पल शाह प्रकरण : थुनछेक बहस सुरु, १२ जना कानुन व्यवसायीले गरे बहस

नावालिगलाई जबर्जस्ती करणी गरेको अभियोगमा चर्चित अभिनेता पल शाह विरुद्ध तनहुँ जिल्ला अदालतमा अभियोगपत्र दर्ता भएपछि बुधबारबाट थुनछेकको बहस सुरु भएको छ । जबरजस्ती करणी अभियोगमा अभिनेता शाह विरुद्ध जिल्ला अदालत तनहुँमा बयान सकिएपछि थुनछेक बहस सुरु भएको हो ।
उक्त अभियोगमा अनुसन्धान पुरा गरी मंगलबार दिउँसो १२ बजे जिल्ला सरकारी वकीलको कार्यालयले तनहुँ जिल्ला अदालतमा अभियोगपत्र दर्ता गराएको थियो ।
मुलुकी फौजदारी कार्यविधि संहित, २०७४ को दफा ३२ बमोजिम यस घटनासंग जोडिएका वादी र प्रतिवादीहरुसंग वयान कागज गरी कारवाही शुरु गर्न अनुरोध गर्दै सरकारी वकीलको कार्यालय तनहुँले अभियोगपत्र दर्ता गरेसंगै मंगलबारै दिउँसो ३ बजेदेखि प्रतिवादी पल शाहको बयान लिइएको थियो ।
बुधबार वादीको तर्फाट नौ जना कानुन व्यवसायीहरुले अदालतमा बहस गरेको जिल्ला अदालतका श्रेस्तेदार मिनबहादुर कुंवरले जानकारी दिए । जिल्ला न्यायाधीवक्ता रामचन्द्र पौडेल, अधिवक्ता राधीका खतिवडा, अधिवक्ता किशोर सापकोटा, अधिवक्ता मोहना अन्सारी, अधिवक्ता टेकनारायण गौतम, अधिवक्ता सरिता तिवारी, अधिवक्ता विनोद प्रसाद लामीछाने, सहायक जिल्ला न्यायाधीवक्ता विपिनराज तिवारी र अधिवक्ता शिवराज काफ्लेले वादीको तर्फाट बहस गरेका छन् ।
यस्तै, बुधबारै प्रतिवादीका तर्फाट दुइ जनाले बहस गरेका र एक जनाको बहस बाँकी रहेको छ । श्रेतेदार कुंवरका अनुसार प्रतिवादीका तर्फाट अधिवक्ता परशुराम गिरी, अधिवक्ता भानुभक्त सुवेदी र वरिष्ठ अधिवक्ता कमला मोहन वाग्लेले बहस गरेकोमा वाग्लेको बहस नटुङ्गिएकाले विहीबार पुनः बहस जारी रहने छ । बिहीबार पनि थुनछेक बहस जारी रहने र शुक्रबार आदेश आउनसक्ने सम्भावना रहेको बताइएको छ ।
सरकारी वकिलको कार्यालय तनहुँले जाहेरवाला परिवर्तित नाम ०७८/७९ त कुमार, पीडित परिवर्तित नाम ०७८/७९ व्यास १२, पक्राउ परेका प्रतिवादी पल शाह र कृष्ण जोशी र देख्ने/सुन्नेमा स-कुमारी, प्रदीप थापा, गंगा थापा, जीवन चौलागाई, दुर्गाबहादुर थापा, कमल खत्री, अर्जुन थापा, क्षेत्रबहादुर थापा, विष्णु थापा, सरोज ओली, योगेश शाह, रन्जत गुरुङ, दुर्गा अधिकारी, पानबहादुर जिसी, विष्णुप्रसाद अधिकारी र सीता आचार्यको वयान कागज गरी अदालतमा पेश गरेको छ ।
त्यस्तै, अभिनेता शाह विरुद्ध सरकारी वकिलको कार्यालयले जबरजस्ती करणी मुद्दामा ११७ प्रमाण पनि पेश गरेको छ । विभिन्न खामबन्दी प्रमाण, मुचुल्का, बयान लगायतको ११७ वटा प्रमाण पेश गर्दै सरकारी वकीलको कार्यालयले शाह विरुद्ध अदालतमा मुद्दा दर्ता गरेको हो ।
अदालतमा २ जना गवाह र १६ साक्षी (देख्ने सुन्ने)सहित पल शाहको वास्तविक नाम भएको गोप्य बन्दी खाम, पीडितले दिएको बयानको अडियो भिडियोको डीभीडी, पीडितको स्वास्थ्य जाँच, पल शाहको स्वास्थ्य जाँच, घटनाको मुचुल्का, घटनाको प्रारम्भिक प्रतिवेदन, प्रतिवादीको फोटो प्रिmन्ट, सीडीआर विवरण, पत्रपत्रिकामा आएका खबरहरूको प्रिन्ट कपी, पूर्णविक्रम शाहको लाइसेन्सको फोटोकपीसमेत पेश गरिएको छ ।
यस्तै ८ पानाको पल शाहको स्वास्थ्य परीक्षण, दुर्गेश भन्ने दुर्गाबहादुर थापाको ८ पानाको बयान, जीवन चौलागाईको ४ पानाको बयान, प्रहरी प्रधान कार्यालयबाट डिजिटल फरेन्सिक ल्याबको रिपोर्ट, सरोज वली भन्ने पुण्यप्रसाद ओलीको घटना विवरण, फेसबुक परीक्षणलाई लेखेको पत्र, इलाका प्रहरी कार्यालय गैंडाकोटको पत्र, मालपोत कार्यालय कलंकीको पत्र लगायतका प्रमाण पनि अदालतमा पेश गरिएका छन् । गवाहमा स्वयं पीडित बालिका र अर्को एक परिवर्तित नाम पठाइएको छ ।
मुद्दामा पीडित बालिकाको यौनजन्य शारीरिक परीक्षण रिपोर्ट, पीडितले घटनामा खुलाएका, कार्यालयबाट लिइएको अडियो/भिडियो लगायतका प्रमाणहरू रहेको अभियोग पत्रमा उल्लेख गरिएको छ ।










