क्यान्सर पीडित पौडेललाई आर्थिक सहयोग
भञ्ज्याङ समाचारदाता/दमौली

म्याग्दे समाज दमौलीले क्यान्सर पीडितलाई आर्थिक सहयोग गरेको छ । तनहुँको म्याग्दे गाउँपालिका-७ निवासी क्यान्सर पीडित १८ वर्षीय वीरेन्द्र पौडेललाई समाजले ३३ हजार ५८० रुपैयाँ सहयोग गरेको छ । समाजले विभिन्न व्यक्ति तथा संघसंस्थाबाट रकम संकलन गरी पौडेललाई आर्थिक सहयोग गरेको बताइएको छ ।
म्याग्दे गाउँपालिका घर भई व्यावसायिक तथा अन्य प्रयोजनका लागि दमौली र आसपास बसोबास गर्ने व्यक्तिलाई गम्भीर प्रकारका रोग लाग्दा समाजले सहयोग गर्ने र अभियान चलाउने उद्देश्य अनुरुप संकलित रकम सहयोग गरिएको समाजका अध्यक्ष मनिराज थापा मगरले बताए । यो पर्याप्त रकम नभएपनि दुःख पर्दा समाजले सम्झिएको थापाले बताए ।
समाजका सचिव विकास खनालले म्याग्देवासीलाई दुःख पर्दा समाजको तर्फबाट सहयोग गर्दै आएको बताए । यति मात्रै रकम बिरामीको उपचारको लागि पर्याप्त नभएकाले सहयोग अभियान जारी रहेको अभियान्ता विष्णु पराजुलीले बताए ।
सहयोग हस्तान्तरण कार्यक्रममा म्याग्दे दमौली समाजका निवर्तमान अध्यक्ष भाग्यशाली ढुंगाना, सदस्य हरिश्चन्द्र वाग्ले, सहयोग अभियानका संयोजक गोपालचन्द्र हड्खले, कृष्ण पौडेल लगायतले समस्यामा परेकालाई सबैले सक्दो सहयोग गर्नुपर्ने बताएका थिए ।










