ऋषिङमा जवरजस्ती चोरी गर्ने दुइ युवक पक्राउ
भञ्ज्याङ न्यूज
तनहुँ प्रहरीले वृद्धवृद्धालाई कुटपिट गरी जबरजस्ती चोरी गर्ने दुइ जनालाई पक्राउ गरेको छ । ऋषिङ गाउँपालिका-४ राम्चे स्थित ७८ वर्षीय मानसिंह नेपालीको घरमा विहीबार दिउँसो करिब २ बजेको समयमा तीन जना युवाले घर भित्र छिरि जबरजस्ती चोरी गरेको तनहुँ प्रहरीले जनाएको छ।
नेपालीको घरमा ब्यास-१ मौरियाटारका २२ बषर्ीय सुमन नेपाली, ऋषिङ-५ राम्जाकोटका सोम बहादुर नेपाली र हाल वतन नखुलेका अन्दाजी २४ वर्षीय शुसिल नेपालीले खाजा नास्ता खाने बहाना बनाई घरमा पसी मानसिंहलाई बोल्न कराउन नदिई कोठा भित्र थुनी उनले लगाएको अन्दाजी १ तोलाको सुनको औठी १ थान, घर भित्र रहेको नगद रु १५ हजार चोरी गरेको प्रहरी नायव उपरीक्षक युवराज खड्काले बताए ।
यस्तै ती युवाहरुले मानसिंहकी ८२ वर्षीय श्रीमती डिल्ली माया सार्कीलाई घरदेखि अन्दाजी २०० मिटर दुरीमा पर्ने पडेली गैरा भन्ने जंगलमा पुर्याई उनले लगाएको सुनको रिङ, नाकको फुली, बुलाकी जबरजस्ती चोरी गरेको र चोरी गर्दा वृद्धा डिल्ली मायालाई कुटपिट गरी देब्रे कानको लोती समेत छिनाली फरार भएको बताइएको छ ।
चोरीको घटना लगत्तै प्रहरी चौकी गजरकोटबाट प्रसनि श्रवण कुमार थापाको नेतृत्वको टोलीले विहीबार राती नै घिरिङ-२ मार्कोटबाट उक्त चोरीमा संलग्न भई फरार रहेका सुमन नेपाली र सोम बहादुर नेपालीलाई पक्राउ गरी चोरी गरेको सुनको रिङ थान २, सुनको फुली थान १, नाकमा लगाउने सुनको बुलाकी थान १ फेला पारी बरामद गरिएको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।










