तनहुँका कृषकको कृषि उपजले उचित मूल्य र बजार पाएन, मूल्य र बजारीकरण नभएपछि उत्पादन घटाउँदै कृषकहरु
नारायण खड्का/दमौली
नयाँ भेरियन्ट सहित फैलिएको दोश्रो लहरको कोरोना भाइरस संक्रमणले अहिले जनजीवन नराम्रोसंग प्रभावित हुन पुगेको छ । भाइरस संक्रमण रोकथाम तथा न्यूनिकरणका लागि भन्दै स्थानीय प्रशासनले तनहुँमा पनि निषेधाज्ञा जारी गरेको छ । यही वैशाख ३१ गतेसम्म तनहुँ प्रशासनले निषेधाज्ञा जारी गरेपनि पछिल्ला दिनहरुमा दैनिक जसो समुदायका मानिसहरुमा भाइरस संक्रमण बढ्दै गएपछि पुनः निषेधाज्ञा लम्बिने अवस्था देखिएको छ । गत वर्ष लामो लकडाउनको चपेटामा परेको कृषि तथा पशुपालन क्षेत्र पुनः निषेधाज्ञा जारी भएपछि कृषकहरु मारमा परेका छन् ।
तनहुँको बन्दिपुर गाउँपालिकाको याम्पाफाँट र आँवुखैरेनी गाउँपालिकाको बरादी, मार्कीचोक लगायतका क्षेत्रमा कृषकहरुले व्यवसायिक रुपमा तरकारी खेती गाई भैसीबाट दुध उत्पादन गर्दै आएका छन् । ठूलो लगानि र मेहनतबाट उत्पादन गरिएका कृषि उपज सहज रुपमा बजारीकरण नभई खेरा जान थालेको बन्दिपुर-५ याम्पाफाँटका कृषक हर्रि्रसाद भट्टराइले बताए । उनले भने, ‘भाइरस संक्रमण बढेपछि गरिएको निषेधाज्ञाका कारण कृषि उपजको सहज बजारीकरण नभएको र विचौलियाका कारण मूल्य पनि राम्रो नपाउँदा उत्पादन समेत घटउनुपर्ने अवस्था आएको छ ।’
यस्तै, याम्पाका गाईपालक कृषकहरुको पीडा पनि यस्तै छ । निषेधाज्ञासंगै दुधको बजारीकरणमा समस्या आएको छ । सहकारी मार्फत दुध बिक्री गर्ने गरेपनि बिगत छ महिनादेखि दुधको पैसा पाउन नसक्दा गाईभैसीलाई आवश्यक पर्ने चक्कर, पराल लगायतका वस्तु गर्न समस्या आउँदा दुधको उत्पादन समेत घटेको बन्दिपुर-५ याम्पाकाका सृजना गाई फार्म सञ्चालक सुमित भट्टराइ बताउँछन् ।
निषेधाज्ञाका कारण अहिले होटल तथा रेष्टुँरा, शहर बजार बन्द छन् । सडकमा सवारी साधान नचल्दा मानिसको आवतजावत कम भएको छ । कोभिड-१९ को संक्रमण त्रासका कारण तनहुँको आँबुखैरेनी, बन्दीपुर, भिमाद, शुक्लागण्डकी लगायतका स्थानीय तहका कृषकहरुले व्यवसायीक रुपमा गरेको कृषि पेसा संकटमा परेको छ ।
कृषकका बारीमा यतिबेला लौका, घिरौला, चिचिन्नो, करेला, कांक्रो लगायतका लहरे बालीले उत्पादन दिएपनि सहज रुपमा बजार पाउन सकेका छैनन् । यो बन्दाबन्दीको समयमा कृषि उपजलाई सहज रुपमा बजारीकरण गर्ने व्यवस्था गरिदिए दुःख गरेर उत्पादन गरेको उपज सहजै उपभोक्ताकोमा पुग्ने र कृषकहरुको लगानि पनि खेरा नजाने बन्दिपुर-५ याम्पाका कृषक शेरबहादुर घिमिरे बताउँछन् । रोपनीका रोपनी क्षेत्रफलमा व्यवसायीक रुपमा तरकारी खेती गरेका कृषकहरु कृषि उपजले बजार नपाउँदा बारीमै कुहिन्छ कि भन्ने चिन्तामा डुबेको कृषक घिमिरेले बताए ।
गोरखा, लमजुङ, पोखरा, बागलुङ, चितवन, काठमाडौं लगायतका जिल्ला तथा बजार क्षेत्रसम्म बिक्री वितरण हुने यहाँको कृषि उपज सहज रुपमा बजारीकरण भएको छैन । कृषि उपजलाई उपभोक्तासम्म पुर्याउन मुलुकका तीनवटै तहका सरकार अन्य सरोकारवाला निकायले ध्यान दिनुपर्ने आँवुखैरेनी-२ मार्किचोकका तरकारी कृषक सोलबहादुर मगर बताउँछन् ।
‘परिश्रमको मूल्य सहज रुपमा नपाउँदा कृषकहरुले उत्पादन समेत घटनाउन थालेका छन्’, कृषक मगरले भने, ‘बजारमा छिमेकी मुलुक भारतबाट आएका व्यापारिहरुको हालिमुहाली रहेका कारण जिल्लाका कृषकहरुले उत्पादन गरेको उपज सहजै बिक्री वितरण गर्न सकिएको छैन, यस तर्फ कोही कसैले चासो नै देखाएका छैनन् ।’
बजारमा प्रति किलो ८० देखि सय रुपैयाँ भन्दा बढि मूल्यमा खरिद बिक्री हुने गरेको करेला, घिरौला, कांक्रो लगायतका तरकारी तथा फलफूल कृषकहरुले १० रुपैयाँमा पनि बिक्री गर्न सकेका छैनन् । यो विषम् परिस्थितिमा सरकार तथा स्थानीय तहले आ-आफ्नो पालिकामा कृषकहरुले उत्पादन गरेको उपजलाई सहज रुपमा बजारीकरण गर्ने व्यवस्था मिलाइदिएमा उपभोक्ताले सुपथ मूल्यमा ताजा तरकारी तथा फलफूल उपभोग गर्न पाउने थिए भने कृषकको उपजले पनि बजार पाउँदा आर्थिक उपार्जनमा टेवा पुग्ने थियो ।










