आँवुका जनप्रतिनिधिका छोराछोरी सामुदायिक विद्यालयमा भर्ना

भञ्ज्याङ समाचारदाता/दमौली

आँबुखैरेनी गाउँपालिकाका जनप्रतिनिधिले छोराछोरी सामुदायिक विद्यालयमा भर्ना गर्न थालेका छन् । गाउँ कार्यपालिकाको बैठकबाट नयाँ शैक्षिकसत्रबाट जनप्रतिनिधिका छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय भएपछि जनप्रतिनिधिले सामुदायिक विद्यालयमा छोराछोरी भर्ना गराउन थालेका हुन् ।

गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले दुइ छोराछोरीलाई सामुदायिक विद्यालयमा भर्ना गरिसक्नुभएको छ । छोरा अनुराग चुमानलाई आँबुखैरेनी गाउँपालिका-२ स्थित अन्नपूर्ण प्राथमिक विद्यालयमा कक्षा २ मा र छोरी अक्षरा चुमानलाई आँबुखैरेनी-३ स्थित रामशाह माध्यमिक विद्यालयमा कक्षा ७ मा भर्ना गराएको अध्यक्ष चुमानले जानकारी दिनुभयो ।

अध्यक्ष चुमानका छोराछोरी यसअघि आँबुखैरेनी गाउँपालिका-३ स्थित मर्स्याङ्दी बालज्योति बोर्डिङ स्कुलमा अध्ययन गर्दथे । सामुदायिक विद्यालयको शैक्षिक सुधार अभियानअन्तर्गत जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्य सामुदायिक विद्यालयमा पढाउने निर्णय गरिएको जनाउँदै उहाँले भन्नुभयो, “हालसम्म पाँच जनप्रतिनिधिले छोराछोरीलाई सरकारी विद्यालयमा भर्ना गराइसक्नुभएको छ, भर्ना गराउने क्रम जारी छ ।”

आँबुखैरेनी-५ का वडाध्यक्ष सन्तोष गुरुङले दुइ छोरीलाई सामुदायिक विद्यालयमा भर्ना गर्दै हुनुहुन्छ । गाउँपालिकाका प्रवक्ता प्रेमबहादुर गुरुङका अनुसार गाउँपालिकाका ३२ जनप्रतिनिधिले छोराछोरी एवं नातिनातिनीलाई सामुदायिक विद्यालयमा भर्ना गर्न लागेका छन् ।

गाउँपालिकाले विसं २०८० लाई सामुदायिक विद्यालयको शिक्षा रुपान्तरण अभियानका रूपमा अगाडि बढाउँदैछ । सामुदायिक विद्यालयको सुधारका निम्ति सुविधासम्पन्न भौतिक पूर्वाधारको व्यवस्थापन, पूर्ण दरबन्दीको व्यवस्थापन, सिकाइ गुणस्तर अभिवृद्धि लगायतका कार्यक्रम सञ्चालन गरिने चुमानले जानकारी दिनुभयो ।

आँबुखैरेनी गाउँपालिकाका छवटा वडामा ३५ सामुदायिक विद्यालय छन् । ती विद्यालयमा चार सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । “सामुदायिक विद्यालयको स्तर सुधार्नुपर्छ भनेर भाषणमा त भन्छौं, व्यवहारमा उतार्दैनौं, अब जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने नियम बनाएका छौँ”, उहाँले भन्नुभयो, “यसले गर्दा सरकारी विद्यालयप्रति अपनत्व बढ्छ ।”

गाउँपालिकाले सामुदायिक विद्यालयमा पढाउने परिवारलाई कर छुट दिने नीतिसमेत ल्याएको चुमानले बताउनुभयो । त्यस्तै सामुदायिक विद्यालयमा छोराछोरी पढाउने वडा नं ४, ५ र ६ का परिवारका लागि पालिकाले निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था गरिने उहाँले बताउनुभयो । “सामुदायिक विद्यालयमा आकर्षण वृद्धि गर्ने उद्देश्यसहित कर छुट, स्वास्थ्य बीमाको योजना ल्याइएको हो”, अध्यक्ष चुमानले भन्नुभयो । गाउँपालिकाले सामुदायिक विद्यालयमा अनुदानमा बस वितरणको तयारीसमेत थालेको छ । पहिलो चरणमा तीनदेखि पाँचवटा विद्यालयलाई बस हस्तान्तरण गरिने उहाँले बताउनुभयो ।

गाउँपालिकाले आमा समूह भवनका लागि बजेट विनियोजन गर्नुभन्दा उक्त बजेट विद्यालयको सुधारमा खर्च गर्ने निर्णय गरेको छ । सरकारी विद्यालयको गुणस्तर सुधारका लागि भौतिक एवं शैक्षिक क्षेत्रमा जोड दिइएको चुमानले बताउनुभयो । “कार्यालयको सवारी पुरानो भइसकेको छ, कतै जाँदा दुःख दिन थालेको छ । तर हामीले नयाँ गाडी किन्ने निर्णय गरेनौँ”, उहाँले भन्नुभयो, “बरु उक्त रकम विद्यालयमा लगानी गर्ने निर्णय गरेका छौँ । सरकारी विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन बस वितरणको तयारी गरेका छौँ ।”

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker