अनुमान गरिएको छ । नगरको आन्तरिक आय १२ करोड १० लाख, सडक बोर्ड नेपालबाट अनुदान ७० लाख, घरजग्गा रजिष्ट्रेशन शुल्क ३ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।
प्रस्तावित बजेटमा ४७ करोड ४९ लाख ३ हजार पूर्वाधार, ४ करोड १५ लाख ५६ हजार सामाजिक, १ करोड १८ लाख ७३ हजार आर्थिक, १ करोड १८ लाख ७३ हजार वातावरण र ५९ लाख ३६ हजार रुपैया सुशासनतर्फ सिलिङ राखिएको नगर प्रमुख पण्डितले जानकारी दिए । चालु आर्थिक वर्षमा १२ करोड ५१ लाख रुपैया आन्तरिक आम्दानी गर्ने प्रक्षेपण गरेको नगरले आगामी आर्थिक वर्षमा १२ करोड १० लाख रुपैया लक्ष्य राखेको छ ।
नगरका वडाहरुमा कुल ११ करोड ८७ लाख ३४ हजार रुपैया विनियोजन गरिएको छ । सबैभन्दा बिढ वडा नं. ५ ले १ करोड २७ लाख र सबैभन्दा कम वडा नं. ४ ले ७८ लाख ७१ हजार ४७१ रुपैयाँको सिलिङ पाएका हुन् । भुगोल २५ प्रतिशत, जनसंख्या ४५ प्रतिशत, राजश्व संकलन, समग्र विकासको स्थिति र वडाको कार्यसम्पादन १० प्रतिशतलाई आधार बनाएर सिलिङ तोकिएको हो।
वडा नं. १ ले ९४ लाख ५२ हजार, वडा नं. २ ले १ करोड १४ लाख ९९ हजार, वडा नं. ३ ले ८६ लाख ८४ हजार, वडा नं. ६ ले ९७ लाख ७७ हजार, वडा नं. ७ ले ९८ लाख ३ हजार, वडा नं. ८ ले १ करोड १२ लाख, वडा नं. ९ ले ७९ लाख ३४ हजार, वडा नं. १० ले १ करोड ८ लाख १० हजार, वडा नं. ११ ले ९२ लाख ४८ हजार र वडा नं. १२ ले १ करोड १८ लाख ७३ हजार रुपैयाको बजेट छ ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उपप्रमुख खुम बहादुर विक राजुले नगरले हालसम्म प्रदान गरेका तालिम तथा क्षमता विकास कार्यक्रम र सहभागिको लगत तयार गर्ने जानकारी दिए । आगामी वर्षदेखि तालिमको पहुँच नपुगेका व्यक्तिलाई उच्च प्राथमिकता प्रदान गर्दै तालिममा दोहोरपना नआउनेगरी एक व्यक्ति एक तालिम मार्फ सीप अभिवृद्धि गरिने बताए । तालिम तथा क्षमता विकास कार्यक्रम सञ्चालनको मापदण्ड तयार गरिने छ ।
यस्तै, नगरसभा सदस्यहरुलाई उल्लेखित नीति तथा कार्यक्रम अध्ययनका लागि प्रदान गरी शुक्रवार सभा स्थगित गरिएको प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादले बताए। नीति तथा कार्यक्रम आगामी असार २७ गतेको सभामा छलफल गरी पारित गरिने भएको छ ।










