मुग्लिन-पोखरा सडक विस्तार योजना : दमौली र डुम्रे बजार क्षेत्रमा राजमार्गको सीमा दुइ मिटर घटाइयो
भञ्ज्याङ समाचारदाता/दमौली

गण्डकी प्रदेशको लाइफलाइनका रुपमा रहेको पृथ्वीराजमार्ग विस्तार कार्य भइरहेको छ । पृथ्वीराजमार्गको मुग्लिन-पोखरा सडक विस्तार योजना अन्तर्गत अहिले तनहुँको आँवुखैरेनीबाट पोखरा खण्डको सडक स्तरोन्नती तथा विस्तारकार्य भइरहेको छ ।
राजमार्ग अन्तर्गत तनहुँको सदरमुकाम दमौली र डुम्रे बजार क्षेत्रमा घर भत्काउन कार्य भइरहेको छ । दमौली बजार क्षेत्रमा सडक सीमाभित्र पर्ने केही घर भत्कनबाट जोगाउनका लागि राजमार्गको सीमा नै घटाइएको छ ।
विसं. २०२६ मा रेखाङ्कन भएको पृथ्वीराजमार्गमा सवारी साधनको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । चार लेनको सडक सीमा दुइतर्फी २५/२५ मिटरमा डिजाइन भए पनि अहिले दमौली र डुम्रे बजारका ‘राइट अफ वे’मा पर्ने भौतिक संरचना (घर)हरु २३/२३ मिटरको डिजाइनमा भत्काउन थालिएको छ ।
नयाँ डिजाइन अनुसार दमौली र डुम्रे बजार क्षेत्रमा दुइतर्फी २३/२३ मिटरमा सडकको डिजाइन गरिएको मुग्लिन-पोखरा सडक योजना पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले बताए । उनले भने, ‘सडकको सीमा २५/२५ मिटर नै हो तर अहिले काम अगाडि बढाउनका लागि २३/२३ मिटरको डिजाइनमा काम गरिएको छ ।’
भोलिका दिनमा सरकारले चाहेमा फेरि यी घर भत्काउन लगाइ २५/२५ मिटर नै सडक सीमा कायम गरिने उनले बताए । ‘सडक सीमा मिचेर बसेकाहरुले सडक सीमा खाली गरिदिनुपर्ने हो’, उनले भने, ‘तर अहिले २५ मिटर सडक सीमा कायम गर्दा धेरै घर भत्कन्छन् र धेरै विवाद आउन सक्ने पनि देखिन्छ । साथै जग्गाको मुआब्जामा पनि धेरै खर्च हुन्छ । त्यसैले अहिले जति जग्गा आवश्यक छ त्यति खाली गराएर काम गरिरहने र पछि थप जग्गाको आवश्यक परे २/२ मिटर जग्गा लिन मिल्ने गरी काम अगाडि बढाएका छौं ।’
डुम्रे र दमौली बजार क्षेत्रमा २१/२१ मिटरमा सडक बन्ने र २/२ मिटरमा नाला, फुटपाथ र विद्युतका पोल हाल्ने गरी नयाँ डिजाइन भएको आयोजनाले जनाएको छ । दमौली बजार क्षेत्रमा करिव ७० घरहरु भत्काउनु पर्नेमा ५० जनाले पहिलो किस्ता बुझेका छन् भने बाँकी सम्पर्कमा रहेको बताइएको छ । यहाँका घरहरुको करिब ६ करोड रुपैयाँ मुआब्जा निर्धारण गरिएको छ । यस्तै डुम्रे बजार क्षेत्रमा भत्काउनुपर्ने घरमा करिब ८ घर भत्काउन बाँकी रहेको पूर्वी खण्डका इन्जिनियर पाण्डेले बताए ।
यस्तै, सरकारले सडक सीमा २३ मिटरभित्र पर्नेलाई मात्रै मुआब्जा दिएकाले यही मापदण्ड अन्तरगत पर्ने भौतिक संरचना भत्काइएको तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष एवं दमौलीबासी बैकुण्ठनाथ मिश्रले बताए । उनले भने, ‘स्थानीय निकाय, जिल्लाका जनप्रतिनिधि लगायत सरोकारवाला निकायलाई यस विषयमा गम्भीर भएर सडक सीमामा एकरुपता कायम गर्न हामीले अनुरोध गरेका थियौं । बजार क्षेत्र र सडकलाई सुन्दर बनाइदिनुस्, व्यवस्थित होस्, अस्थिर नहोस्, अनिष्ठमा बस्न नपरोस त्यसैले राजमार्गको सीमा २५ मिटर नै होस भन्ने हाम्रो पनि चाहाना हो । तर सडक सीमा २५ मिटर कायम गर्न सरकार नै तयार भएन ।’
राजमार्गको सडकसीमा भित्रका पुराना संरचना २३ मिटर भित्र रहेर भत्काउने र नयाँ बन्ने संरचनाको सीमा २५ मिटर नै हो भन्ने सरकारको निर्देशन अनुसार काम अगाडि बढाइएको उनले बताए। एडिबीसँग ठेक्का लगाउँदैमा सहरी क्षेत्रमा २३ मिटरको सडक र ग्रामीण क्षेत्रमा ४१ मिटर गर्ने भनेर सहमति भएको र सोही अनुसार काम भइरहेको व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेले बताए ।
‘सडक विस्तार गर्दा २३ मिटर भित्र पर्ने जग्गाको मुआब्जा दिएको छैन, तर यो सीमाभित्र रहेका भौतिक संरचनाको मात्र मुआब्जा दिने गरी ठेक्का सम्झौता भएकाले त्यही अनुसार भएको हो’, उनले भने, ‘सरकारले मुआब्जा दिनुपर्ने भएकाले हामीले जोड गरेर २५ मिटर नै भत्काउनु भन्न सकेनौं ।’

यस्तै, सडक सीमाभित्र पर्ने केही घर जोगाउनका लागि सीमा घटाइएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए । उनले भने, ‘राजमार्गको मापदण्ड २५ मिटर नै हो तर २३ मिटर गर्दा केही घरहरु जोगिने गर्दा डुम्रे र दमौली बजार क्षेत्रमा २३ मिटर बनाउने एक खालको समझदारी पहिले नै भएको रहेछ ।’ उनका अनुसार सडकको मापदण्ड २५ मिटर नै रहेको तर बजार क्षेत्रमा धेरै संरचना भएकाले भत्काउन पनि आनाकानी गर्ने, विभिन्न लफडा हुने भएकाले एउटा समझदारी गरी डुम्रे र दमौली बजारको हकमा २३ मिटर सडक सीमा बनाइएको रहेछ ।
मुग्लिन-पोखरा सडक विस्तार आयोजनाको पूर्वी खण्डमा हालसम्म ३२ किलोमिटर सडक कालोपत्र गरिएको छ । आयोजनाका अनुसार १२ किलोमिटर दुइतर्फी र ८ किलोमिटर एकतर्फी सडक कालोपत्र सम्पन्न गरिएको छ । यस खण्डको भौतिक प्रगति करिब ५१ प्रतिशत रहेको छ । पूर्वी खण्डको कामका लागि विसं २०७७ माघ १७ गते सम्झौता भई विसं २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । विसं. २०८१ वैशाखसम्म काम सक्ने गरी चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको छ ।
यस्तै, पश्चिम खण्डअन्तर्गत जामुनेदेखि पोखरासम्म कालोपत्रको काम अगाडि बढेको छ । तनहुँको म्याग्दे गाउँपालिकाको जामुने, शुक्लागण्डकी नगरपालिकाको हलेदी र कोत्रेमा कालोपत्रको काम भइरहेको पश्चिम खण्डका इन्जिनियर एवं सूचना अधिकारी नारायण पौडेलले बताए ।
पौडेलका अनुसार हालसम्म करिब ६ किलोमिटर एकतपर्फी सडक कालोपत्र भएको छ । यो खण्डमा हालसम्म करिब १७ प्रतिशत भौतिक प्रगति भएको छ । पश्चिम खण्डको काम विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि जामुने-पोखरासम्मको काम सुरु भएको थियो । चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एण्ड ब्रिज कन्स्ट्रक्सनले ७ अर्ब ४० करोड ४६ लाख रुपैयाँमा वि.सं. २०८१ भदौसम्म काम सक्ने गरी ठेक्का सम्झौता गरेको छ ।










