पोखरा-मुग्लिन सडक स्तरोन्नति : ९ महिना बाँकी रहदा पश्चिम खण्डमा १४ प्रतिशत मात्रै काम

ठेक्का तोड्ने चेतावनीपछि बढाइयो कामको गति, फागुनदेखि कालोपत्र सुरु गरिने

गण्डकी प्रदेशको लाइफलाइनका रुपमा रहेको पृथ्वी राजमार्गको मुग्लिन-पोखरा खण्ड स्तरोन्नति तथा विस्तार कार्य भइरहेको छ । यो खण्डलाई दुइ भागमा विभाजन गरी सडक विस्तारको काम भइरहेको छ ।

राजमार्गको पूर्वी खण्ड (जामुने-आँवुखैरेनी)को काम सन्तोषजनक भएपनि पश्चिम खण्ड (जामुने-पोखरा)को काम भने निकै सुस्त भइरहेको छ । पश्चिम खण्ड अन्तर्गत तनहुँको जामुनेदेखि पोखरासम्मको सडकमा अहिलेसम्म १४ प्रतिशत मात्रै काम भएको छ । स्तरोन्नतिका लागि सम्झौता भएअनुसारको समय सकिन अब करिब ९ महिना बाँकी छ । तर कोरोना अवधिको ६ महिना थप हुँदा १५ महिनासम्मको सहुलियत ठेकेदार कम्पनीले पाउँछ ।

सम्झौता अनुसारको मितिमा काम सक्न रातदिन काम गरिरहेको निर्माण कम्पनीका कन्ट्रयाक्ट म्यानेजर फाङ इफाले बताए । चिनियाँ ठेकेदार कम्पनी अनहुइ काइयुआन हाइवे एण्ड ब्रिज कम्पनीले यसको ठेक्का पाएको छ । ‘३ वर्षो ठेक्कामा कोभिडको ६ महिना सहुलियत पाइन्छ । करार अनुसारको ९ महिना पनि बाँकी छ। १५ महिना भनेको ठुलो अवधि हो’, उनले भने, ‘बिजुली र खानेपानीको लाइनका कारण केही समस्या अझै छ । नत्र कटिङ लगभग सकिएको छ । रुख हटाउने काम पनि सकियो । अब चाहिँ कामको रफ्तार बढ्छ ।’

पोखरा-मुग्लिनको दुबै खण्डको ठेक्का चिनियाँ कम्पनीले पाएको छ । दुइवटै ठेक्कामा लक्ष्यअनुसार प्रगति भएको छैन । पूर्वीखण्डमा सन्तोषजनक काम भएपनि पश्चिम खण्डमा कामको गति निकै सुस्त छ । काम सुस्त भएपछि सरकारले पश्चिम ठेक्का तोड्ने तयारी गरेको थियो । अघिल्लो महिना अन्तिम पटक भनेर एक महिनाका लागि निर्माण कम्पनीलाई कामको प्रगति बढाउन मौका दिएपछि अहिले निर्माण पक्षले कामको गति बढाएको छ ।

यद्यपि बिजुली र खानेपानीको लाइन भने अझै हट्न सकेको छैन । ‘यो खण्डमा खानेपानीका ४३ वटा समिति छन् । उनीहरूसँग छुट्टाछुट्टै सहमति गरेका छौं । विद्युत प्राधिकरणले हामीबाट पैसा लगिसक्यो तर पोल हटाइदिएको छैन’, उनले भने, ‘सरासर काम गर्न पाएको भए यस्तो समस्या आउँथेन । पाइलैपिच्छे नयाँ नयाँ समस्या छ । सबै हल गर्दै काम गरेका छौं । पूर्व तयारी बिना नै ठेक्का प्रक्रियामा गएका कारण कामको चरणमा विभिन्न समस्या देखिने गरेको छ ।’

एसियाली विकास बैंक -एडीबी)को ऋण सहयोगमा बन्न लागेको ३९ किलोमिटरको दोस्रो खण्डमा मात्रै ७ अर्ब ४० करोड ४६ लाख रुपैयाँ खर्च हुनेछ । निर्माणमा कम्पनीको बदनियत नरहेको सहायक कन्ट्रयाक्ट म्यानेजर जियान युचुले बताए । उनका अनुसार चिनियाँ स्टाफ ५० जना छन् भने नेपाली इन्जिनियर सहित ६० जना खटिएका छन् । फिल्डमा ४२५ जना कामदारले काम गरिरहेका छन् ।

कामदारसँगै उपकरण पनि निकै वृद्धि भैसकेको उनले सुनाए । उनका अनुसार एक्साभेटर ४० वटा छ भने लोडर १० वटा छन् । ग्रेडर ६ वटा छ भने पानीको ट्याङ्कर ८ वटा छन् । ‘पहिलेको भन्दा ३ गुणा कामदार र उपकरण बढेको छ । सब बेस ८० हजार मिटर क्युव र बेस ३० हजार मिटर क्युव भण्डार गरिएको छ । २० किलोमिटर पिच गर्न आवश्यक पर्ने सामग्री तयार छ’। उनले भने, ‘यो भनेको काम नगर्ने नियत होइन । हेडक्वार्टरबाटै नोक्सान भएपनि काम पूरा गर्नु भनेर आदेश आएको छ ।’ निर्माण कम्पनीले भने यो ठेक्काबाट घाटा लाग्ने प्रक्षेपण गरेको छ । घाटा रकम चाहिँ निकालिएको छैन ।

फागुनबाट कालोपत्रे सुरु

जनवरीको अन्तिम वा फेब्रुअरी महिनादेखि कालोपत्रेको काम सुरु हुने कम्पनीले जनाएको छ । इन्जिनियर अनुप श्रेष्ठका अनुसार अहिलेसम्म सब बेसको काम १.७ किलोमिटर सकिएको छ । पश्चिम खण्ड अन्तर्गत पोखरा र दुलेगौंडा सहित मुख्य बजारी क्षेत्रमा ४६ मिटरको पिच हुनेछ। जामुनेदेखि कुम्लेखोलासम्म १८ मिटरको पिच हुन्छ । बाँकी रहेको सडकमा २३ मिटरको पिच हुने उनले जानकारी दिए । ‘जाडो महिनामा तापक्रमको कारणले अस्फाल्टको काम राम्रो हुँदैन । त्यसैले माघ सकिएपछि मात्रै पिच गर्ने योजना छ’, उनले भने, ‘मेसिन र उपकरण पूरै आइसकेको छ । हामी अब सक्षम भएर बसेका छौं ।’ सोमबारदेखि सडकमा बेसको काम थालिएको छ ।

हटाइयो नेपाली ठेकेदार

काम सुस्त गरेपछि कम्पनीले राखेको नेपाली पेटी ठेकेदार हटाएको छ । यसअघि दुइवटा पेटी ठेकेदार नियुक्त गरिएको थियो । उनीहरूकै कारण काम ढिलो भएको भन्दै पूरै जिम्मा कम्पनीले नै लिएको हो । अहिले खण्डखण्डको कामको जिम्मा चिनियाँहरूले नै लिएका छन् । ‘सबै चीनबाट आएकै ग्रुपले कामको जिम्मा लिएका छन् । यसअघि २ वटा नेपाली ठेकेदार थिए । उनीहरूले काम सन्तोषजनक नगरेपछि गत बर्खादेखि सम्झौता तोडेको हो’, श्रेष्ठले भने ।

के हो मुख्य समस्या ?

यो सडक स्तरोन्नतिको मुख्य समस्या बिजुलीको पोल र खानेपानीको पाइप नै हो । पोल स्थानान्तरणको काम बल्ल विद्युत् प्राधिकरणले अघि बढाएको छ । खानेपानीका लाइन पनि स्थानान्तरण भइरहेको छ । केही समय अलमलिएको रुख कटान पनि लगभग सकिएको छ ।

पटक-पटक हुने डिजाइन फेरबदल पनि प्रमुख समस्याका रूपमा रहेको म्यानेजर इफाले सुनाए । ‘कतै सानो समस्या आउने बित्तिकै डिजाइन फेरिन्छ । पुलहरूको डिजाइन अझै फाइनल भैसकेको छैन’, उनले भने, ‘सकेसम्म नागरिकको गुनासो नआउने गरी काम गर्नुपर्छ । यस्तो हुँदा नतिजा निकाल्न समय लाग्ने रहेछ ।’ केही व्यक्तिगत घरहरू पनि समस्याका रूपमा छन् । ‘पुराना घर ७५ फिटको मापदण्डमा बनेको थियो । अहिले ८२ फिटको मापदण्डमा बनेको छ । सडकनै १५० फिटको बन्दै छ । सेन्टरलाइन अलिकति तलमाथि हुने बित्तिकै स्थानीयको अवरोध हुन्छ’, उनले अघि थपे, ‘मुआब्जाको काम अझै पूर्ण भएको छैन। पोखरातिर चाहिँ सडक भन्दा घर तल पर्ने भएकोले सडकको उचाइ घटाउन लागेका छौं । पुराना नाला पनि समस्या बनेका छन् ।’

अवरोध हटाउने पालिकाको प्रतिबद्धता

सरकारले कामको प्रगतिका आधारमा रकम निकासा दिइरहेको छ। काम ढिलो भएको गुनासो व्यापक बढेपछि ठेकेदार कम्पनीका डेपुटी जेनेरल म्यानेजर माओ ल्योसन पनि नेपाल आएर बसेका छन् । पोखराका मेयर धनराज आचार्यले यही ठेकेदारले तोकिएको समयभित्रै काम सक्नुपर्ने बताए ।

‘संघ सरकार ठेक्का टर्मिनेट गर्ने अवस्थामा पुगिसकेको छ । अहिलेको ठेक्का रद्द हुने बित्तिकै अर्को दुइ वर्ष अलपत्र हुन्छ’, उनले भने, ‘त्यसैले यही ठेकेदारलाई ताकेता गरेर कामको गति बढाउन भनेका छौं । यो सडक बनेन भने सबैभन्दा ठुलो असर पोखरालाई पर्छ । त्यसैले हाम्रो चासो बढेको हो ।’

आचार्यले सेती नदीको छेउबाट विजयपुरसम्मको सडक निर्माण छिटो गरिदिन आग्रह गरे । सबै खालको समन्वय गर्न आफूहरू तयार रहेको उनले बताए । ‘सबै अप्ठ्यारा महानगरले हटाइदिन्छ । पोखरामा काम नहुँदासम्म प्रगति देखिँदैन’, उनी भन्छन्, ‘जामुने र पोखराबाट सँगसँगै काम गर्नुपर्‍यो ।’

शुक्लागण्डकीका मेयर कृष्ण पण्डितले आयोजना क्षेत्रमा पर्ने सबै समस्या समाधानका लागि आफूहरू तयार रहेको बताए । ‘चिनियाँ कम्पनीलाई कतै अवरोध भए सहयोग गर्न तयार छौं । तर दुइ सिफ्टमा भएपनि कामको रफ्तार बढाउनुस् भनेका छौं’, उनले भने, ‘उहाँहरूको रफ्तार केही बढेको पनि छ । तर पुगेको छैन ।’ पूर्वी खण्डको काम चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनीले ठेक्का पाएको छ ।

उक्त ठेक्का ६ अर्ब २१ करोडमा लागेको हो । पोखरादेखि मुग्लिनसम्मको सडकलाई ठाउँ हेरी ४ लेन र ६ लेनमा स्तरोन्नति गर्न लागिएको हो । रातोपाटीबाट

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker