प्राध्यापक क्षमता विकास तालिम तथा कार्यशाला सम्पन्न

भिमाद : विश्वविद्यालय अनुदान आयोग नेपालको आर्थिक सहयोग तथा जनज्योति क्याम्पस भिमाद–६, तनहुँ अन्तर्गतको अनुसन्धान व्यवस्थापन एकाइको आयोजनामा तीन दिने “प्राध्यापक क्षमता विकास तालिम तथा कार्यशाला” सम्पन्न भएको छ।
जेठ ८ गतेदेखि १० गतेसम्म सञ्चालन भएको उक्त तालिम तथा कार्यशालामा जनज्योति क्याम्पससहित गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस कास्की, कालिका बहुमुखी क्याम्पस पोखरा, कालिका पब्लिक बहुमुखी क्याम्पस पोखरा, जनप्रकाश बहुमुखी क्याम्पस पोखरा, भानुभक्त बहुमुखी क्याम्पस तनहुँ, आदिकवि भानुभक्त क्याम्पस तनहुँ तथा आबुखैरेनी क्याम्पस तनहुँका प्राध्यापक, अनुसन्धानकर्मी तथा विभिन्न विषयगत क्षेत्रसँग आबद्ध प्राज्ञिक व्यक्तित्वहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका प्रा.डा. मिन पुन, प्रा.डा. लेखनाथ भट्टराई, पोखरा विश्वविद्यालयका सहप्राध्यापक भरतराम ढुङ्गाना, त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा. पितृराज बास्तोला तथा बालकुमारी कलेज चितवनका उपप्राध्यापक अनुपमणि बज्राचार्यले स्रोत व्यक्तिका रूपमा सहजीकरण गर्नुभएको थियो।
उहाँहरूले उच्च शिक्षामा अनुसन्धानको महत्व, अनुसन्धान प्रस्ताव निर्माण, अनुसन्धान पद्धति, प्राज्ञिक लेखन, प्रकाशन प्रक्रिया, अनुसन्धान नैतिकता, तथ्याङ्क विश्लेषण तथा गुणस्तरीय अनुसन्धान अभिवृद्धिका विषयमा प्रशिक्षण दिनुभएको थियो। साथै कृत्रिम बुद्धिमत्ता (AI) को शैक्षिक तथा अनुसन्धानात्मक प्रयोग, अनुसन्धान लेखन, सन्दर्भ व्यवस्थापन तथा डिजिटल अनुसन्धान संस्कृतिको विकासका विषयमा समेत व्यवहारिक अभ्यास सञ्चालन गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा कालिका बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख वीरेन्द्र गौतम, आदिकवि भानुभक्त क्याम्पसका क्याम्पस प्रमुख महाप्रसाद हड्खले, जनप्रिय बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख कृष्णबाबु बराल, गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख धर्मराज बराल, कालिका पब्लिक बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख ज्योतिबाबु पौडेल तथा आबुखैरेनी क्याम्पसका क्याम्पस प्रमुख भवदत्त शर्मालगायत प्राज्ञिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
जनज्योति क्याम्पसका क्याम्पस प्रमुख केशवराज काफ्लेको सभापतित्व तथा गण्डकी प्रदेश सभा सदस्य एवं पूर्व आर्थिक मामिला मन्त्री जितप्रकाश आलेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उच्च शिक्षाको गुणस्तर अभिवृद्धि, अनुसन्धान संस्कृतिको विकास तथा प्रविधिमैत्री शिक्षण प्रणाली विस्तारमा यस्ता कार्यक्रमले महत्वपूर्ण योगदान पुर्याउने धारणा व्यक्त गरिएको थियो।
कार्यक्रममा स्वागत तथा धन्यवाद ज्ञापन सहायक क्याम्पस प्रमुख शिवदत्त चापागाईंले गर्नुभएको थियो भने सञ्चालन अनुसन्धान तथा व्यवस्थापन समिति संयोजक दीपक भट्टराईले गर्नुभएको थियो।
सहभागीहरूले तालिम तथा कार्यशाला ज्ञानमूलक, अनुसन्धानमुखी तथा व्यावसायिक क्षमता अभिवृद्धिमा प्रभावकारी रहेको प्रतिक्रिया दिएका छन्। साथै आगामी दिनमा अनुसन्धान, नवप्रवर्तन तथा AI को शैक्षिक प्रयोगसम्बन्धी यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने सुझाव समेत दिएका छन्।










