नेकपा एस तनहुँका सचिवको नेतृत्वमा ४६१ एमालेमा समाहित
भञ्ज्याङ समाचारदाता/दुलेगौंडा

नेकपा एकीकृत समाजवादी तनहुँका सचिव दुर्गाकुमार श्रेष्ठको नेतृत्वमा क्षेत्र नम्बर २ का ४६१ जना एमालेमा समाहित भएका छन् । बुधबार दुलेगौडामा आयोजित कार्यक्रममा श्रेष्ठको नेतृत्वमा १७ जना जिल्ला कमिटी सदस्य, युवासंघका गण्डकी प्रदेश अध्यक्ष कमल गैह्रे, शुक्लागण्डकी नगरकमिटी, युवासंघ तनहुँको कमिटी एमालेमा समाहित भएको घोषणा गरिएको हो ।
नेकपा एकीकृत समाजवादीका सचिवालय सदस्य रामबहादुर थापा क्षेत्री, सन्तोष वाग्ले, दिलबहादुर थापा, सानुमाया थापा, रिता भुजेल, सूर्यप्रकाश तिमिल्सिना, नारायणदत्त वाग्ले, युवासंघका अध्यक्ष जीवन भट्टराइ लगायत शुक्लागण्डकी नगर कमिटी सहित ४६१ जना एमालेमा समाहित भएको घोषणा गरिएको छ ।
कार्यक्रममा श्रेष्ठले कांग्रेसको पुच्छर बनेर हिँड्न नसकिने निष्कर्ष निकाल्दै कम्युनिष्ट आन्दोलन बलियो बनाउन मूल घर फिर्ता भएको बताए । उनले भने, ‘कुनै पद प्राप्तिका लागि मूल घर फर्किएका होइनौ, पार्टीले दिने जुनसुकै जिम्मेवारी ग्रहण गर्न तयार छौ ।’
एमाले फर्किएकाहरुलाई नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य किरण गुरुङ, पोलिटव्युरो सदस्य टुकराज सिग्देल, एमाले अध्यक्ष श्रीप्रसाद श्रेष्ठ लगायतले स्वागत गरेका थिए ।
सोही कार्यक्रममा कांग्रेसमा ३७ वर्षदेखि आबद्ध मनिराम परियार पनि एमाले प्रवेश गरेका छन् । कार्यक्रममा बोल्दै नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं प्रतिनिधि सभा क्षेत्र नम्बर २ का उम्मेदवार किरण गुरुङले आगामी निर्वाचनमा अब तनहुँमा नेकपा एमालेको जित सुनिश्चित भएको बताए ।
‘लामो समय एमालेमा लगानी गरेका साथीहरु मुल पार्टीमै फर्कनुभएको छ’, उनले भने, ‘हामीलाई आज उर्जा थपिएको छ । तनहुँका ६ वटै निर्वाचन क्षेत्रमा जित निश्चित भएको छ ।’ उनले जितिन्छ भन्दैमा ढुक्क तरिकाले नबस्न नेता तथा कार्यकर्ताहरुलाई निर्देशन पनि दिएका छन् । नेपाली कांग्रेस व्यक्तिवादी पार्टी भएको बताउँदै गुरुङले भने, ‘नेकपा एमाले संस्थागत ढंगले चलेको पार्टर्ीीएकाले कार्यकर्ताले आफै नै उम्मेदवार सम्झेर प्रचार प्रसार गर्नेछ ।’
तनहुँ २ प्रदेश १ का उम्मेदवार श्यामराजा महतले कहिकतै छुटेका साथीहरुलाई पनि पार्टीमा ल्याउन पहल गर्नुपर्नेमा जोड दिए । जिल्ला कमिटी अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सचिव राजेश्वर ढकाल, उपसचिव खिम बहादुर कुमाल, नगर कमिटी अध्यक्ष मुक्तिनाथ तिम्सेना लगायतले नेपालको कम्युनिष्ट आन्दोलनको मुलधार नेकपा एमाले भएको बताउँदै आगामी निर्वाचनमा बहुमत ल्याउने गरी लाग्न आग्रह गरे ।










